|

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मटिहानी–७ स्थित तस्मैया बाबा उद्यानमा रहेको ११० फिटको उचाइमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका छन्।

मंगलवार महोत्तरीको मटिहानी पुगेका उनले तस्मैया बाबा उद्यानमा रहेको ११० फिटको उचाइमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका हुन्। झण्डा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति यादवले सीमावर्ती क्षेत्रमा पर्ने मटिहानीमा राष्ट्रध्वज स्थापना गरी यहाँका बासिन्दाले राष्ट्रप्रति उच्च अपनत्व देखाएको बताए।

उनले मटिहानी नगर राष्ट्रध्वजको माध्यमबाट देश र मातृभूमिप्रति लगाव र सम्मानको प्रदर्शन गर्न सफल भएको पनि चर्चा गरे। उपराष्ट्रपति यादवले नेपाल बहुधार्मिक‚ बहुजातीय र बहुक्षेत्रीय देश रहेको भन्दै सम्पूर्ण जनताका साथ सामाजिक न्याय, समानता र सम्मानसँगै हरेक वर्ग र समूहको भलाइका लागि लोकतान्त्रिक पद्धतिअनुसार कानुनी व्यवस्था गरिएको पनि बताए।

उपराष्ट्रपति यादवले नेपाल र भारतको समस्त वैष्णव मठको प्रधान रहेको लक्ष्मीनारायण मठ, नेपालको सबैभन्दा ठूलो राजगुठी र नेपालको प्रथम शिक्षालय राजकीय संस्कृत पाठशाला मटिहानीमा रहेको भन्दै यो पवित्र भूमिमा देशप्रेम‚ राष्ट्रभक्ति र राष्ट्रियताको एकताको प्रतीक रहेको नेपालको राष्ट्रध्वज स्थापना गर्नु गौरवको विषय भएको समेत बताए।

उपराष्ट्रपति यादवले तराई–मधेश सुक्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता पनि व्यक्त गरे। उनले वर्षा नहुँदा यो क्षेत्रका किसानका साथै आमजनताले धेरै समस्याको सामना गर्नुपरेकाले संवेदनशील भई समस्याको निराकरण गर्नु सरकारको दायित्व भएको पनि बताए।

उपराष्ट्रपति यादवले पीरबाबा मजारको समेत दर्शन गरेका थिए। सनातन परम्पराका महासन्त तस्मैया बाबा र सुफी सन्त पीरबाबा १६ औं शताब्दीमा आधुनिक मटिहानीको जग बसाउने व्यक्तिका रूपमा चिनिन्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.