|

काठमाडौं : विशिष्ट र अति विशिष्ट (भीआईपी तथा भीभीआईपी) उपचारको लागि भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अझै ३ वटा  नयाँ क्याबिन बनाइने भएको छ।

न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले नयाँ सर्जिकल भवनमा एउटा भीभीआईपी र २ वटा भीआईपी कक्ष थप्न लागिएको बताए। उनका उनले भीआईपी कक्षको शुल्क प्रतिदिन ५ हजार तोकिए पनि भीभीआईपी कक्षको शुल्क विषयमा निर्णय हुन बाँकी रहेको बताए।

‘अहिले पनि पुरानो भवनमा भीभीआईपी र भीआईपी क्याबिन छ तर अहिले हामीले नयाँ भवनमा फेरि ३ वटा क्याबिन स्थापना गर्ने निर्णय गरेका हौ‚’ न्याम्सका उपकुलपति प्राडा बस्नेतले भने।

नेपालकै पुरानो सरकारी अस्पताल वीरमा यसअघि नै भीभीआईपी र भीआईपीको उपचारका लागि बनाइएका क्याबिनहरु उपयोग नभएर ती क्याबिनमा माकुराले जालो लगाएको अवस्थामा फेरि भीभीआईपी र भीआईपी क्याबिन थप्न लागिएको हो। अहिले वीरमा एउटा भीआईपी र एउटा भीभीआईपी क्याबिन रहेका छन्।  

हाल वीरमा भएको भीभीआईपी क्याबिन त ०६२/६३ को जनआन्दोलनपछि देश गणतान्त्रिक बनेपछि प्रयोगविहीन छ। भीआईपी क्याबिनमा भने वेला वेला प्रयोगमा आउने वीर अस्पतालको रेकर्डले देखाउँछ।

वीर अस्पतालमा स्रोत साधन सम्पन्न र जनशक्ति भए पनि पछिल्लो समय भीआईपी र भीआईपीहरुको प्राथमिकतामा पर्ने गरेको छैन। जसले गर्दा वीरमा वर्षौंदेखि यी क्याबिनहरु उपयोगविहीन बन्न पुगेका हुन्।

तर अब स्थापना हुने क्याबिनहरु भने सकेसम्म उपयोगमा ल्याउने गरी निर्माण गर्न लागिएको उपकुलपति प्राडा बस्नेतले दावी गरे। ‘पछिल्ला वर्षहरुमा हाम्रोमा विस्तारै भीआईपीहरु उपचारको लागि आउने क्रम र संख्या बढ्दै गएको छ त्यसैले गर्दा पनि हामीले भीआईपी क्याबिनहरु थप्ने र व्यवस्थित गर्ने निर्णय गरेका छौँ‚’ उनले भने।

वीर अस्पतालको रेकर्डअनुसार पछिल्ला वर्षहरूमा भने विस्तारै भीआईपीहरू उपचारका लागि जाने गरेको देखिन्छ। २०७७ सालदेखि हालसम्म १७ जना भीआईपीले विशिष्ट कक्षमा बसेर उपचार गराएका छन्।

२०७७ सालमा तत्कालीन सांसदहरू शान्ता चौधरी‚ मीनबहादुर विश्वकर्मासहित ५ जनाले भीआईपी क्याबिनमा बसेर उपचार गराएको अस्पतालको रेकर्डले देखाउँछ।

२०७८ सालमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ८ दिन वीरको भीआईपी क्याबिनमा बसेर उपचार गराएका थिए। सोही वर्ष पूर्वसभामुख दमननाथ ढुङ्गाना, नेकपा एमाले सचिव योगेश भट्टराई, तत्कालीन मन्त्री रामकुमारी झाँक्रीलगायत ८ जनाले भीआईपी कक्षको सेवा लिएका थिए।

२०७९ सालमा तत्कालीन स्वास्थ्यमन्त्री भवानी खापुङ, स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीसहित ४ जनाले सेवा लिएका थिए तर भीभीआईपी क्याबिन भने वर्षौंदेखि उपयोगविहिन रहेको छ।

अब भने विदेशमा उपचार गर्न जानुअघि सिफारिशका लागि न्याम्सका उपकुलपति प्राडा बस्नेत नेतृत्वको टिम बनाइँदैछ। विभिन्न क्षेत्रका विशेषज्ञहरुको टोली बनाइने र उक्त टिमले भिभिआईपीको उपचारको लागि विदेश पठाउनेबारे सिफारिश गर्ने बताइएको छ। यो टिममा विशेषज्ञ डाक्टरहरुसमेत रहने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.