|

काठमाडौं : विरोधको प्रमुख प्रदर्शनस्थल बन्दै गएको राजधानीको माइतीघर मण्डला यतिबेला दुर्गन्धित बन्न थालेको छ।

बेला बखतमा विरोध प्रदर्शन हुने माइतीघर मण्डलामा पछिल्लो समय दिनरात नभनी नियमित विरोध प्रदर्शन गर्ने विभिन्न समूह र प्रदर्शनकारीको संख्या बढेसँगै दुर्गन्धित बन्न थालेको हो। काठमाडौं उपत्यकाको मुटुको रूपमा रहेको माइतीघर मण्डला झट्ट हेर्दा भीडभाड त सधैं देखिन्छ नै, बढ्दो भीडले माइतीघरलाई कुरूप र प्रदूषित पनि बनाइरहेको छ।

हप्तौं दिनसम्म प्रदर्शनको नाममा २४सै घण्टा माइतीघरमा बस्नेहरूले खुल्ला बाटोमै शौच र मलमुत्र त्याग गर्ने गरेका छन्। जसले गर्दा उक्त बाटो हुँदै हिँड्नेलाई समेत समस्या हुन थालेको छ।

यतिबेला पनि माइतीघरमा देशका विभिन्न स्थानबाट आएका प्रदर्शनकारीहरूका विभिन्न समूह केही समयदेखि प्रदर्शनमा धर्ना दिएर बसेका छन्। उनीहरू माइतीघरको सडकमै खान्छन्, सडकमै सुत्छन् र त्यहीँ अनेकथरि नारा लगाउँदै विरोध प्रदर्शन गर्छन्।

अनेक थरि समूहका विरोधका मुद्दा जस्तासुकै भए पनि यसले उपत्यकाको मुटुलाई प्रदूषित,दुर्गन्धित र कुरूप बनाइरहेको छ तर यसको नियन्त्रण र नियमन गर्ने निकायहरू भने एकअर्कालाई देखाउँदै पन्छिरहेका छन्।

काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौं यसको नियमन गर्ने जिम्मेवार निकाय भए पनि यसतर्फ उनीहरूले अहिलेसम्म ध्यान दिएका छैनन्। केही वर्षअघिसम्म पनि सबै खालका विरोध प्रदर्शन र सभा तथा भेलाहरू २०४७ सालपछि खुल्ला मञ्चमा हुने गरेका थिए। 

त्यहाँ आमसभा र विरोधका कार्यक्रम हुने गरेका थिए तर पुरानो बसपार्क रहेको स्थानमा व्यापारिक भवन बनाउने महानगरको कदमसँगै खुल्ला मञ्चमा सबैखाले प्रदर्शन‚ आमसभालगायत बन्द गरियो।

महानगरले अर्को व्यवस्था नभएसम्मको लागि भनेर खुल्ला मञ्चमा उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनको बसपार्क बनाइदिएको थियो। अहिले खुल्ला मञ्चबाट बसपार्क हटाए पनि त्यहाँ महानगरले ताला लगाएको छ।

त्यसपछि प्रदर्शनकारीहरू विरोधका कार्यक्रम गर्न माइतीघर आउने गरेका छन्। वैशाख १५ अघि माइतीघरमा दिउँसोमात्र आन्दोलन हुने गरेका थिए। गत वैशाख १५ गतेदेखि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग राख्दै केही दिन पाल टाँगेर माइतीघरमा आन्दोलन गरेका थिए। त्यसपछि भने माइतीघरमा दिनरात नै बसेर प्रदर्शन गर्ने क्रम बढ्दै गयो।

अहिले अनेकौं प्रदर्शनकारी समूहले दैनिक रूपमा ७ वटासम्म आन्दोलन, धर्ना र प्रदर्शन दिनरात त्यहीँ बसेर गर्ने गरेका छन्।

अहिले कसले के आन्दोलन गर्दै छन्?

धनुषा नगराइन नपा-८ खिरखरिया बस्ने विनोदप्रसाद साहसहित परिवारका ७ जना जेठी छोरी २२ वर्षकी आरती साहलाई उनको पतिका पक्षले कुटपिट गरि हत्या गरेकोले छोरीको हत्यारालाई कडा कारवाहीको माग राखी गत असार १ गतेदेखि माइतीघर मण्डलामा बसेर शान्तिपूर्ण धर्ना दिँदै आएका छन्।

२०४७ को संविधान पुनःस्थापना समितिको आयोजनामा गत जेठ २७ गतेदेखि जारी अनिश्चितकालीन पुनर्जीवनका लागि सत्याग्रह कार्यक्रम यथावत् रहेको छ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिको आयोजनामा सहकारी पीडित बचतकर्ताको हकहितका लागि भन्दै गत जेठ २० गतेदेखि अनिश्चितकालीन धर्ना पनि यथावत् जारी रहेको छ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत फार्मेसी अधिकृत अमृत पोख्रेलको न्यायका निम्ति उनका दाजु तुलसी पोख्रेललगायत २०/२२ जना प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्।

जिल्ला गोर्खा बारपाक वडा नं २ सुलिकोट घर बताउने वर्ष ६६ का तेलबहादुर घले मिति २०७५/०६/१४ गते नेपाली सेनाले सडक बनाउने क्रममा गरेको विस्फोटका कारण घर र होटेल पूर्ण रूपमा क्षति भएकाले क्षतिपूर्ति रकम पूरा नपाएको भन्दै गएको जेठ १० गतेदेखि नियमित शान्तिपूर्ण धर्नामा बसेका छन्।

त्यस्तै केही समयका लागि मात्र पनि माइतीघरमा आन्दोलन गर्न आउनेको संख्या पनि उत्तिकै देखिन्छ। यसले गर्दा त्रिपुरेश्वर, कुपण्डोलतर्फ जाने सडक अवरूद्ध हुने गरेको छ। सडक जामका कारण सर्वसाधारण मारमा पर्ने गरेका छन्। बाटो हिँड्न समेत मुस्किल पर्ने गरेको छ।

खुलामञ्चमा कार्यक्रम गर्ने व्यवस्था मिलाउनुपर्छ : प्रहरी परिसर

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले ठाउँकै समस्याले गर्दा माइतीघर मण्डला पछिल्लो समय आन्दोलनको लागि कब्जा भएको बताए।

‘माइतीघर भनेको सडक हो, सवारी आवागमन हुने ठाउँमा यस्ता आन्दोलनका कार्यक्रम गर्न हुन्न भनेर रोक्दा, फेरि अदालतबाट कार्यक्रम गर्न दिनु भन्ने आदेश आयो। अब नागरिकहरूलाई निश्चित ठाउँमा उनीहरुका गुनासा‚ भनाइ राख्न दिनुपर्छ,’ उनले भने। उनले आन्दोलनको लागि खुलामञ्च उपयुक्त ठाउँ भएको भन्दै त्यहाँ व्यवस्थापनको लागि पहल भइरहेको जानकारी दिए।

‘हामीले यस्ता कार्यक्रम गर्न खुलामञ्चमा राम्रो हो भनेर भनेका छौँ तर महानगरपालिकाले ताला लगाएकोले खोलेर त्यहाँ गर्न भनेका छौँ। यसो गरे सडक सुरक्षा पनि हुने भयो, कार्यक्रम पनि कहीँ न कहीँ गर्न दिनुपर्छ,’ उनले भने। उनले सम्बन्धित निकायबाट हटाउन केही जानकारी नआएको बताए।

‘महानगरले ठाउँ उपलब्ध गराउन नसक्दा समस्या भयो’

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाले खाली ठाउँ उपलब्ध गराउन नसक्दा यस्तो समस्या आएको जानकारी दिए।

‘महानगरपालिकाभित्र सम्बन्धित खुला ठाउँमा विरोध गर्ने, सरकारलाई दबाब दिने लगायतका लागि ठाउँ व्यवस्था गर्नुपर्छ तर त्यो भएन, त्यसैले उहाँहरू माइतीघर मण्डलामा बस्नु भएको हो,’ उनले भने। उनका अनुसार खुलामञ्चमा आन्दोलनका लागि ठाउँको व्यवस्था गर्न पहल गरिएको थियो।

‘तर महानगरपालिकाले त्यहाँ ताला लगाएको छ,’ उनले भने। महानगरपालिकाले जिल्ला प्रशासनसँग समन्वय, सहकार्य गर्नमा चासो देखाएन भन्ने गुनासो बारेमा भने उनले आफू आएपछि त्यसबारे कुनै छलफल नै नभएको बताए।

‘म यहाँ आएपछि उहाँहरूसँग छलफल नै भएको छैन, त्यसैले चासो नदेखाएको भन्ने छैन,’ उनले भने, ‘हामीले आन्दोलन गरिरहेकाहरूको मागहरू सम्बन्धित निकायले तत्काल पूरा गर्नु पर्‍यो, सडक सुरक्षामा समस्या भयो, ट्राफिक व्यवस्थापनमा समस्या भयो भनेर चाँडो माग सम्बोधन गरिदिन गृह मन्त्रालयलगायत सम्बन्धित निकायसँग लिखित रूपमै अनुरोध गरिरहेका छौँ।’ खाली ठाउँको व्यवस्था भएपछिमात्रै माइतीघर मण्डलाको समस्या हट्ने उनको भनाइ छ।

महानगर भन्छ : खुलामञ्चमा सार्ने कुरा भएको छैन

यता काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले भने खुलामञ्चमा आन्दोलन गर्ने व्यवस्था गरी माइतीघर मण्डला खुला गर्ने भनेर हालसम्म कुरा नभएको दाबी गरे।

‘हामीले जिल्ला प्रशासन कार्यालयलाई माइतीघर मण्डलामा खानेपानी, ट्वाइलेटको समस्या हुने भयो भनेर समन्वय, छलफल गरिरहेका छौँ, त्यहाँ खाली गर्न प्रयत्न गरेका हौँ तर खुलामञ्चमा लाने भनेर कुरा भएको छैन,’ उनले भने।

उनले माइतीघर मण्डला आफ्नै कार्यक्षेत्र भए पनि ट्वाइलेट बनाउन जग्गा नभएको बताए। ‘हामीले पहिला नै सार्वजनिक ट्वाइलेट बनाउने योजना ल्याएका हौँ तर जग्गा नै छैन, त्यसैले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेका छौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.