|

विराटनगर :  जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलका लागि आएका कटहरी गाउँपालिका-३ का विनीतकुमार सोनारले विष सेवन गरेका छन्। मिटरब्याज पीडित सोनार र विपक्षी डा. नीतेश तिवारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले छलफलमा बोलाएको थियो। तिवारीविरुद्ध उनकी श्रीमती रीता सोनारले असारमा उजुरी दर्ता गरेकी थिइन्।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले दुई पक्षबीच छलफल गराइएको भए पनि बाहिर के भयो भन्ने जानकारी नभएको बताएका छन्।

विराटनगर–७ स्थित आर.के.चिल्ड्रेन अस्पताल अगाडि चियानास्ताको पसल चलाउने क्रममा चार वर्षअघि सोनारले डाक्टर तिवारीसँग सात लाख लिएका थिए। सात लाख रुपैयाँ लिएको ऋण १५ लाख बुझाइसक्दा समेत अझै १२ लाख बाँकी रहेको भन्दै माग्ने गरेकाले अनुचित लेनदेनमा उजुरी दिइएको थियो।

विनीतकी श्रीमती रीता सोनारले जिल्ला प्रशासन कार्यालय मोरङमा अनुचित लेनदेनमा फसाएको भन्दै असारमा उजुरी दिनुअघि डाक्टर तिवारीले अदालतमा चेक बाउन्स मुद्दा हालेका थिए। अदालतको आदेशले सोनारलाई पक्राउ गर्नुपर्ने थियो। अदालतको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि आएको सूचना पाएर दिउँसो ४ बजे नियन्त्रणमा लिन खोजेको थियो।

प्रहरीलाई खबर समेत डाक्टर तिवारीले नै गरेका थिए। त्यस क्रममा सोनारले कुनै वस्तु मुखमा हालेका थिए। प्रहरी नियन्त्रणमै रहँदा फिँज काढ्न थालेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। नोबेल अस्पताल भर्ना गर्दा उनले किटनाशक औषधि खाएको खुलासा भएको थियो।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार किटनाशक औषधि खाएको खुलेपछि अहिले उपचारका लागि भर्ना गरिएको छ

केही दिनअघि सोनारले डाक्टरसँग ऋण लिएका वेला खाली चेक साइन गराएर लिएको बताएका थिए।

त्यही चेक लिएका डाक्टरले ऋण तिरिसक्दा पनि बाउन्स गराएर हैरानी दिएको बताएका थिए। चेकमा डाक्टर आफैंले लेखेको तर साइन मात्रै आफूहरूको भएको उजुरीमा उल्लेख छ। विनीतको नाममा भएको मुक्तिनाथ विकास बैंक, मेघा बैंक, बहिनी दिव्याकुमार साहको नाममा रहेको मेघा बैंकको चेक, यसैगरी भाइ अजितकुमार सोनारको नबिल बैंक र ग्लोबल आईएमई बैंकको चेक, यसैगरी कृष्ण यादवको समेत नबिल बैंकको एक थान खाली चेक हस्ताक्षर गराएर लिइएको उजुरीमा उल्लेख छ।

डेढ वर्षमा सात लाख रुपैयाँ ऋण लगानी गरेर १५ लाख रुपैयाँ असुलेका डाक्टर तिवारीले अझै १२ लाख बुझाउनुपर्ने भन्दै बारम्बार टर्चर दिने गरेको आरोप लगाइएको थियो।

डाक्टर तिवारीले भने आफूले नगद दिएर चेक लिएको बताएका थिए। डाक्टरले नगद दिएको भनेर दावी गरिएको रकम कति हो भन्ने कहीँ खुल्दैन। उनले विनीतका भाइ अजितलाई १५ लाख रकम दिएको तर फिर्ता नदिएको दावी गरेका छन्। यद्यपि विनीतले अदालतबाट चेक बाउन्स मुद्दामा पक्राउ आदेश भएपछि जसरी पनि ऋण फिर्ता गर्ने भनेर वाट्सपमा भनेका छन्।

रकम कति भने उल्लेख गरेका छैनन्। डाक्टर तिवारीले आफ्नो पैसा फिर्ता नदिएपछि उनी भागेको बताएका थिए। विनीतले भने डाक्टर तिवारीले जुनसुकै वेला ज्यान लिनसक्ने धम्की दिएकाले आफू असुरक्षित भएको गुनासो गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.