गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगियो

|

दोलखा :  जिल्लाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर १५ महिने बालकको  मृत्यु भएको छ।

गौरीशंकर गाउँपालिका ७ मार्बुमा हिजो  बेलुका गएको पहिरोमा परी १५ महिने  बालक प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।

उनका अनुसार पहिरोमा परी यज्ञ थामी र धनमाया थामी गम्भीर घाइते भएका छन्। उनीहरु दुवै जनालाई उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। घाइते सीता थामीको भने सिंगटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा परी गौरीशंकर ७ का  हरिलाल श्रेष्ठ, कृष्ण बहादुर मगर र देविमाया मगर बेपत्ता भएका छन्।  हिजो राति परेको अविरल  वर्षाले गौरीशंकर  गाउँपालिकाको ७ र ८ मा ३२ भन्दा बढी घरमा क्षति पुगेको छ।

पहिरोले विद्युतका पोलहरू बगाएको छ भने  ग्रामीण सडक अवरुद्ध पारेको छ। पहिरोको जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा बस्न भनिएको गौरीशंकर–८ का वडा अध्यक्ष दावा रेन्जी शेर्पाले बताए। उनका अनुसार  कैयौँ पशु चौपायासमेत पहिरोले पुरेको छ। सल्ले पुग्ने घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्‍याएका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, अविरल वर्षाका कारण हिजोदेखि अवरुद्ध  भएको दोलखा जिरी नगरपालिका वडा नम्बर ६ स्थित  लामोसाघु  जिरी सडकको फलाटे सडक खण्डमा अझै सूचारु हुन सकेको छैन।

यात्रुबाहक बस र मालबाहक सवारीको साधन बीचबाटोमै रोकिएका छन्। सडक खोल्नको लागि प्रहरीले पहिरो हटाउने प्रयास गरीरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.