|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतको फैसलासँगै मुख्यमन्त्री थापा पदमुक्त भएका हुन्।

सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री पद बदर गरेसँगै कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ।

गठबन्धन दलभित्र रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जसपा नेपालसहित सभामखु बाबुराम गौतमको हस्ताक्षरमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

एमाले नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले पुनः संविधानको धारा १६८(२) बमोजिम सरकार गठन गर्न परमादेश दिएको छ।

धारा १६८(२) अर्थात् अब पुनः कोशी प्रदेशमा सदनमा बहुमत भएको दुई वा दुईभन्दा बढी दलहरूको बहुमत जुटाएर सरकार बनाउन आह्वान गर्नुपर्ने हुन्छ। यसका लागि सर्वोच्चले साउन १७ गतेसम्मको समय दिएको छ।

एक हप्ताको अवधिमा नयाँ सरकार गठनका लागि सम्भव भने देखिदैन। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक छ। जुन गठबन्धन दलभित्र बहुमत पुग्ने अवस्था कमजोर देखिन्छ। सभामुख सहित हस्ताक्षर गराएर ४७ संख्या पुर्‍याउँदा सर्वोच्चले नियुक्ति बदर गरेपछि गठबन्धनभित्र बहुमत पुग्ने अवस्था छैन।

सभामुखलाई राजीनामा गराउने दाउ

सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने विकल्पमा समेत गठबन्धनमा छलफल हुन सक्ने देखिन्छ। सभामुख गौतमलाई राजीनामा गराएर माओवादी सांसदको रूपमा ल्याउने र पुनः एकपटक मुख्यमन्त्रीमा दाबी गर्ने दाउमा गठबन्धन देखिन्छ।

तर सभामुखलाई राजीनामा गराएपछि एमालेले समेत आफ्ना उपसभामुखलाई राजीनामा गराउने स्थितिमा छ। सभामुखले राजीनामा गरे एमालेले पनि आफ्ना तर्फबाट उपसभामुख रहेकी सृजना दनुवारलाई राजीनामा दिन लगाएर कांग्रेसबाट निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेशसभा सञ्चालन गर्ने बाध्यात्मक परिस्थिति बनाउने रणनीतिमा छ। 

गठबन्धनभित्र तत्काल ४६ सांसद हुँदा विपक्षी क्याम्पमा समेत ४६ सांसद नै छन्। एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद गठबन्धनविरुद्ध रहेका छन्। त्यसैले एमाले नेतृत्वमा समेत तत्काल बहुमतको सरकार बन्न सक्ने स्थिति छैन।

यसै पनि एमालेले बहुमत सदस्यको हस्ताक्षर लिएर कोशी प्रदेश सरकार गठनको दाबी नगर्ने जनाएको छ।

राप्रपासँग एमालेको समीकरण जारी रहेको र गठबन्धनसँग पनि तत्काल बहुमत नभएकाले ठूलो दलको हैसियतमा एक सातापछि पुनः हिक्मत कार्की मुख्यमन्त्री बन्ने एमाले सांसदहरूको दाबी छ।

राप्रपा भित्र्याउने गठबन्धनको दाउ

काँग्रेस नेता उद्धव थापासँग राप्रपा नेताको व्यक्तिगत इगोका कारण साथ नदिएको भन्दै माओवादीले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बन्नुपर्ने माग राख्दै आएको थियो।

माओवादीको नेतृत्वमा हुने सरकारमा समेत राप्रपाले समर्थन जनाउने सम्भावना कम देखिन्छ। प्रचण्ड नेतृत्वको केन्द्रबाट निस्किएको राप्रपा कोशीको मुख्यमन्त्रीमा माओवादीलाई समर्थन गर्ने सम्भावना कमजोर देखिन्छ तर राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला भने सबै दलहरूसँग संवादको वातावरण खुला रहेको बताउँछन्।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रकुरमा राईले निर्धारित समयमा गठबन्धनले संख्या पुर्‍याएर संविधानको मर्म र भावना अनुसार सजिलो विकल्प प्रस्तुत गरी गठबन्धन दलबाटै मुख्यमन्त्री हुने दाबी गरे।

यो सम्भव छ त? भन्ने प्रश्नमा उनले अहिलेको अदालतको आदेशलाई मद्देनजर गरेर सजिलो तरिकाले सभामुखले राजीनामा दिएर ४७ पुर्‍याउने या राप्रपासहितको समर्थन जुटाएर आवश्यक संख्या पुर्‍याउने बताए। यता माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धने बैठक बस्ने र कसरी अघि बढ्ने भन्ने निर्णय गरेर निष्कर्षमा पुग्ने बताए।

सर्वोच्चको आदेश स्विकार्छु

पदमुक्त भएपछि मुख्यमन्त्री थापाले सर्वोच्चको अन्तिम आदेशलाई स्वीकार गर्ने बताएका छन्। उनले सर्वोच्च अदालतको आदेशलाई आफूले मान्ने र जे सर्वोच्चले आदेश दिएको छ, त्यो आफ्ना लागि स्वीकार्य रहेको बताए।

उनले भने, ‘त्यसमा मेरो कुनै विमति छैन। यो आदेश स्विकारी हिँड्नुको विकल्प पनि छैन।’

अदालतले पुनः प्रक्रियामा जानुपर्ने भनेको बताउँदै उनले अब पुनः प्रक्रियामा जाने र गठबन्धनको निर्णयअनुसार कोशी प्रदेश कांग्रेसकै भागमा परेकाले गठबन्धनबाट कांग्रेसले नै दाबी गर्ने जिकिर गरे।

उनले सभामुखको कदमको विषयमा सर्वोच्चले व्याख्या गरेका कारण आफूले थप नबोल्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.