|

विराटनगर :  धनकुटाका  राजन लिम्बू (नाम परिवर्तन) दिनदिनै परिवारदेखि एक्लिँदै  जान थालेका थिए। बन्द कोठाभित्र आफू र मोबाइलबाहेक उनले परिवारको सदस्यलाई टाढा सम्झन सुरु गरेको झण्डै ३ वर्ष भएको रहेछ।

 अन्य समयभन्दा त्यो अवधिभर उनको साथीभाइ पनि सीमित हुन थाल्यो।  त्यसो त उनको स्वभावमा भएको पविर्तनका विषयमा परिवारले पनि खासै चासो नराखेको उनले सुनाए।

३४ वर्षीय राजनको  फेरिएको स्वभाव र  उनको जीवनशैलीका विषयमा  उनी  प्रहरी नियन्त्रणमा परेपछि परिवारले पत्तो पायो।

 अपत्यारिलो तरिकाले लागुऔषधको खाल्डोमा आफ्नो  ऊर्जाशील उमेरलाई फसाउँदै गर्दा लागूऔषध सेवनले परिवार, साथीभाइ र समाज  टाढा होला भन्ने कल्पनासमेत नगरेको उनले सुनाए।

उनले साथीभाइको संगतले गर्दा लागूऔषध सेवन गर्न सुरु गरेको बताए। ‘साथीभाइहरूले  दिन्थे, उनीहरूले सेवन गरेको देख्दा मलाई पनि प्रयोग गर्न मन लाग्यो,’ उनले भने,‘विस्तारै नसामा डुब्न थाले त्यो समय मलाई परिवार, साथीभाइ यो सिंगो समाज कोही चाहिँदैन जस्तै लाग्थ्यो।’ 

जब प्रहरीले नियन्त्रणमा लियो त्यही दिनदेखि यता आफूले गलत कदमको सुरुवात गरेको आभास भएको उनले सुनाए।

गलत बाटो अपनाउँदा परिवार त टाढा भए नै धेरै पैसासमेत खर्चिएको  बताउँदै उनले आफूलाई लागूऔषधको लत लागेपछि साथमा पैसा नहुँदा घरमा भएको सामग्री बिक्री गरेरसमेत तलतल मेटाउने गरेको अनुभव सुनाए।

लागूऔषध विरुद्धको कानुनी कारबाही बेहोरेर  थुनामुक्त भएका राजनलाई अब बचेको समय केही राम्रो काममा लगानी गर्ने बताए।

‘झण्डै तीन वर्ष त नसामा डुबेँ, त्यो समय सही के गलत के थाहा हुँदैनथ्यो, सबैसँग नजिक हुनु मन लाग्दैन थियो आफ्नो लक्ष्य के हो त्यसको पनि खासै चिन्ता लागेन,’ उनले भने,‘ लागूऔषधको लतबाट आफूलाई छुटकारा दिलाउन सबैभन्दा पहिले आफ्नो मनबाट नै तयारी हुनुपर्छ अब  प्रयोग गर्दिन भनेर अनि बल्ल छुटकारा मिल्छ नत्र त सुधार केन्द्रमा बस्दा पनि मेरो साथीहरू धेरैले छोड्नुभएको छैन।’

यता, धरानकी यमुना (नाम परिवर्तन) ले १४ वर्षको उमेरदेखि लागूऔषध सेवन गर्न सुरु गरेको सुनाइन्। बुवाआमा दुवैजना रोजगारीको सिलसिलामा परदेशी भएपछि उनी आफन्तको साथमा धरानमै बस्दै आएकी रहेछिन्। 

दैनिक साथीभाइसँगको जमघटमा रुमलिएको उनी तीनै साथीहरूको दबावमा लागूऔषध सेवन गर्न सुरु गरेको  करिब ४ वर्षपछि आफन्तले थाहा पाएर धरानकै एक सुधार गृहमा राखिदिएको उनले सुनाइन्।

 बुवाआमाले पठाएको पैसाले मनग्य पुग्ने भएकाले साथीहरूको भनाइमा लागेर लागूऔषध सेवन गर्न सुरु गरेको बताउने उनी यतिकै लत बस्दै गएको  बताइन्।

‘मेरो बुवाआमा मेरो साथ हुनुहुन्न, उहाँहरू अहिले पनि विदेशमा नै हुनुहुन्छ, उहाँहरूले पैसा पठाउनुहुन्छ तर उहाँहरूको साथ त छैन  नि?’ धरानको भानु चोकमा भेटिएकी उनले सुनाइन्, ‘अहिले आफन्तको सहयोग र सुधार गृहको लामो बसाइले मभित्र धेरै परिवर्तन आएको छ, अब मैले मेरो लागि सोच्नुपर्छ भन्ने लागेको छ।’

उनी एक महिना मात्रै भएको रहेछ सुधार गृहबाट आफ्नो घर फर्किएको। चार वर्षसम्म जीवनको लक्ष्य र चाहना  नसामा लट्याउँदै गर्दा अब उनी भित्र भविष्यमा केही राम्रो गर्ने भन्ने ऊर्जा, हौसला जागेको छ। 

यद्यपि गफैगफमा धेरै पटक उनले सन्तानको खुसी खोज्न सन्तानलाई एक्लो बनाएर अभिभावक बाहिरिदैँ जाँदा सन्तानको खुशी के मा  छ? र को हो?  भन्ने बुझ्न जरुरी रहेको बताउँछिन्।  सुधार केन्द्रबाट फर्किएकी उनी पुनः पढाइलाई निरन्तरता दिने सोचमा छिन्। अभिभावकको माया र साथबाट टाढा हुँदा पनि  सन्तान दिशाविहीन हुनेरहेछ भन्ने उदाहरण यमुना एउटा प्रतिनिधि पात्र हुन् भन्दा फरक नपर्दो हो।  त्यसो त  पछिल्लो समय धेरै सिर्जनशिल युवाहरू लागूपदार्थको कुलतमा डुबेका छन्। 

लागूऔषधविरुद्ध विभिन्न कार्यक्रम नआएका पनि होइनन्। नेपाल प्रहरी, स्थानीय तह साथै विभिन्न सरोकारवाला संघसंस्थाहरूले विविध सचेतनामूलक काकर्यक्रमको आयोजना नगरेका पनि  होइनन् तर, पनि  लागूऔषध ओसार–पसार, बिक्री वितरण साथै सेवनमा भने नियन्त्रण आउन सकेको छैन।

लागूऔषध मुद्दामा पुरुषको संख्या धेरै

लागूऔषध मुद्दामा तथ्यांकअनुसार कोशी प्रदेशमा  सबैभन्दा धेरै पुरुष पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय अनुसार लागूऔषधको मुद्दामा २ हजार ३०९  जना पुरुष पक्राउ परेका छन्। भने १५३ जना महिला रहेका छन्। तीन वर्षमा ३ हजार ३०४ जना पक्राउ प्रहरीले पक्राउ गरिसकेको छ। जसमध्ये  एक हजार ७ सय १६ वटा मुद्दा फर्छ्यौट भइसकेको तथ्यांकले जनाएको छ।

तीन वर्षमा कति लागूऔषध बरामद?

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको तथ्यांकअनुसार तीन वर्षमा गाँजा ५८ हजार १५ केजी ४९२ ग्राम ७०० मि. ग्रा. बरामद  गरिएको छ। ०७७/०७८ मा  १७८९ केजी १११ ग्राम, ०७८/०७९ मा २०२१ केजी ९०१ ग्राम र ०७९/०८० मा  ५८१५ केजी ४९२ ग्राम ७०० मि.ग्रा गाँजा बराम गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएका छ।

यस्तै चरेस  ०७७/०७८ मा  १३ ग्राम ८६० मि. ग्रा. र ०७८/०७९ मा २३ ग्राम १७ मि. ग्रा. बरामद गरिएको छ। ०७९/८० मा भने शून्य रहेको छ।

 अफिम  ०७७/०७८ मा  २ केजी , ०७८/७९ मा ११ ग्राम र ०७९/८० मा २७ ग्राम ६८ मि.ग्रा. बरामद भएको छ।  यस्तै तीन वर्षको तथ्यांकमा ब्राउनसुगर ०७७/०७८ मा ३ केजी ५१६ ग्राम ५६७ मि. ग्रा. , ०७८/०७९ मा  २ केजी ४५७ ग्राम १७४ मि. ग्रा( र ०७९/०८० मा  २ केजी ७९ ग्राम ८४९ मि.ग्राम बरामद रहेको छ।

ग्रामीण क्षेत्रमा पनि बढ्दै लागूऔषध

लागूऔषध सहरी क्षेत्र हुँदै पहाडी क्षेत्र र पहाडी क्षेत्र हुँदै ग्रामीण क्षेत्रका  युवाहरूमा  नराम्रो लत  बढ्दै गएको पाइएको छ। विविध सूचनाको आधारमा पनि पहाडी क्षेत्रमा लागूऔषधको  स्वरूप बढ्दै गएको पाइएको प्रहरीले जनाएको छ।

त्यस्ता खालका  लत बढाउनको कारण साथीभाइको संगत, खुला सीमा नाका, सहज निकासका कारण भएको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ  बास्तोलाले बताए।  उनका अनुसार घरायसी समस्या, घरायसी अनमेल अभिभावकले छोराछोरीको विषयमा राम्रो निगरानी  नगर्नु पनि लागूऔषधको समस्या हो।

‘लागूऔषध प्रयोग गर्नेले आफू अनुसारको साथी खोज्छ र त्यहीअनुसार साथी बनाउँछन्,  एकपल्ट लत लागेपछि त्यसको मात्र बढ्दै जान्छ त्यसको मात्रा बढ्दै जाँदा  महँगो पर्छ रकमको आवश्यकता पर्छ’, उनले भने,‘ त्यो रकमको लागि साथीभाइ पनि लत लगाइसके पछि त्यो पूरा गर्न सकिने  र त्यो खालको बाटो हुँदै गएपछि यसरी जोडिएको हो।’

यसमा नियन्त्रणका लागि विभिन्न सचेतना मूलक कार्यक्रमहरू गर्दै आइरहेको बताउँदै उनले अभिभावकले ध्यान दिएर सबैको सहकार्यमा सचेतनाको कार्यक्रम गर्नु यसबाट हुनसक्ने सम्भावित क्षति दुर्घटनाका विषयलाई जानकारी गराउने  र त्यसमा पुनःस्थापना केन्द्रमा लगेर घटाउने विकल्प नरहने बताए।

सबै समाजले तीनै तहले लागू गरेको कार्यक्रममा ऐक्यबद्धता जनाउन आवश्यकता  रहेकोमा उनले जोड दिए।

‘ प्रहरीका काम अनुसन्धान गराउने हो यसलाई नियन्त्रण लिनुपर्छ, अप्रेशन गराउनुपर्छ यसको आधारमा हामीले यसपाली ११  सय ४१ जनालाई नियन्त्रणमा लिएका छौँ यसमा प्रयोगकर्ता बिक्रेता दुवै छन्’, उनले भने,‘कानुनको परिधिमा रहेर हामीले काम गर्नुपर्छ।’

 ब्राउन सुगर, टयाब्लेट, इन्जेक्सन लगायत सिमानाका हुँदै आउने गरेको बताउँदै उनले  फार्मेसीमा बेलाबेला छापा मार्ने काम भइरहेको बताए। उनले भने,‘यति हुँदाहुँदै पनि यसको प्रयाग गर्ने संख्या  क्रमशः केही मात्रामा बढ्दै गएको अवस्था देखिन्छ, यसलाई गम्भीर भएर उपचारका लागि आवश्यक स्थानहरू लगायत कुराहरूमा स्थानीय तहबाट अबिलम्ब गर्नुपर्ने आवश्यकता देखिन्छ।’

नेपाल प्रहरीसँग सुधार केन्द्र रहेको बताउँदै उनले भने,‘धरानमा नेपाल प्रहरी श्रीमती संघको  नेतृत्वमा नागरिकसँग सहकार्य गरेर  राखेका छौ त्यसमा पनि अहिले एक सय जना उपचाररत हुनुहुन्छ।’

उक्त सुधार केन्द्रबाट  उपचार भएर गएपछि पुर्नस्थापित भएपछि राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै त्यति मात्रैले पनि पर्याप्त नहुने हुँदा नियन्त्रण गर्ने पहिलो ठाँउ  घर, अभिभावक र विद्यालय  रहेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.