सडक डिभिजनको प्रष्टोक्ति : त्यो हाम्रो कार्यक्षेत्रमा पर्दैन

|

काठमाडौं : आइतबार सामाखुसीमा खोलाले बगाएको १३ वर्षीय साजन मगर अझै फेला परेका छैनन्। प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतले उनको खोजी जारी राखेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुल कक्षा ६ मा अध्ययनरत मगर फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेका थिए।

स्थानीयहरूले खोलाले बालकलाई बगाए पनि प्रहरी ढिला आइपुगेको बताएका छन्। ‘सवा ५ बजे फुटबल जाने क्रममा खोलामा जम्प गर्न खोजे छन्, त्यही बेला खोलाले बगायो,  प्रहरी आउँदा खोलामा पानी घटिसकेको थियो, हुन त तत्काल आए पनि निकाल्न सक्ने अवस्था थिएन,’  स्थानीय शिवहरि खड्काले भने। 

यस्ता घटना अहिले मात्र घटेका भने होइनन्। यसअघि पनि पटक पटक यस्ता घटना भएका छन् तर सरकार भने घटना भइसकेपछि मात्रै बार लगाउने, ढलको मंगाल छोप्नेलगायत काम गर्ने गर्छ। 

२०७४ साल असार ३० गते काठमाडौंको सामाखुसीमा नै १३ वर्षकी बालिका सत्या सापकोटा सडक पार गर्दा ढलमा बगेकी थिइन्। त्यसपछि उक्त स्थानमा काठमाडौं महानगरपालिकाले फलामको बार लगाएको थियो।

यस्तै, २०७५ साल कात्तिक महिनामा कीर्तिपुरको डल्लुबाट दक्षिणकाली जाने क्रममा त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वारनजिकै खानेपानीको मंगालमा खसेर कीर्तिपुरका श्याम श्रेष्ठको मृत्यु भयो। उनको मृत्युपछि बल्ल मंगालको ढकनी हालियो।

जब दुर्घटना भइसक्छ मन्त्री होस् वा नेताले निर्देशन दिन्छन् तर घटना हुनुअघि जोखिम रहेका ठाउँहरू कहिल्यै व्यवस्थित गरिँदैन। यो परम्परा हालसम्म कायमै छ।

अहिले पनि चावहिल, कपनलगायत क्षेत्रमा ढलको मंगाल खुलै छ। त्यसैले काठमाडौं उपत्यकाका सडक, ढल, खोला सधैँजसो एम्बुस बन्ने गरेका छन्। जसकारण सवारीचालकलाई सवारी आवतजावत गर्नसमेत कठिन हुने गरेको छ।

सडक डिभिजन भन्छ : त्यो हाम्रो कार्यक्षेत्रमा पर्दैन

सडक डिभिजन काठमाडौंले भने उक्त क्षेत्रमा सडक मर्मत गर्ने र तारबार लगाउने जिम्मेवारी आफ्नो नभएको बताएको छ।

सडक डिभिजन काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले भने, ‘त्यो क्षेत्र तिलिंगटार मार्ग हो, हाम्रो क्षेत्रमा पर्दैन।’ उनले खोलामा वाल लगाउने, ढक्कन लगाउने, पिच गर्ने सबै काम स्थानीय तहले गर्नुपर्ने बताए। 

‘खोलामा वाल लगाउने काम हुँदै छ’

१३ वर्षीय मगरलाई बगाएको सामाखुसी खोला पनि खुल्लमखुला छ। कुनै सुरक्षित संरचना छैन। अझै पनि उक्त क्षेत्रमा सर्वसाधारणहरूको ज्यान जाने जोखिम कायमै छ। मगरलाई बगाएको खोला काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ मा पर्छ।

महानगरपालिका वडा-३ का अध्यक्ष प्रेम थापाका अनुसार अझै वर्षात नसकिएकाले जोखिम कायमै छ। ‘त्यो खोलामा ठूलै बाढी आउँछ, हिजो पनि ठूलो बाढी आएको थियो, त्यसैले उहाँलाई बगायो, अझै यस्तै बाढी आएमा धनजनमा क्षति पुग्छ,’ उनले भने।

उनका अनुसार मगर खोलाको बाढी हेरेर बाटो पार गर्ने क्रममा खोलामा खसेका थिए। त्यहाँ भएका घरका कारण व्यवस्थित बनाउन समस्या भएको उनले बताए।

‘त्यहाँका घरधनीले हामीले ढक्कन लगाउँछौँ भनेका थिए तर लगाएनन्, त्यहाँ भएका घरहरूले समस्या पारेको छ,’ उनले भने।

उनले उक्त खोला वरपर वाल लगाउँदै आएको पनि दाबी गरे। ‘हामी वाल पनि लगाउँदै छौँ,’ उनले भने, ‘अझै त्यहाँ यस्ता घटना दोहोरिन नदिन के गर्ने भन्नेबारे महानगरपालिकाका मेयर बालेन शाहलाई पनि भेट्छु, त्यसपछि पनि थप विकल्प खोज्छौँ।’ 

सर्वसाधारणहरू पनि सचेत भएर हिँडडुल गर्नुपर्ने उनको आग्रह छ।

(याे पनि)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.