|

काठमाडौँ : पछिल्लो समय नेपालमा बाँझोपन (निःसन्तान) को समस्या बढ्दो छ। केही वर्ष अघिसम्म नेपालमा ८-१० प्रतिशतमा बाँझोपन देखिएकोमा हाल १३-१५ प्रतिशत विवाहित जोडीमा बाँझोपन रहेको चिकित्सकले बताएका छन्।

पुरुषको शुक्रकीटमा  कमी, शुक्रकीटको गतिशीलता कमी, शुक्रकीटमा भएको खराबी, शुक्रकीट आपूर्ति हुने नलीमा अवरोधजस्ता कारणले बाँझोपन बढ्दै गएको बताउँछिन् स्त्रीरोग तथा निःसन्तान रोग विशेषज्ञ डा. निकिता ढकाल।

यस्तै महिलामा हर्मोनको गडबडी र जलवायु परिवर्तनले बढ्दो तापक्रम तथा बदलिँदो जीवनशैलीका कारणले पनि नेपालमा पछिल्लो समय बाँझोपन बढ्दै गएको डा. ढकालको भनाइ छ।

नेपालमा हाल निःसन्तान हुने कुल सङ्ख्यामा ३० प्रतिशत पुरुषमा समस्या देखिएको छ। पहिले २० प्रतिशत रहेको थियो। यसैगरी महिलामा ५० प्रतिशतमा निःसन्तानको समस्या देखिएको छ भने २० प्रतिशत महिला र पुरुष दुवैका कारणले निःसन्तान हुने गरेको पाइएको छ। १० प्रतिशत बाँझोपनको कारण खुल्न नसकेको पाइन्छ।

‘पहिला पहिला बाँझोपन भन्नेबित्तिकै महिलालाई मात्रै दोष दिइन्थ्यो‚ अहिले यो समस्या महिला र पुरुषमा लगभग उस्तै उस्तै छ’‚ स्त्रीरोग तथा नि:सन्तान रोग विशेषज्ञ डा. ढकालले बताइन्।

ढिलो विवाह र बदलिँदो जीवनशैली प्रमुख कारण

कुनै पनि दम्पतीले एक वर्षसम्म नियमित शारीरिक सम्पर्क गर्दा एक वर्षसम्म पनि बच्चा बस्न सकेन भने त्यसलाई बाँझोपन भनिन्छ। करियर तथा विविध कारणले पछिल्लो समय विवाह गर्ने उमेर ढिलो हुँदै जाँदा यसको प्रत्यक्ष असर प्रजनन क्षमतामा देखिएको डा. ढकालको भनाइ छ।

यसैगरी बदलिँदो जीवनशैली पनि बाँझोपनको समस्या बढ्नुको मुख्य कारण हो। थाइराइड‚ पाठेघरको नली बन्द हुनु‚ कम वा थोरै मात्रामा डिम्ब ग्रन्थि रिजर्भ हुनु, मद्यपान तथा धुम्रपानको सेवनले गर्दा निःसन्तानको समस्या बढ्दै गएको उनले बताइन्।

‘आजभोलि ढिला विवाह गर्ने प्रचलन बढ्दो छ। यो पनि बाँझोपन बढाउने प्रमुख कारण हो। अर्को जीवनशैली तथा खानपान हो। धेरै जङ्कफूड खाने, बजारमा लामो समयसम्म प्याकेट राखिएका खानेकुरा खानेमा पनि यो समस्या देखिएको छ। यस्ता खानेकुरा लामो समयसम्म सेवन गर्नाले मोटोपनको समस्या बढ्दै जाने र शरीरमा विभिन्न प्रकारका हर्मोन गडबड हुँदा पनि बाँझोपनको समस्या बढ्दै गएको हो’‚ डा. ढकालले भनिन्‚ ‘ग्रामीण भेगका तुलनामा शहरी क्षेत्रका दम्पतीमा मोटोपनले निम्तिने समस्या धेरै छ। यसले महिलामा थाइराइड,पिसिओडी, मधुमेहको समस्या भएको पाइन्छ भने पुरुषमा पनि उच्च रक्तचाप लगायतका समस्या देखिन्छ‚ जुन बाँझोपनका कारक बन्ने गरेका छन्।‘

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ ले पनि नेपालका शहरी क्षेत्रका ३८ प्रतिशत महिलामा मोटोपनको समस्या रहेको देखाएको थियो। उक्त सर्वेक्षणले प्रजनन क्षमता भएका उमेर समूह २० देखि ४९ वर्ष उमेर समूहका महिलामा अधिक तौल वा मोटोपन अत्यधिक भएको देखाएको थियो। जसमा ग्रामीण क्षेत्रका महिलामा पनि २६ प्रतिशत मोटोपनको समस्या थियो भने शहरी क्षेत्रका ३८ प्रतिशत महिलामा मोटोपनको समस्या रहेको पाइएको थियो।

जसको मुख्य कारणमा गुलियो पेय पदार्थ सेवन, बोसोयुक्त खाने कुरा जस्तैः केक, बिस्कुट, कुकिज, जेरी / जलेबी, मिठाई, टफी, आइसक्रिम लगायत तारेको र नुनिलो खानेकुरा जस्तैः चिप्स, कुरकुरे, चीजबल, तयारी चाउचाउ, समोसा, पकौडा, पुरी र तारेको खानेकुरा अधिक सेवन मानिएको थियो।

जीवनशैली तथा वातावरणीय कारणले गर्दा महिलाको अण्ड तथा पुरुषको शुक्रकीटको गुणस्तरमा समस्या हुने गर्दा पनि नि:सन्तान सम्बन्धी समस्या बढ्ने बताउँछिन् इम्ब्रोयोलोजिष्ट डा. सम्झना फुँयाल।

इम्ब्रोयोलोजिष्ट डा. फुँयालले भनिन्‚ ‘महिलाहरूले जन्मँदै निश्चित अण्ड लिएर जन्मिएका हुन्छन् जुन उमेर ढल्कदै जाँदा अण्डको संख्या र गुणस्तर पनि घट्दै जान्छ भने पुरुषमा वातावरणीय कारणले शुक्रकीटको गुणस्तरमा कमी आउनाले बाँझोपन निम्तिने गर्छ। समयमै चिकित्सकसँग परामर्श लिएमा बाँझोपनको समाधान पनि हुन्छ।‘

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ ले पनि पछिल्ला वर्षहरूमा नेपालको प्रजननदर घटेको देखाएको छ। विगत साढे दुई दशकमा नेपालमा प्रजननदर आधाले घटेको तथ्यांकले देखाएको हो। सन् २०१६ मा नेपालको प्रजननदर २.३ थियो भने हाल २.१ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.