|

तुलसीपुर : केही दिनदेखि जिल्लामा टमाटरको मूल्य २ सय रुपैयाँ पुगेको छ। तुलसीपुर-६ का निमाराम पराजुलीले टमाटरको भाउ बढेपछि खान नसकिने भएको बताए।

उनले भने, ‘सबै कुरा महँगो छ। अब टमाटर पनि किनेर खानै नसक्ने अवस्था आयो।’

तुलसीपुरस्थित सब्जीमण्डीमा तरकारी किन्न आएकी तुलसीपुर-६ की मुना केसी टमाटरको भाउ सुन्दा अचम्म लागेको बताउँछिन्। जेठ अन्तिमसम्म एक सय रुपैयाँमा ५ केजीसम्म टमाटर किनेकी उनलाई टमाटरको भाउ बढेको देख्दा पत्याउनै मुस्किल परेको छ।

यसरी टमाटरको भाउ बढ्नुमा तराई क्षेत्रमा टमाटर नहुनु भएको तरकारी व्यापारीको भनाइ छ। अहिले तुलसीपुरमा सल्यान र रोल्पाबाट मात्र टमाटर आउने गरेको छ। त्यहाँको टमाटर भारत निर्यात हुँदा पनि टमाटरको भाउ अचाक्ली बढेको उनीहरू बताउँछन्।

तुलसीपुर तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष माधवप्रसाद घिमिरेले भारतीय व्यापारी आएर टमाटर सोझै उतै लैजान थालेपछि दाङमा टमाटरको मूल्य बढेको बताए। उनका अनुसार तुलसीपुरमा दैनिक ३ सय क्यारेट टमाटर खपत हुने गरे पनि मूल्य बढेपछि उपभोक्ताले थोरै किन्न थालेका छन्।

टमाटर बाहेक अन्य सबै तरकारीको भाउ यथावत् छ। बजारमा दुई सय रुपैयाँमा कारोबार भइरहेको टमाटर तुलसीपुर सब्जीमण्डीमा भने १८० मा बिक्री भइरहेको छ।

यस्तै उनले नेपालको सामान भारतमा जाँदा किसानले राम्रो मूल्य पाएको भन्दै राम्रो भएको बताए। पानीका कारण सबै टमाटर डुबानमा पर्दा मरेको हुँदा अहिले तत्काल उताबाट आउने सम्भावना नभएको र अहिले पहाडी क्षेत्रबाट मात्र आउने उनको भनाइ छ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले दुई दिनअगाडि आफू भारतको नानपारा पुग्दा नेपालबाट टमाटर आएको भन्ने कुरा स्थानीय व्यापारीबाट सुनेको बताए।

उनले उपमहानगर र प्रहरी प्रशासनसँग यो विषयमा कुरा गरी टमाटर बाहिर पठाउने कुरा बन्द गर्न पहल गर्ने बताए। उनले भने, ‘किसानले मूल्य पाउनुपर्छ तर व्यवसायीले उपभोक्तालाई बिक्री गर्दा मूल्यमा एकरूपता हुनुपर्छ।’

सल्यानबाट तुलसीपुर आउने मूल प्रवेशद्वार कपुरकोटमै मंगलबार टमाटर केजीको १४० देखि १५५ रुपैयाँसम्म किसानले बेचेका थिए। कपुरकोटमा हाटबजार सञ्चालन हुन लागेयताकै यो हालसम्मकै उच्च मूल्य स्थानीय किसानले पाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.