|

काठमाडौं : नेकपा माओवादी केन्द्रको पार्टी एकताको अभियान अलपत्र परेको छ।

एकता गर्ने भनिएका दलका कारण माओवादी केन्द्रको एकताको अभियानले गति लिन सकेको छैन। माओवादी केन्द्रको पाँच दिन बसेको केन्द्रीय कमिटी बैठकले पनि पार्टी एकताका विषयमा ठोस निर्णय गरेन। नेताहरूले आन्तरिक रूपमा विषय उठान गरे पनि एकताका विषयमा कुनै निर्णय नगरी बैठक सकियो।

संगठन सुदृढीकरण र आगामी निर्वाचन लक्षित बैठक पार्टीको आकार बढाउन पूर्व माओवादीहरूलाई एउटै कित्तामा उभ्याउने विषयमा भने मौन रह्यो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई ०६४ सालको आकारमा ल्याउने बताइरहेका छन्। यद्यपि त्यसका लागि ठोस कार्ययोजना अगाडि सार्न उनी स्वयं चुकिरहेका छन्। 

प्रचण्डले नेतृत्व गरेको पार्टी संसदीय यात्रामा प्रवेश गरेको १५ वर्षमै खुम्चिँदै सानो आकार​ सीमित भएको छ। प्रचण्डले पार्टीमा भएका नेताहरूको व्यवस्थापन गर्न नसक्दा त्यसवेला पाएको जनमत पनि जोगाउन सकेनन्।

०६५ यता एकपटक पनि सत्ता बाहिर नबसेको माओवादीको संगठन भने धुजाधुजा भएको छ। पहिलो संविधानसभा निर्वाचनमा ६०१ मध्ये २२९ सिट जितेको माओवादी ०७९ सालसम्म आइपुग्दा ३२ सिटसहित तेस्रो दलमा खुम्चियो। 

पहिलो संविधानसभासम्म माओवादीमा प्रभावशाली नेताहरूको लर्को थियो। १० वर्ष जनयुद्ध लडेका नेताहरू मूल पार्टी छोडेर हिँडेपछि अहिले प्रचण्ड एक्लिएका छन्। डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द र रामबहादुर थापा बादलसहितका नेताहरूले मूल पार्टी नै छोडेर गए। 

०६९ मा एमाओवादीमा मोहन वैद्य, रामबहादुर थापा बादललगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे। वैद्यको पार्टीमा पनि नेत्रविक्रम चन्दले फेरि पार्टी विभाजन गराए।

उनी २०७० मंसिरमा पार्टीबाट अलग भए। वैद्यको समूहबाट २०७३ मा रामबहादुर थापा, मणि थापाको अलग्गै क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृकाको नेकपा (माओवादी) लगायत छरिएका माओवादीबीच पुनः २०७३ मा पार्टी एकता भयो। पार्टीको नाम नेकपा माओवादी केन्द्र छ।

बाबुरामलाई बेवास्ता, विप्लवलाई ‘रेड कार्पेट’

अध्यक्ष प्रचण्डसहित चार दल मिलेर समाजवादी मोर्चा घोषणा भयो। उनीहरूबीच कार्यगत एकता गर्नेगरी मोर्चा घोषणा भयो। गत असार ४ गते चार दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा भयो।

सोही मोर्चालाई परिस्कार गर्दै पूर्वमाअ‍ोवादीहरूलाई पनि एक ठाउँमा ल्याउने घोषणा पार्टी प्रचण्डले गरेका थिए। समाजवादी मोर्चाको अवधारणा ल्याउने बाबुराम भट्टराईलाई बाहिर राखेर मोर्चा तयार भयो।  

जबकी समाजवादी मोर्चाको अवधारणा उनै भट्टराईले ल्याएका हुन्। ०७८ साउन २४ गते भट्टराईले समाजवादी मोर्चा गठन गर्न आह्वान गर्दै  स्टाटस लेखे। 

‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह : मान्छेले मान्छेमाथि गर्ने सबैखाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा कसरी पुगिएला? अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्ने कि?,’ उनले भनेका थिए। 

तर, अहिले आफ्नो अवधारणा चोरेर आफूलाई नै बाइपास गरेकोमा बाबुराम असन्तुष्ट छन्। नेपाल समाजवादी पार्टीका उपाध्यक्ष दुर्गा शोव समाजवादी मोर्चा र पार्टी एकतामा बहिस्कार गरिएको गुनासो पोख्छिन्। 

‘समाजवादी मोर्चाको अवधारणा बाबुरामले उठाउनुभएको थियो। देशको अवस्थालाई अध्ययन गरेर उहाँले अवधारणा ल्याइयो तर, उहाँहरूलाई नै बाइपास गरियो,’ उनले भनिन्। 

अध्यक्ष प्रचण्डले बाबुराम बाहेकको पार्टी एकता चाहेको नेसपाको बुझाइ छ। आफूहरूले पार्टी एकताका लागि लिखित दस्तावेज बुझाइए पनि त्यसलाई बेवास्ता गरिएको उपाध्यक्ष शोवले जानकारी दिइन्। 

‘पार्टी एकता विचार मिल्ने दलहरूसँग गर्ने हो। तर, हामीले चाहेर मात्रै भएन। माअ‍ोवादीमा लिखित प्रसताव दिएका थियौं। माओवादी केन्द्रीय कमिटीमा पनि यसबारे छलफल होला भन्ने थियो। यो विषयले प्रवेश पाएन,’ उनले भनिन्। 

स्रोतका अनुसार पछिल्लो समय प्रचण्ड र बाबुरामबीच सम्बन्धमा दरार आएको छ। समाजवादी मोर्चामा आफूलाई छुटाएपछि असन्तुष्ट बनेका बाबुरामले प्रचण्डको आलोचना गर्न थालेका छन्। गत असार १ गते बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भएको छलफलमा समाजवादी मोर्चा घोषणा गर्ने सहमति भएको थियो।

बाबुराम उपेन्द्र यादवलाई समाजवादी मोर्चामा सहभागी नगराउने शर्तमा बालुवाटारबाट छुटेका थिए। तर, ३ गते प्रचण्डले बाबुराम बाहेकका चार दलको बैठक बोलाए। साथै ४ गतेको घोषणा कार्यक्रममा समेत आफूहरूलाई जानकारी नगराएकोमा बाबुरामको असन्तुष्टि छ।

प्रचण्डको व्यक्तिगत रिसिइबीका कारण बाबुरामलाई वाइपास गरिएको माओवादी केन्द्रका नेताहरूको बुझाइ छ।

‘प्रचण्डले संसदीय अंकगणितका लागि फाइदा हेर्नुभयो। उहाँ क्षणिक फाइदा लिने व्यक्ति भएकाले पनि हामीलाई बाइपास गरिएको हुनसक्छ। तर, बाबुरामले निर्वाचन क्षेत्र छोडेर सहयोग गरेको गुन प्रचण्डले बिर्सिनुभयो। बाबुराम जस्ता व्यक्तिलाई सम्मानजनक रूपमा पार्टीमा भित्र्याउनुपर्नेमा बहिस्कृत गर्ने नीति ठिक भएन। किनकी हाम्रो पार्टी पनि संघर्षमा छ। अर्को चुनावमा के हुने भन्ने टुंगो छैन,’ माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले थाहाखबरसँग भने। 

यता प्रधानमन्त्री प्रचण्डले विप्लवलाई भित्र्याउन जोडबल गरिरहेका छन्। उनले विप्लवलाई महासचिव दिएर पार्टीमा भित्र्याउने तयारी गरिरहेको बुझिएको छ। ३४ वर्षदेखि निरन्तर पार्टीको नेतृत्व गरिरहेका प्रचण्डले आफू जीवनको उत्तरार्धमा रहेको बताउने गरेका छन्। 

‘म जीवनको उत्तरार्द्धमा छु, सरकारमा पनि राम्रो काम गरिरहेको छु, पार्टीलाई पनि लयमा ल्याएर विधि बमोजिम चल्ने पार्टी बनाएर नेतृत्व हस्तान्तरण गर्ने मेरो चाहना छ,’ केही दिन अगाडिको केन्द्रीय कमिटी बैठकमा उनले भनेका थिए। 

प्रचण्डले पार्टीको नेतृत्व लिनसक्ने नेता तयार नभएको बताउने गरेका छन्। उनले पार्टीको नेतृत्व गर्न सक्ने व्यक्ति विप्लवलाई हेरेका छन्। पार्टीमा आफ्नो उत्तराधिकारी नदेखेका प्रचण्डले पूर्वसहकर्मी विप्लवलाई भित्र्याएर जिम्मेवारी दिने तयारी गरेको माओवादी स्रोत बताउँछ। 

‘अध्यक्षज्यूले सार्वजनिक रूपमा नै योग्य नेता नभएकाले आफूले विश्राम नपाएको बताउने गर्नुभएको छ। त्यसका लागि उहाँले विप्लवजीलाई ल्याउने जमर्को गरिरहनुभएको छ। त्यो सम्भव भएको छैन,’ माओवादी केन्द्रका एक नेताले थाहाखबरसँग भने। 

माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बाबुराम नेतृत्वको नेकपा एसले वैचारिक रूपमा फरक मत राखेकाले पार्टी एकतामा समस्या उत्पन्न भएको बताए।

‘बाबुरामजीहरूसँग वैचारिक रूपले नाम परिवर्तन गर्नुपर्ने, कम्युनिष्ट नाम हटाउने विषयमा सबै साथीहरूलाई सहमत गराउनुपर्ने भएकाले समय लागेको हो। तातेको तेलमा पानी परेपछि उछिट्टिने डर हुन्छ। त्यसैले यता पनि त्यस्तै भएको हो,’ उनले भने। 

विप्लवजीहरूलाई ल्याउन बाबुरामलाई बेवास्था गर्नुभएको त होइन? भन्ने प्रश्नमा उनले थपे, ‘उहाँ हाम्रो सहयोद्धा कमरेड हो। उहाँहरूलाई बेवास्ता गरेको छैन। बाबुरामजीहरूले दिएको प्रतिवेदनमाथि अध्ययन गरिरहेका छौँ।’

तयार छैनन विप्लव

नेकपाका महासचिव विप्लव तत्कालै माओवादीमा फर्किहाल्ने मनस्थितिमा छैनन्। उनले आफ्ना केही शर्त प्रचण्डले स्वीकार गरेको खण्डमा माओवादीमा फर्किने तयारी गरेका हुन्।

विप्लव नेतृत्वको नेकपा तत्कालै माअ‍ोवादीमा फर्किहाल्ने मनस्थितिमा छैन। केन्द्रीय सदस्य अनिल शर्माले माअ‍ोवादीसँगको एकताका विषयमा पार्टीमा कुनै छलफल नै नभएको बताए। 

‘पार्टीमा यसबारे छलफल नै भएको छैन। एजेण्डा नै नभएको विषयमा हल्ला फिजाइयो। समाजवादी मोर्चा बनाएपछि पार्टी एकता भइहाल्छ भन्ने भ्रम पैदा भएको छ। यो माअ‍ोवादीले चुनावका लागि रचेको फण्डा मात्रै हो,’ उनले भने। 

माओवादीले संसदीय व्यवस्था अस्वीकार गरेर आए पार्टी एकता गर्न सकिने नेता शर्माको भनाइ छ। 

‘हामी संसदीय व्यवस्था अस्वीकार गरेर हिँडेका छौँ। माओवादीले संसदीय व्यवस्थालाई अस्वीकार गर्नुपर्छ। साथै जनयुद्धको उपलब्धि र प्राप्तिबारे पनि उहाँहरूले स्पष्ट पार्नुपर्छ। अनि मात्रै पार्टी एकताको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।  

के गर्दैछ माओवादी? 

माओवादी केन्द्रले पार्टी एकताका लागि गृहकार्य गरिरहेको बताएको छ। सचिव देवेन्द्र पौडेलले चाँडो भन्दा चाँडो नेसपा र नेकपालाई समेट्न गृहकार्य गरिरहेको र त्यसको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको सचिव पौडेलले जानकारी दिए। 

‘नेसपा र नेकपालाई समेट्ने गरी केन्द्रीय कमिटीमा छलफल भएको छ। यसको जिम्मा महराजीलाई जिम्मा दिइएको छ। नेसपाले बुझाएको लिखित प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने निर्णय भएको छ,’ उनले थाहाखबरसँग भने। 

अर्का सचिव दीनानाथ शर्मा पार्टीले दीर्घकाललाई हेरेर पार्टी एकताको मोडालिटी तयार गरिरहेको बताउँछन्। 

‘नजिता आउन समय लाग्छ नि! पार्टी एकताका लागि हामीले बृहत् छलफल गरिरहेका छौँ। एकता गरेर मात्रै भएन। पार्टीमा आउने साथीहरूको जिम्मेवारीलगायतका विषयमा पनि दीर्घकालीन रूपमा सोच्नुपर्ने छ। वैचारिक रूपमा टुंगो लगाएर एकता गर्नुपर्छ। नत्र ल्याएर मात्र जिम्मेवारीविहीन बनाउनु हुँदैन। त्यसैले केही समय ढिला भएको हो,’ शर्माले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.