आँखा पाक्ने मुख्य कारण एडिनो भाइरसको सेरोटाइप-१

|

काठमाडौं : यतिखेर देशभरि आँखा पाक्ने विरामीको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पनि देशका विभिन्न स्थानबाट आँखा पाक्ने विरामीको संख्या बढ्दै गएको रिपोर्ट आएको छ।

मोरङलगायतका जिल्लामा आँखा पाक्ने रोगले प्रकोपकै रुप लिइरहेका बेला कर्णाली प्रदेशमा पनि आँखा पाक्ने रोग देखिएको छ। सुर्खेतमा आँखा पाक्ने रोगका विरामी बढेका छन्।

मन्त्रालयका सह-प्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका प्रमुख डा समिर अधिकारीका अनुसार पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाकेका विरामीको चाप बढिरहेको रिपोर्ट आइरहेको छ।

‘केही दिनयता आँखा पाक्ने विरामीको संख्या बढेको भनेर हामीलाई पनि धेरै स्थानबाट रिपोर्ट भइरहेको छ, गत वर्षहरुमा पनि यो सिजनमा आँखा पाक्ने विरामी बढ्ने गरेका थिए तर हाल रिपोर्ट भएको अवस्था हेर्दा यो वर्ष अलि विरामी बढेका हुन् कि जस्तो देखिन्छ‚’ डा अधिकारीले भने।

यता ३० देखि ५० जना आँखा रातो हुने समस्या लिएर तिलगंगा आँखा प्रतिष्ठानमा दैनिक पुग्ने गरेको प्रतिष्ठानले बताएको छ। प्रतिष्ठानकी वरिष्ठ नेत्र सर्जन डा. मलिता अमात्यका अनुसार एक हप्तायता दैनिक ३० देखि ५० जनासम्म विरामी आँखा पाक्ने, रातो हुने जस्ता समस्या दिएर उपचारमा तिलगंगा आँखा प्रतिष्ठान पुग्ने गरेका छन्।

‘एक हप्तादेखि दैनिक ३० देखि ५० जनासम्म विरामी आँखा पाक्ने, रातो हुने जस्ता लक्षण लिएर आइरहनु भएको छ‚’ डा. अमात्यले भनिन्।

एडिनो भाइरसले आँखा पाक्ने समस्या बढ्यो

डा. अमात्यका अनुसार बर्षातको सिजनमा एडिनो भाइरसका कारण यो आँखा पाक्ने समस्या फैलिएको हो। अहिले एडिनो भाइरसको सेरोटाइप-१ ले गर्दा देशभर आँखा पाक्ने संक्रमण बढेको उनको भनाइ छ।

‘एडिनो भाइरसका १९ वटा सेरोटाइप हुन्छन् जसले आँखा पाक्ने समस्या निम्त्याउँछ‚ अहिलेको अवस्था हेर्दा एडिनो भाइरसको सेरोटाइप-१ ले गर्दा देशभर आँखा पाक्ने संक्रमण बढेको देखिन्छ‚’ डा अमात्यले भनिन्।  

उनले श्वासप्रश्वासले गर्दा पनि यो संक्रमण सर्ने गर्छ यस्तै आँखा जुधाउँदा आँशुको कारण र संक्रमित व्यक्तिले प्रयोग गरेको चस्मा‚ रुमाल जस्ता सामान अर्को व्यक्तिले प्रयोग गर्दा पनि यो संक्रमण एक अर्कामा सर्ने र लक्षण बढ्दै गएर आँखाको नानीमा असर गर्दा अल्सर गराउने हुँदा यस्ता लक्षण देखिए बैलैमा चिकित्सकलाई जँचाउन उनले सुझाइन्।

‘समयमा नै उपचार गरिएन भने आँखाको नानीमा असर गरेर आँखाको जटिल समस्यासमेत देखिन सक्छ त्यसैले सावधानी अपनाउनु पर्छ‚' डा अमात्यले भनिन्।

विद्यार्थीबाट घरघरमा पुग्यो आँखा पाक्ने रोग

कर्णाली प्रदेशमा पनि आँखा पाक्ने विरामी बढ्दै गएका छन्। पछिल्ला दिन सुर्खेतस्थित आँखा अस्पतालमा उपचारको लागि जाने झन्डै ५० प्रतिशत विरामी आँखा पाक्ने समस्या भएकाहरु रहेको बताउँछन् कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का।

डा खड्काका अनुसार आँखा पाक्ने रोगका लक्षण अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा दुवै परेला आपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुने तथा कसै कसैमा ज्वरो आउने र घाँटी दुख्ने जस्ता समस्या लिएर विरामी अस्पताल पुगेका छन्।

‘अस्पतालमा पुग्ने धेरै विरामी भाइरल कन्जन्टिभाइसिटसका लक्षण लिएर आएका छन्। ५० प्रतिशत विरामी त भाइरल कन्जन्टिभाइसिटसका लक्षण भएका छन्, विरामीहरुको लक्षण हेर्दा एक हप्तासम्म आँखा रातो हुने, पाक्ने जस्ता कडा लक्षण देखिए पनि एक हप्तापछि बिस्तारै कम हुँदै गएको पाइएको छ‚’ डा खड्काले भने।

डा खड्काका अनुसार सबैभन्दा धेरै स्कुले बालबालिकालाई आँखा पाक्ने समस्या देखिएको र त्यही स्कुले बालबालिकाले गर्दा घरका अभिभावकको समेत आँखा पाक्ने थालेको हुँदा विरामीको समस्या देखिएको बताए।

‘स्कूले बालबालिकामा आँखा पाक्ने समस्या देखिने र तिनै बालबालिकाले गर्दा घर-घरमा अभिभावकमा आँखा पाक्ने समस्या बढ्दा विरामी बढेको देखिएको छ‚’ डा खड्काले बताए।

मन्त्रालयका सह-प्रवक्ता डा अधिकारीका अनुसार स्कुले बालबालिकामा आँखा पाक्ने समस्या देखिएको अवस्थामा सकेसम्म केही दिन बालबालिकालाई स्कुल नपठाए अर्को व्यक्तिमा रोग सर्न नपाउने भएकाले बालबालिकामा आँखा पाक्ने रोगका लक्षण देखिए अभिभावकले सावधानी अपनाउनु पर्छ।

आँखा पाक्ने लक्षण देखिए के गर्ने ?

- आँखा पोले जस्तो लागेमा चिसो बरफ (आइस)ले सेक्ने

- सफा पानीले पटक-पटक आँखा सफा गर्ने

- कालो चस्माको प्रयोग गर्ने

- बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गराउने

- प्रशस्त मात्रामा पानी पिउने

- आँखा छुनुभन्दा अगाडि साबुन पानीले राम्रोसँग हात धुने

- संक्रमित आँखा छोएपछि ढोकाको चुकुल, भाँडाकुँडा, फ्लसको स्वीच आदि छुँदा तौलियाले छुने

के नगर्ने ?

- संक्रमित आँखालाई नछुने वा नचलाउने

- भिडभाड हुने ठाँउमा नजाने

- आँखामा दबाब पर्ने कुनै काम नगर्ने

- आफूले प्रयोग गरेको सामान तथा वस्तुहरु छुट्टै राखी अरुलाई प्रयोग गर्न र छुन नदिने

- चिकित्सकको सल्लाहबिना जथाभावी औषधी प्रयोग नगर्ने

- अरुले प्रयोग गरेको तौलिया, रुमाल, सिरानी, ओछ्यान आदिको प्रयोग नगर्ने

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.