|

काठमाडौं : आज (शुक्रबार) काठमाडौं महानगरपालिकाले लागू गरेको ‘बुक फ्रि फाइडे’। महानगरपालिका वडा-१४ कलंकीस्थित जनपथ माध्यमिक विद्यालयमा विहान १०:१५ मा पुग्दा कोही विद्यार्थीहरू चित्र बनाउँदै थिए त कोही जुत्ताको तुना बाँध्न सिक्दै थिए। 

जनपथको कक्षा ७ का विद्यार्थीहरू कक्षा कोठा सरसफाइ गरिरहेका भेटिए। कक्षा ९ मा कसरी कागती निर्चोने तरिकाबारे विद्यार्थीहरू सिक्दै थिए। यस्तै, पछि के हुने भनि अहिले नै परिकल्पना गराइ लेखाइँदै थियो। कक्षा १० मा स्पिच कार्यक्रम हुँदै थियो।

कक्षा ३ मा क्विज कम्पिटीसन भइरहेकाे थियो भने कक्षा ५ को बी सेक्सनमा टपरी बनाउन सिक्दै थिए विद्यार्थीहरू। कक्षा ६ मा ट्राफिक नियम पालनाबारे लेख्न लगाइएको थियो। कक्षा ५ ए सेक्सनमा ड्रइङ, नर्सरीमा चित्र बनाइरहेको देखियो।

युकेजी र एलकेजीमा भने कसरी जुत्ताको तुना बाँध्ने भनि शिक्षिकाहरूले सिकाइरहेका थिए। यी सबै क्रियाकलाप सिक्न पाउँदा विद्यार्थीहरू भने मख्ख थिए। महानगरपालिकाका प्रमुख बालेन शाहले यो व्यवस्था गरेपछि शुक्रबारका दिन किताब हुँदैन। पछिल्लो समय विभिन्न अतिरिक्त क्रियाकलापहरू सिक्ने मौका पाएका छन् विद्यार्थीहरू।

‘शुक्रबार विद्यार्थीहरूको खुशीको सीमै छैन’ 

कक्षा ३ मा पढाइरहेका शिक्षिका रीता अर्याल अन्य दिनहरू भन्दा शुक्रबार विद्यार्थीहरू धेरै खुशी हुने र रमाउने  गरेको सुनाइन्। ​उनका अनुसार शुक्रबार किताब बोक्न पर्दैन। पढ्न पर्दैन। त्यसैले पनि उनीहरू खुशी हुन्छन्।

‘कहिले शुक्रबार आउँछ भन्दै सोध्छन्, किनभने त्यो दिन विद्यार्थीहरू अन्य क्रियाकलापहरू सिक्न पाउँछन्, नाच्न, गाउन, चित्र बनाउन लगायत क्रियाकलाप सिक्न पाउँछन्, त्यसैले बढीले उक्त दिनकै चासो राख्छन्,’ उनले भनिन्।

विद्यार्थी भन्छन्- कहिलै नसुनेको र नदेखेको काम यहाँ सिक्न पायौँ

जब बुक फ्रि फ्राइडे लागू भयो त्यसपछि धेरै व्यावहारिक सीपहरू सिक्न पाएको विद्यार्थीहरूले प्रतिक्रिया दिए। टपरी बनाउन सिक्दै गरेकी कक्षा ५ बी सेक्सनकी नबिना थापा मगरले टपरी बनाउन सिक्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन्।

‘मैले अहिलेसम्म यसरी टपरी बनाउने भनेर देखेको पनि थिइनँ तर अहिले त आफ्नै हातले बनाउने तरिका सिक्न पाएँ, धेरै खुशी लागेको छ, यस्तो परम्परागत कुराहरू हामीले सिक्दै जानुपर्छ,’ उनले भनिन्।

‘बालेनलाई शिक्षा सुधार गर्न हुटहुटी छ’

जनपथ माविका प्रधानाध्यापक जीतबहादुर लामिछानेले महानगरपालिकाको प्रमुखमा बालेन शाह आएपछि शिक्षा क्षेत्रको सुधारमा धेरै फरक पाएको बताए।

‘महानगर प्रमुखमा उहाँ आएपछि धेरै शिक्षामा सुधार हुँदै छ, हामीले पनि काम गरिरहेका छौँ, यसमा झनै हौसला पाउने माहोल बनाइदिनुभयो। राजनीतिक गतिविधि हटेको छ, पहिला सेनिटरी प्याडको पैसा आउँदैन थियो, अहिले आउँछ बुक फ्रि फ्राइडे छँदै छ, यी कामरू हेर्दा उहाँमा गुणस्तरीय शिक्षा सुधार गरौँ है भन्ने छ,’ उनले भने।

उनले शुक्रबारको दिन विभिन्न आवश्यक सीपहरू विद्यार्थीहरूले सिक्ने मौका मिलेको बताए। विद्यालयको अतिरिक्त क्रियाकलापका संयोजक किरणचन्द्र केसीले पनि यस्ता क्रियाकलापले विद्यार्थीहरूलाई धेरै फाइदा र सहयोग पुगेको बताए। उनका अनुसार प्रत्येक शुक्रबार विद्यार्थीहरूलाई कसरी धान रोप्ने, टपरी बनाउने, योग, सिलाइ बुनाईलगायत सीप सिकाउँदै आएको छ। 

शिक्षाविद् शाहीले दिए यस्ता सुझाव

बुक फ्रि फ्राइडेको अनुगमनपश्चात शिक्षाविद् डा. मीनबहादुर शाहीले यसलाई प्रभावकारी बनाउन कार्यतालिका बनाउन आवश्यक रहेको सुझाए।

​‘यो स्कुलमा राम्रो टिमवर्क छ, सबै शिक्षक मिलेर पढाउने, अतिरिक्त क्रियाकलाप सिकाउने गरिरहेका छन्, सबै शिक्षकहरू सहयोगी पाइयो, प्रधानाध्यापकको पनि धेरै मेहनत छ तर यस कार्यक्रमको लागि कार्यतालिका बनाउनुपर्ने देखिन्छ,’ उनले भने।

उनले विषयगत र पाठ्यपुस्तकलाई लिंक गराएर सीपमूलक कामहरू सिकाउनुपर्ने बताए।  

जनपथमा विद्यार्थी थेग्नै मुस्किल

जनपथ मावि व्यवस्थित देखियो। हरेक कक्षा कोठाहरूमा सजावट थियो। विद्यालयले प्रत्येक दिन कति विद्यार्थी आए र कति अनुपस्थित हुन्छन् भनी ह्वाइटबोर्डमा रेकर्ड राख्ने गरेको पाइयो।

गुणस्तरीय शिक्षासँगै समग्र विद्यालय व्यवस्थित भएकै कारण उक्त स्कुलमा विद्यार्थीहरूको चाप बढ्दो छ। ​जनपथ माविका प्रधानाध्यापक लामिछानेका अनुसार अहिले करिब १ हजार विद्यार्थी अध्ययनरत छन्।

‘हामीसँग पढाउने क्षमता र लक्ष्य भनेको ११ सय जनलाई हो, विद्यार्थीहरूको चाप धेरै छ। कक्षाकोठा अभावले विद्यालयको टपमा पनि अन्य संरचना बनाउँदै छौँ, ल्याब बन्दै छ, हामी व्यवस्थित बनाउने छौँ, यहाँ धेरै विद्यार्थीहरूको आकर्षण छ, यहाँसम्म पुर्‍याउन म मात्र नभइ सबै शिक्षक शिक्षिकाहरूको पनि उत्तिकै भूमिका छ,’ उनले भने।

उक्त विद्यालयलाई व्यवस्थित बनाउन स्काउटबाट पनि सहयोग मिलिरहेको छ। ‘स्काउटले कसरी बाटोमा जेब्रा क्रस गर्ने, सडकपेटीमा हिँड्ने, कसरी अनुशासनमा बस्ने, साथीभाइलाई कस्तो व्यवहार गर्ने लगायत व्यवस्थापनमा तालिम दिइरहेका छौँ,’ सोही विद्यालयमा पढाइरहेका स्काउट माष्टर राजन सेढाइले भने।

शिक्षाविद् डा. शाहीले पनि सामुदायिक विद्यालय कस्तो बनाउने र चलाउने भन्नेमा गतिलो उदाहरण जनपथ मावि रहेको बताए। उनले विद्यालयको प्रशंसा गर्दै भने, ‘कुनै पनि विद्यालय राम्रो बनाउन प्रधानाध्यापकको ठूलो भूमिका रहन्छ, यसमा पनि प्रधानाध्यापक खटेको देखियो, उहाँको भूमिका राम्रो छ, अन्य स्कुलहरूमा पनि यस्तै गरी व्यवस्थापन हुनु जरूरी छ।’ 

शिक्षा सुधारमा हामी निरन्तर लागि पर्छौं : बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले ‘शिक्षामा सीप’ कार्यक्रमबाट शिक्षामा सुधारको लक्ष्य प्राप्त गर्न निरन्तर काम गरिरहेको बताए।

उनले भनेका छन्, ‘भाषा, विषयमा संवेदनशीलता, मानवीयताको भाव, कला र सिर्जना सिकाइका आयाम हुन्, विद्यार्थीहरूलाई यी आयामसँग सम्बन्धित व्यावहारिक ज्ञान र प्रयोगात्मक अभ्यास गराउने महानगरपालिकाको ‘शिक्षामा सीप’ कार्यक्रमबाट शिक्षामा सुधारको लक्ष्य प्राप्त गर्न हामी निरन्तर काम गरिरहेका छौँ।’

उनले यो ‘टेक्निकल एन्ड भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ (टिवेट) शैक्षिक अवधारणा अन्तर्गत सञ्चालन भएको बताए। उनका अनुसार निर्दिष्ट गरिएका विधामध्ये धेरै विद्यार्थीहरूको सहभागिता मोबाइल एण्ड एलेक्ट्रोनिक्स विधामा छ। दोस्रो रूचिको विधामा कुलिनरी आर्टस छ।

यस्तै व्युटिसियन एण्ड हेयर स्टायल, फेसन डिजाइन एण्ड क्लोथिङ‚ कन्स्ट्रक्सन, घरमा तार र बिजुली जडान (हाउस वायरिङ् एण्ड इलेक्ट्रिकल) चलेका छन्। यस्तै, एग्रिकल्चर एण्ड अर्बन फार्मिङ, प्लम्बिङ्, कार्पेन्ट्री एण्ड उड कार्भिङ, विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) डकर्मी कला लगायत कक्षा चलिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.