|

काठमाडौं : जब वर्षात लाग्छ, तब काठमाडौं उपत्यकाका चोक–चोकमा फोहोर थुप्रिन्छ। दुर्गन्धले मुख थुन्दै हिँड्छन् सर्वसाधारणहरू। अन्य समयभन्दा बढी वर्षातमै यो समस्या बेहोर्न बाध्य छन्। फोहोर विसर्जन हुँदै आएको सिसडाेल र बञ्चरेडाडाँका स्थानीयले त्यहाँ फोहोर फाल्न नदिँदा उपत्यकामा जताततै फोहोर छ्याल्लब्याल्ल हुन्छ।

यो समस्या अहिलेमात्र होइन। वर्षेनि समस्या दोहोरिरहेको छ तर न संघीय सरकार न स्थानीय सरकारले दीर्घकालीन व्यवस्थापन नै गर्न सकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले २०७८ फागुन २६ गते शहरी विकासमन्त्रीको संयोजकत्वमा बञ्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको थियो।

उक्त समितिको टोलीले त्यहाँको स्थलगत अनुगमन गर्‍याे तर हालसम्म पनि त्यहाँ भइरहेको समस्या समाधान हुन नसक्दा पुनः फोहोर व्यवस्थापनमा समस्या आएको छ। 

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेंशी नगरपालिकाले गत वैशाख ५ गते नै संयुक्त प्रेस विज्ञप्ति जारी गरि सरकार तथा काठमाडौं महानगरपालिकाले १५ दिनभित्रमा माग पूरा नगरे बञ्चरेडाडाँमा फोहोर फाल्न नदिने चेतावनी दिएका थिए।

त्यसबेला जसोतसो फोहोरको व्यवस्थापन भयो तर साउन ३ गतेदेखि भने त्यहाँका स्थानीयले फोहोर फाल्न दिएनन्। जसकारण उपत्यकामा फोहोर थुप्रिँदा शहर नै दुर्गन्धित बन्यो।

अझै पनि उपत्यकामा रोकिएको सबै फोहोर उठ्न सकेको छैन। फोहोर संकलन भइरहेको ठाउँमा फोहोर बोकेका टिपरहरु रोकिइराखेको देखिन्छ।

काठमाडौं महानगरपालिकाका अनुसार गत शुक्रबारबाट भने बञ्चरेडाडाँमा फोहोर विसर्जन भएको छ तर पनि स्थानीयबासीले अझै पूर्ण रूपमा फोहोर फाल्न दिइरहेका छैनन्।

यस्ता छन् स्थानीयबासीका माग

फोहोर व्यवस्थापनको लागि विज्ञ टोली गठन गरि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट न्यून प्रभाव पर्ने गरि व्यवस्थापन गर्नुपर्ने ककनी गाउँपालिका र धुनिवेंशी नगरपालिकाको माग छ। यस्तै, बञ्चरेडाडाँबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।

‘२०७९ जेठ ३ गते सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेंशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरूबीच र ०७९ जेठ २६ गते काठमाडौं महानगरपालिका, धुनिवेंशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडा अध्यक्षहरूबीच भएको सम्झौता कार्यान्वयनमा आउनुपर्छ,’ विज्ञप्तिमै भनिएकाे छ। 

काठमाडौं महानगरपालिका वातावारण विभागका निर्देशक रविनमान श्रेष्ठले त्यस क्षेत्रमा धेरै फोहोरको दुर्गन्ध फैलिएकाले औषधी हाल्नुपर्ने, फोहोर व्यवस्थित गरी विसर्जन गर्नुपर्नेलगायत स्थानीयबासीहरूले  माग राख्दै आएकोे जानकारी दिए। उनका अनुसार गत शुक्रबारबाट उपत्यकाको फोहोर उठ्न थालेको छ।

तर पूर्ण रूपमा भने स्थानीयबासीहरूले अझै फोहोर विसर्जन गर्न दिएका छैनन्। केही दिनअघि पनि सुरक्षाकर्मीको सहयोगमा उपत्यकाको फोहोर त्यहाँ लगिएको थियो। ‘उनीहरूको समस्या समाधान गर्न महानगरले सक्ने पहल गरिरहेको छ, यसका लागि शहरी विकास मन्त्रालयले पनि कार्यायोजना बनाउँदै छ,’ उनले भने।

महानगरपालिकाका अनुसार उपत्यकाका १८ स्थानीय तहबाट दैनिक करिब १२ सय मेट्रिक टन फोहोर यसअघि सिसडोलमा विसर्जन हुँदै आएको थियो। अहिले बञ्चरेडाडाँमा व्यवस्थापन गर्ने गरिएको छ। काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करिब ५ सय ४५ मेट्रिक टन फोहोर निस्किन्छ।

शहरी मन्त्रालय भन्छ : कार्ययोजना बनिसक्यो, क्याबिनेटमा बुझाउने तयारी छ

शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले बञ्चरेडाडाँमा भएको समस्या समाधानको लागि कार्ययोजना तयार भइसकेको जानकारी दिए।

‘जनप्रतिनिधिसहित हामी बैठक बसेर कार्ययोजना पनि बनाइसक्यौं,’ उनले भने। उक्त कार्ययोजना अब छिट्टै मन्त्रिपरिषदमा पेस गर्न लागिएको उनले जानकारी दिए।

(याे पनि)



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.