जागिर नपाएपछि बेचे जग्गा, पत्नीले छाडिन् घर

|

दाङ : दंगीशरण गाउँपालिका-४ मौलीका ३७ वर्षीय हेतराम चौधरीसँग अहिले खान न घरमा अन्न छ, न छोरी छिन्, न त पत्नी नै।

यस्तो अवस्था आउनुको मुख्य कारण वनरक्षक बनाइदिने भन्दै उनले पूर्वमन्त्री विजयबहादुर यादवलाई दिएको ४ लाख रुपैयाँ फिर्ता नपाउनु हो। पूर्व जनमुक्ति सैनिक रहेका चौधरीले स्वैच्छिक अवकाश लिएर मौलीमा ऐलानी जग्गा किनेर घर बनाएका  थिए।

उनले ज्याला मजदुरी गरेर परिवार चलाउँदै आइरहेका थिए। परिवारमा उनकी पत्नी, एक छोरा र एक छोरी छन्। लोकसेवा आयोग, लुम्बिनी प्रदेशले १०६ जनाको लागि  वनरक्षकको विज्ञापन २०७८ साउन २५ गते खोलेको थियो।

त्यही सूचनाका आधारमा पहिले जनमुक्ति सेनामा काम गरेको हुँदा वनरक्षकमा जान पाए केही काम गर्न सक्ने उनको मनमा लाग्यो।

शुरुमा उनको भेट तुलसीपुर-१८ दुधरासका सोम जनैदारसँग भेट भयो। उनले लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादवसँग भेट गराए। मन्त्रीसँग भेट गराएपछि जनैदार सम्पर्कविहीन भए। 

मन्त्री यादवले वनरक्षक बनाइदिने भन्दै पटक पटक गरी ४ लाख रुपैयाँ आफूसँग लगेको उनको आरोप  छ। जनता समाजवादी पार्टीको तर्फबाट २०७८ वैशाख ८ गते भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्री बनेका बाँकेका यादवले वनरक्षक बनाइ दिने आश्वासन ४ लाख लगेको उनले बताए।

उनले बुटवलस्थित मन्त्री निवासमै मन्त्री यादवलाई नगद ५०/६० हजार र अरु उनको खातामा पटक पटक गरि पैसा हालेको भौचर आफूसँग रहेको दावी गरे।

प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलको कार्यकालको अन्तिमतिर जसपाबाट यादव मन्त्री बनेका बेला प्रदेश लोकसेवा आयोगले लुम्बिनी प्रदेश वनरक्षकको विज्ञापन खोलेको थियो।

वनरक्षकको परीक्षा असोज १९ गते बुटवलमा गराइएको थियो तर चौधरीलाई  यादवले ‘तपाईँले परीक्षा दिनु पर्दैन, मैले कर्मचारीहरूलाई खटाएको छु। तपाईंको नाम नेटमा आउँछ’ भनेर आश्वासनसमेत दिए। तर उनको नाम भने निस्केन।

३ दिनसम्म बुटवलको होटलमा आफूहरू बसेको भन्दै उनले यादवले वन मन्त्रालयको सचिवको नम्बर हो भनेर आफूलाई म्यासेज गरेको र त्यो नम्बरमा फोन गर्दा उनै यादवले उठाएको समेत बताए।

उनले भने, ‘नाम आउने आसमा होटलमा बसेका थियौँ। नाम आएन, उनले दिएको नम्बरमा फोन गर्दा उनैले उठाए। अनि वनपाले हुने सपना पूरा नभएपछि सबै माया मारेर घर फर्किएँ।’

घर आएपछि २/३ महिनासम्म पनि पर्खिएको भन्दै उनले यादवलाई सम्पर्क गर्दा मन्त्रीले ‘अहिले तपाईंको नाम आएन। म तपाईंलाई वैकल्पिकमा भए पनि हाल्दिन्छु’ भनेर आश्वासन दिएको समेत उल्लेख गरे।

वैकल्पिकमा राखिदिने कुरा गरेपछि फेरि २/३ महिना पर्खेर बसेको र त्यसपछि पनि आफ्ना नाम नआएपछि आफूले दिएको पैसा फिर्ता माग्न थालेको उनको भनाइ छ।

उनले भने, ‘काम नभएपछि मैले पैसा माग्न थालें। यादवले २/३ महिनामा पैसा फिर्ता गर्ने भनेर बैंक खातासमेत मागे। खातामा पैसा आज आउँछ, भोलि आउँछ, भनेर पर्खेर बसें तर पैसा आएन। त्यसपछि उनी सम्पर्कविहीन भए।’ 

सम्पर्कविहीन भएपछि आफू यादवको घर बाँकेमा पटक पटक पैसा फिर्ता माग्न गएको र पैसा फिर्ता पाउने आशमा केही दिन उनको घर बसेको समेत उनले बताए।

उनले यादवलाई दिएको ४ लाखबाहेक अनेकौं पटक बुटवल र यादवको घरमा जाँदा समेत गरी आफ्नो ५०/६० हजार खर्च भइसकेको समेत बताए। आफूले सबै पैसा ऋण लिएर नै दिएको भन्दै उनले त्यो पैसाका कारण आफ्नो घरबार बिग्रिएको समेत बताए।

जग्गा गयो, पत्नीले पनि घर छोडेर गइन्

वनरक्षक बन्न यादवलाई दिएको पैसा तिर्न आफूले जग्गा बेच्नुपरेको उनले बताए। उनका अनुसार ४ लाख ऋण लिएकोमा २ लाख जग्गा बेचेर दिएको र अझै २ लाख तिर्न बाँकी छ।

यही पैसाका कारण करिब ३ महिनाअगाडि पत्नीले घर छोडेर गएको समेत उनले बताए।

उनले भने, ‘मेरो त अहिले घरबार नै बिग्रिसक्यो। यही पैसाका कारण श्रीमतीले ७ वर्षीया छोरी लिएर घर छोडेर गइन्। अहिलेसम्म कहाँ छिन्, कुनै सम्पर्क भएको छैन। अहिले छोरासँग घरमा बसेको छु। अहिले दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएको छु। १३ वर्षीय छोरा हेकुलीमा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै छ।’ 

उनले दैनिक ७ सयजति कमाउने भए पनि त्यो ऋण लिएको पैसाको ब्याज तिर्न समेत नपुग्ने भएकाले घरमा खानका लागि अन्नको गेडो नभएको बताए। 

यादवका ४ वटा मोबाइल नम्बर रहेको र आफूले पटक पटक फोन गर्दा समेत उनले नउठाउने गरेको सुनाए। 

 ‘मैले हार खाइसकेपछि मात्र मिडियाको सामु आएको छु। मलाई अब केही चाहिँदैन। मैले दिएको पैसा फिर्ता दिए हुन्छ। त्यो पैसा आए ऋण तिर्ने थिएँ। यही पैसाका कारण घरबार बिग्रियो। यादवले घरबार बिगारिदिए’, उनले आँखाभरि आँशु पार्दै भने ।

पीडित चौधरीका अनुसार पूर्वमन्त्री यादवका ९८४८४९४६६६, ९८४८०३१०५५, ९८५११४८१२२ र ९८५७०८३२३१ गरी ४ वटा मोबाइल नम्बर भए पनि कुनै फोन उठाउँदैनन्। 

बाँकेको डुडुवा गाउँपालिका-१ निवासी यादव गत मंसिरको निर्वाचन पूर्व नेकपा एमाले प्रवेश गरेका थिए। गत संसदीय निर्वाचनमा बाँकेको २ (क) बाट उम्मेदवार बनेका उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.