|

काठमाडौं : चालु आर्थिक वर्षमा स्वास्थ्य सेवातर्फको वार्षिक बजेट अघिल्लोभन्दा २० अर्बले घटेर आएको छ। यस्तो अवस्थामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरसरकारी संस्थाद्वारा सञ्चालित स्वास्थ्य संस्थालाई दिँदै आएको अनुदान रकम बाँडेको छ।

नियमित कार्यक्रमलाई निरन्तरता दिन नै मुस्किल भइरहेको बेलामा झण्डै २० करोड रकम अनुदान बाँड्ने कार्यक्रमले निरन्तरता पाएको हो।

चालु आवमा स्वास्थ्यको बजेट घटेर आएपछि हाल सरकारले एकैपटक सुरु गरेका ३९६ आधारभूत अस्पतालमध्ये १०० वटा  निर्माण सम्पन्न भई सञ्चालका लागि तयारी अवस्थामा रहे पनि आवश्यक दरबन्दी नहुँदा सञ्चालन नहुने देखिएको छ। सरकारले यी अस्पताल सञ्चालनका लागि उपकरण खरिद गर्न ८३ करोड रुपैयाँ छुट्याए पनि बजेट नभएको भन्दै जनशक्ति व्यवस्थापन गर्न सकिरहेको छैन। तर यही अवस्थामा करिब २० करोड रकम अनुदान बाँड्ने कार्यले निरन्तरता पाएको हो।

यसरी बाँडिने अनुदानको रकम पनि पहुँचवला गैरसरकारी स्वास्थ्य संस्थाहरूले पाएका छन्। चालु आवमा मन्त्रालयबाट सर्वाधिक अनुदान पाउने  संस्थामा काठमाडौंको बूढानीलकण्ठस्थित ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ छ। निर्माणाधीन उक्त अस्पताल वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाको हो।

यो अस्पतालले चालु आवमा पाँच करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ। यस अघि पनि यो संस्थाले २ करोड रकम अनुदान लगेको थियो। सरकारले यो अस्पतालका लागि बूढानीलकण्ठमा ४२ रोपनी जग्गासमेत उपलब्ध गराएको छ। डा. कोइरालाले बालबालिकाको मुटु उपचारका लागि भनेर यो अस्पताल काठमाडौंसहित देशका सातवटै प्रदेशमा खोल्ने योजना रहेको बताएका छन्।

यही आवमा नै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट कोइरालाले अवकाश पाउँदै छन्।

मन्त्रालयको विवरण अनुसार अटिजम केयर नेपाल सोसाइटी, हरिसिद्धि ललितपुरले एक करोड प्राप्त गरेको छ। यस्तै सुष्मा मेमोरियल अस्पतालले ५० लाख पाएको छ। यो संस्थाले अघिल्लो आवमा पनि  ५० लाख अनुदान लगेको थियो।

यसपछि स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टरले ७५ लाख,लम्जुङ स्थित नमूना सामुदायिक अस्पताल सुन्दरबजारले ५० लाख, राधाचन्द्र स्मृति अस्पताल कुष्मा-३ २० लाख र कीर्तिपुर आँखा अस्पतालले ५० लाख प्राप्त गरेका छन्।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा काभ्रेलाई आँखा उपचारसम्बन्धी औजार उपकरण खरिदको लागि ५० लाख अनुदान दिइएको छ। मन्त्रालयको अनुदानको विवरण हेर्दा रेयुकाई आँखा अस्पताल हरेक वर्ष मन्त्रालयबाट अनुदान रकम लैजान सफल संस्था हो। यो आँखा अस्पतालले अघिल्लो आवमा ७५ लाख अनुदान पाएको थियो। जापानी फण्डबाट सञ्चालित बनेपास्थित यो अस्पतालले २०७४/७५ मा ३७ लाख ५६ हजार हजार‚ २०७५/०७६ मा एक करोड ५० लाख रुपैयाँ‚ २०७८/०७९ मा ५० लाख रुपैयाँ अनुदान पाएको थियो।

यस्तै तामाकोशी सामुदायिक अस्पताल मन्थलीलाई स्वास्थ्य सामग्री खरिदका लागि भन्दै ५० लाख अनुदान दिइएको छ। प्राकृतिक चिकित्सालयले २ करोड र मनमोहन स्मृति सामुदायिक अस्पताल दक्षिणकालीले उपकरणका खरिदका लागि २५ लाख प्राप्त गरेका छन्। नेपाल चिकित्सक संघलाई हेल्थ फ्यासिलिटी रजिष्ट्री अपडेट गर्न भन्दै मन्त्रालयले ९० लाख रकम अनुदान दिएको छ।

प्रत्येक वर्ष पहुँचका आधारमा स्वास्थ्यको अनुदान एकैखाले संस्थालाई वितरण हुँदै आएको देखिन्छ। देशभर विभिन्न तरिकाले सञ्चालित स्वास्थ्य संस्थाले स्वास्थ्य मन्त्रालयबाट दिँदै आएको अनुदान रकम पहुँचको आधारमा लैजाने गरेको पाइन्छ। कुन स्वास्थ्य संस्थाले केको आधारमा अनुदान लगे भनेर मन्त्रालयकै उच्च अधिकारी स्पष्ट जवाफ दिन अप्ठ्यारो मान्छन्। पहुँचको आधारमा अनुदान जाने हुँदा आफूहरू सधैँ दबाबमा पर्ने उनीहरूको भनाइ छ।

 मन्त्रालयमा योजना महाशाखाका एक कर्मचारीले भने, ‘अनुदानको रकम लिन यति धेरै शक्तिको प्रयोग गरिन्छ कि मागेपछि दिनैपर्ने पर्ने स्थिति आउँछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.