|

इलाम : नेपाली फुटबल पछिल्लो समय ‘खेप’मा चलेको छ। देशमा फुटबल प्रतियोगिता नहुँदा खेलाडी छिमेकी देश भारतमा हुने स–साना टोलकपमा रमाउने गरेका छन्। फ्रेण्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका रूपेश केसी दक्षिण सिक्किमको मेलीमा खेप खेलिरहेका छन्।

नेपाली फुटबलमा व्यावसायिकताको कमी र नियमित लिग नहुँदा खेलाडीको बाँच्ने आधार भनेको भारतमा हुने प्रतियोगिताको खेप नै हो। नेपालमा प्रतियोगिता आयोजनाको कुनै टुङ्गो छैन। पूर्वका अधिकांश खेलाडीको बाँच्ने आधार खेप नै हो। राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेका खेलाडी समेत स–साना टोलकपमा रमाइरहेका छन्।

तर पछिल्लो समय रेफ्री समेत खेपमा आर्कषित भएका छन्। नियमित प्रतियोगिताको अभावमा नेपालका फिफा रेफ्री भारतमा भएको साना प्रतियोगितामा समेत निर्णायकको भुमिका निर्वाह गर्दै आएका छन्। खेलाडीपछि रेफ्री समेत खेपमा प्रयोग हुन थालका हुन्। फिफा रेफ्री नविन्द्र मर्हजन र कविन व्यञ्जनकारसँगै पूर्व फिफा रेफ्री श्रवण लामा भारतको सिक्किम पाक्योङ जिल्लाको गोलिटार खेलमैदान साउनेमा जारी स्व. फूलमाया प्रधान स्मृति खुल्ला प्रतियोगिता २०२३ सञ्चालन गरिरहेका छन्।

घुम्ने बाहनामा गएका उनीहरूले टोलस्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका हुन्। रेफ्री व्यञ्जनकारले पुरानो फोटो भएको र हाल आफू घरमा रहेका बताएका छन्। तर प्रतियोगिताको सोमबारबाट क्वार्टरफाइनलसञ्चालन भइरहेको छ, जहाँ फिफा लाइसेन्स पाएका तीन रेफ्री देख्न सकिन्छ।

फिफा रेफ्रीहरुलाई भारतमा प्रतियोगिता सञ्चालनका लागि भारतीय फुटबल संघले आधिकारिक निम्तो दिनुपर्छ। साथै फिफा रेफ्रीको इन्स्योरेन्स र आफ्नै कार्यविधि समेत हुन्छ। नेपालका रेफ्रीले भारतमा प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघलाई जानकारी गराउनु पर्छ। तर दैनिक जीवन निर्वाहका  लागि जोखिम मोलेर फिफा रेफ्री भारतमा टोलकप खेलाइरहेका छन्।

नेपालको तुलनामा भारतमा रेफ्रीले उच्च पारिश्रमिक पाउँछन्। पूर्व इलाम र झापाका एन्फा रेफ्रीले विगतबाट त्यस्ता प्रतियोगिता व्यक्तिगत सम्बन्धका आधारमा खेलाइरहेका छन्। तर फिफा रेफ्रीले टोलकप सञ्चालन गरेको सम्भवत पहिलो हो।

नेपालका विभिन्न क्षेत्रमा हुने गोल्डकप प्रतियोगितामा रेफ्रीले दैनिक अधिकतम ४ हजार रुपैयाँसम्म पाउँछन्। तर भारतका एक दिनमा ४ हजार भारतीय रुपैयाँ पाउने भएपछि नेपाली रेफ्री भारतीय प्रतियोगितामा आर्कषित भएका हुन्। यति वेला सिक्किममा टोल–टोलमा स्वतन्त्रता दिवसको अवसर पारेर लातेभकुण्डो प्रतियोगिता भइरहेको छ।

बचाउँदै अध्यक्ष गुरुङ

एन्फा रेफ्री समितिका अध्यक्ष अध्यक्ष बुद्धिबहादुर गुरुङ शुरुमा नेपालका फिफा रेफ्रीले टोलकप खेलाइरहेको कुरा अस्वीकार गरे। ‘त्यहाँ टोलकप प्रतियोगिता खेलाइरहेको छ र?’ उनले प्रश्न गरे। पछि उनले स्वीकार गर्दै रेफ्रीले भारतमा प्रतियोगिता सञ्चालनबारेमा आफूले जानकारी पाएको बताए।

‘सम्बन्धको आधारमा साथीभाइकोमा गएर गर्ने भन्नेछ। सिक्किम साथीहरूसँगको घुम्न जाँदैछौँ। उहाँ गएपछि साथीहरुले अनुरोध गरे म्याच खेलाउँदिऊँ भनेपछि ओके गरिदिए’, उनले भने ‘अफिसियल मिल्दैन् साथीभाइसँगको सम्बन्धमा खेलाइदिएका हुन्। साथीभाइले घुम्न आउ भनेका रहेछन् र पछि खेलाए’ उनले व्यावसायिक रेफ्री खेपमा आकर्षित रहेको कुरा नकार्दै सम्बन्धका लागि मात्र खेलाइदिएको बताए। गुरुङले रेफ्रीको सुरक्षा र उनीहरूले पालना गर्नुपर्ने नियमबारे बोलेनन्। थाहाकर्मीसँगको कुरामा उनी पटक पटक साथीभाइको आग्रहमा खेलाएको मात्र बताइरहे।

आधिकारिक रूपमा पठाएको छैन : प्रवक्ता शाह

एन्फाका प्रवक्ता सुरेश शाहले फिफा रेफ्रीहरु टोलकप खेलाउन गएको बारेमा एन्फालाई आधिकारिक जानकारी नभएको बताए। ‘एन्फालाई आधिकारिक जानकारी छैन। एन्फासँग सम्बन्ध राखेर जानुभएको हैन। व्यक्तिगत सम्बन्धका आधारमा गएको हो भने थाहा भएन। अहिले नेपालमै यू–१६ लिग पनि चलिरहेको छ। निजी जीवनमा हस्तक्षेप गर्नु भएन तर उहाँको बारेमा छलफल हुनेछ’, शाहले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.