|

भोजपुर : हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बनेको छ  । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।

 वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ। जलवायु परिवर्तनका कारण देखिएका समस्याको न्यूनीकरण गर्दै जलाधारको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। यो कार्यक्रमअन्तर्गत प्रत्येक आर्थिक वर्षमा पोखरी खन्ने काम भइरहेको छ।

‘हामीले ‘एक वडा, एक पोखरी’ कार्यक्रम सञ्चालनमा ल्याएका छौँ’, उनले भने, ‘यहाँको जलाधारको संरक्षणसँगै आवश्यक सिँचाइको व्यवस्थापन गर्ने हाम्रो मुख्य उद्देश्य हो। पानीका मुहानको संरक्षणमा सहयोग पुगोस् भन्ने अपेक्षा पनि हो।’

यो कार्यक्रमअन्तर्गत हालसम्म ३० वटा बढी सार्वजनिक पोखरी निर्माणको काम सम्पन्न भएको अध्यक्ष राईले जानकारी दिए। कार्यक्रमले तत्काललाई भन्दा पनि भविष्यका लागि ठूलो लाभ पुग्ने अध्यक्ष राईको भनाइ छ। ‘यो काम वातावरणको संरक्षणको पक्षबाट निकै महत्त्वपूर्ण छ’, अध्यक्ष राईले भने, ‘जमिन रिचार्ज गर्न यसले भूमिका खेल्छ। कतिपय ठाउँका पानीका मुहान सुक्दै गएको अवस्था छ। यस्तै अवस्था रहे वर्षौँपछि पानीको हाहाकार बन्ने अवस्था छ। हामीले भावी दिनको आँकलन गरेर यो अभियान सञ्चालन गरेका हौँ।’

पोखरी निर्माणले पानीको मुहान रिचार्जिङ हुने, सिँचाइमा सहजतासँगै  आकस्मिकरूपमा हुने आगलागीको समयमा प्रयोग गर्न सकिने विश्वास छ। यस्ता सार्वजनिक पोखरीलाई सयौँको सङ्ख्यामा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ। यसअघि खनिएका पोखरी आसपासका पानीको मुहानमा सुक्खा खडेरीमा पनि पानी नसुकेको राईले जानकारी दिए। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले  पानीको अभावमा सिँचाइका लागि झेल्नुपर्ने समस्या कम गर्दै पानीको मुहानको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याएको बताए। यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ९ पोखरी निर्माण सम्पन्न भएको उनको भनाइ छ। एउटा पोखरी निर्माणका लागि एक लाख रुपैयाँ दिने गरेको उनले बताए।

‘यो कार्यक्रमअन्तर्गत बर्सेनि सार्वजनिक पोखरी निर्माण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, ‘विगतमा खनिएका पोखरीको सकारात्मक प्रभाव देखिन थालेको छ। निर्माण भएका पोखरीमा आकासेपानी संकलनको काम भइरहेको छ। यो कामले मुहानसँगै वातावरणको संरक्षणमा पनि टेवा पुग्ने छ।’

पोखरीले तत्कालीनरूपमा पानीको अभाव हटाउने र प्राकृतिकरूपमा उम्रिएका मुहानको रिचार्जिङमा सहयोग पुग्ने उनको भनाइ छ। तत्काललाई खास उपयोगीजस्तो नदेखिए पनि भावी पुस्ताको लागि लाभदायक रहेको प्रशासकीय अधिकृत निरौलाले बताए।
 
पोखरी निर्माणले स्थानीयलाई तरकारी बाली तथा खेतीपाती गर्नको लागि सहजता भएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए। मानवीय क्रियाकपालपसँगै भूकम्पलगायत प्राकृतिक विपत्तिका कारण धेरै पानीको मुहान सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको उनको भनाइ छ। भविष्यमा देखा पर्नसक्ने सम्भावित खतरालाई ध्यानमा राखेर गाउँपालिकाले पोखरी निर्माण अभियान थालेको वडाध्यक्ष विष्टले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.