|

जुम्ला : रोजगारीको लागि युवा जनशक्ति विदेशीने क्रम बढी रहेका बेला केही पूर्वजनप्रतिनिधि तरकारी खेतीबाट राम्रै आम्दानी गर्न थालेका छन्। त्यस्तै २०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाको हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष थिइन् हिमाली रोकाया।

उनी पाँच वर्ष गाउँपालिकाको उपाध्यक्षको कार्यकाल सफलतापूर्वक सम्हालेको र कुनै विवादमा नपरेको रोकाया बताउँछिन्। तिनै रोकाया अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका वडानम्वर ११ मा विगत एक वर्षदेखि मौरीपालन र तरकारी खेती गर्दै आएकी छन्।

उनले भन्छिन्, 'राजनीति एउटा सेवा हो पेसा होइन। मैले राजनीतिलाई पनि चटक्कै छाडेकी छैन तर आम्दानीका लागि तरकारी खेती थालेकी हुँ।'

उनले दश कठ्ठा जग्गा दश वर्षको लागि जग्गा लिजमा लिएर तरकारी खेती र ६२ घर मौरी छन्। उनी बिहान उठेदेखि नै तरकारीबारीमा व्यस्त हुने गर्दछिन्।

त्यसैले आफ्नो जीविकोपार्जनका लागि तरकारी खेती गर्न थालेको उनी बताउँछिन। पूर्वउपाध्यक्ष रोकाया अहिले तरकारी व्यापारमा जमेकी छन्।

सुर्खेतको ढकाल चोकनजिकै तरकारी उत्पादन तथा बिक्री गरिरहेकी छन्। तरकारी व्यापारमा रमाइरहेकी उनले अरूलाई रोजगारी दिन नसके पनि आफू आत्मनिर्भर हुनुपर्छ भन्ने भनाई छ।

रोकायाका बारीमा आफैं ग्राहकहरू तरकारी किन्न आउने गरेका छन्। मैले उपाध्यक्ष हुनुभन्दा पहिला व्‍यवसाय गरेको थिएन। उनले भनिन्, ‘अहिले त पूरै तरकारी खेतीमा लागेकी छु।' उनको तरकारी बारीमा धनियाँ, तीतेकरेला, लौका, घिरौला टमाटर, फर्सी र काँक्रा उत्पादन भइरहेका छन्।

उनका अनुसार कर्णाली प्रदेशको ७० प्रतिशत अनुदान र आफ्नो ३० प्रतिशत गरी १६ लाख बराबरको लगानी गरिएको छ।

काम गर्नुमै आनन्द लाग्छ

पाँच वर्ष जनप्रतिनिधि भएर पनि तरकारीखेती गर्न थालेपछि आनन्द लागेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘गरेर खान पनि केको समस्या? मागेर अनि लुटेर खाए पो समस्या र लाज मान्नुपर्छ। मलाई दैनिक तरकारी बारीमा उत्पादन गरी र बिक्री गर्न पाउँदा निकै आनन्द लाग्छ।’

पूर्व उपाध्यक्ष रोकायाका श्रीमान् विकास रोकाया पनि उनको तरकारी खेतीलाई सघाउँदै आएका छन्। मलाई तरकारी व्यापारमै राम्रो छ’, उनले भनिन्, ‘हामो नेपाल कृषिप्रधान देश हो। सबैले कृषिमा श्रम गर्न आवश्यक छ। मलाई तरकारी व्यापारले मोहनी नै लगायो। मेहनत गर्न र किसानलाई पनि उचित मूल्य दिन सकेकोमा मलाई सन्तुष्टि छ।' रोकायाको दैनिकी तरकारी बिक्री गर्दै बित्न लागेको एक वर्ष भइसक्यो।

महिनामा ५० हजार आम्दानी

पूर्वउपाध्क्ष रोकायाले गरेको तरकारी खेतीबाट मासिक ४० देखि ५० हजार सम्म आम्दानी हुँदै आएको बताइन्। उनले भनिन्, 'उत्पादन गरेको तरकारीबाट राम्रो लाभ मिलिरहेको छ। सबै खर्च कटाएर मासिक रूमा ४०देखि ५० हजार जोगिन्छ।'

मौरीपालनबाट वार्षिक ६ लाख आम्दानी

उनले हिमाली मौरी तथा कृषि पशुपक्षी चेतना सहकारी संस्था नमक फारम दर्ता गरेकी छन्। मौरीपालनबाट मह बेचेर उनले वार्षिक करिब ६ लाख कमाउने गरेको बताइन्। उनीसँग ६२ घार मौरी छन्। साउन, भदौ र असोज सम्म उनीहरूलाई उल्टै पाल्नुपर्छ। त्यसपछि घारबाट मह संकलन गर्न पाइन्छ। एक घार मौरी किन्न १२ हजारसम्म पर्छ।  

मौरीको बीस हजारभन्दा बढी प्रजातिहरू छन्। यीमध्ये धेरै शान्त स्थानमा वा एक्लै बस्न मन पराउँछन्। केही मौरीहरू जंगली हुन्छन, जसलाई खाँग मौरी भनिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.