|

संखुवासभा : जिल्ला कारागार संखुवासभामा बुधबार राति कुटपिटबाट दुई कैदीको मृत्यु भएको थियो। किटानी जाहेरीपछि शवको पोष्टमार्टम गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझेनन्।

प्रहरीको कुटपिटपछि बुधबार बिहान संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २७ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो। पीडित पक्ष र स्थानीय प्रशासनको सहमतिपछि आज (शनिवार) चार दिनपछि दुई कैदीको पोष्टमार्टम गरिएको छ।

पीडित पक्षसँग सहमतिपछि शनिबार दिउँसो पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए। पीडितले किटानी जाहेरी दिएका आधारमा कारागारमा खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेको नाम मात्र जिल्ला प्रहरी कार्यालयले शनिवार दिउँसो नाम सार्वजनिक गरेको छ।

अनुसन्धान टोलीले सिसिटिभी फुटेज बरामद गरे पनि घटनामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ गर्नु शंकास्पद रहेको पीडितको गुनासो छ। सिसिटिभी फुटेजका आधारमै कैदीलाई प्रहरीले कुटपिट गरेको तथ्य बाहिरिएको थियो। जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी लक्ष्मी चौधरी लगायतविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा आज उजुरी दर्ता गराएका छन्।

कारागारका निमित्त प्रमुख घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक चौधरीलगायत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी वीरेन्द्र गोदारले बताए।

घटनालगत्तै पीडित पक्षले विरोध गरेपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो। घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले शुक्रबारबाट छानबिन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.