|

काठमाडौं :  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पुनः स्नातक तह (ब्याचलर)को पढाइलाई तीनवर्षे बनाउने तयारी गरेको छ। त्रिवि शिक्षाशास्त्र संकायका पूर्वसहायक डिन बलराम रायले यसबारे पहिलेदेखि अनौपचारिक छलफल भएको तर निर्णय भने अझै नभएको जानकारी दिए।

उनका अनुसार उनी सहायक डिन हुँदा पनि यस विषयमा छलफल भएको थियो। उनी हाल सानोठिमी क्याम्पसमा पढाउँछन्। ‘पछिल्लो समय विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेशिनुको कारण चारवर्षे पढाइले गर्दा पो हो कि भन्ने छ, त्यसैले अनौपचारिक छलफल भएको हो, निर्णय नै भने भएको होइन,’ उनले भने। 

पछिल्लो समय त्रिविमा विद्यार्थीको संख्या पनि घट्दै गएको छ। उनका अनुसार २ वर्षअघिको शैक्षिक सत्रमा ७ हजार जना शिक्षा शास्त्र संकायमा भर्ना भएका थिए। पछि घटेर ५ हजारमा झर्‍यो।

उनले विदेशी सम्बन्धनप्राप्त कलेजहरूले यहाँका अभिभावक र विद्यार्थीहरूलाई विभिन्न भ्रममा पारिरहेको तर अनुगमन नभएकाले पछि समस्या निम्तिन सक्ने भन्दै सावधान पनि गराए।

‘अभिभावकहरूले विदेशी कलेज राम्रो हुन्छ भन्दै चर्को शुल्क तिरिरहेका छन् तर ती कलेजले कुनै राम्रो अवसर दिन सकेका छैनन्। नामले मात्रै हुँदैन, त्यसैले बेलैमा त्यसमा सचेत हुनु आवश्यक छ,’ उनले भने।

त्रिविले ०७१/७२ सालदेखि स्नातकलाई चारवर्षे बनाएको हो तर पछि तीनवर्षे बनाइयो। फेरि २०७६ सालमा त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायको विद्यापरिषदको पूर्ण बैठकले चारवर्षे बनाउने गरी पाठ्यक्रम स्वीकृत गरेको थियो।

त्यसपछि भने हाल पनि चारवर्षे नै कायम गरिएको छ। अहिले स्नातक तेस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ। 

‘तीनवर्षे बनाएर एक वर्ष विद्यार्थीलाई फिल्डमा खटाऔँ’

विद्यार्थीहरू यतिखेर स्नातक तह पास गर्न चार वर्ष खर्चिरहेका छन्। झन् त्यसमाथि परीक्षाको नतिजा समयमा प्रकाशन नहुँदा स्नातक तहको लागि मात्रै पाँच वर्षभन्दा बढी समय खर्चिरहेका छन् विद्यार्थीहरू। त्रिविले नतिजा प्रकाशन गर्न एक वर्षभन्दा बढी समय लगाउने गरेको छ।

तर विदेशमा स्नातकोत्तर अध्ययनमा जाने विद्यार्थीहरूको लागि भने चारवर्षे कोर्स नै उपयुक्त देखिन्छ। किनभने तीनवर्षे कोर्सले विदेशमा उच्च शिक्षा अध्ययनमा जान विद्यार्थीहरूलाई सकस छ।

जानै परे विद्यार्थीहरूले सम्बन्धित मुलुकमा गएर थप एक वर्षको ‘ब्रिज कोर्स’ गर्नुपर्छ। त्यसैले उच्च शिक्षाका लागि अध्ययनमा जान चाहने विद्यार्थीहरू भने यो व्यवस्था गर्नु उचित नभएको बताउँछन्।  

शिक्षाविद् डा. मीनबहादुर शाही भने चारवर्षे स्नातक तहलाई तीनवर्षेमा झार्नेभन्दा पनि तीनवर्षे कोर्स बनाउने र एक वर्ष विद्यार्थीहरूलाई फिल्डमा खटाउनुपर्ने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिन्छन्।

‘स्नातकको पढाइ तीनवर्षे बनाएर एक वर्ष विद्यार्थीहरूलाई आवश्यक ठाउँमा फिल्डमा पठाए पढेको ज्ञानमात्र होइन व्यावहारिक कुराहरू पनि सिक्ने थिए,’ उनले भने। उनले यसका लागि सरकारले सहयोग गर्नुपर्ने र तत्काल यसमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए। 

रजिष्ट्रार दाहाल भन्छन् : अहिले त्यस्तो तयारी छैन

यता, त्रिवि रजिष्ट्रार पेशल दाहालले भने स्नातक तहलाई तीन वर्षमा झार्नेबारे केही तत्काल तयारी नभएको जानकारी दिए।

‘त्यस्तो केही औपचारिक, अनौपचारिक छलफल भएको छैन, सुझाव पनि आएको केही छैन,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.