|

काठमाडौं : काठमाडौं उपत्यकामा झाडापखालाका बिरामी देखिन थालेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पानीजन्य संक्रमण रोगसम्बन्धी फोकल पर्सन उपेन्द्र ढुङ्गानाका अनुसार पानी पर्न थालेसँगै काठमाडौैं उपत्यकामा झाडापखालाका बिरामी देखिन थालेको बताए।

'सामान्य तथा कुनै पनि स्वास्थ्य संस्थामा पाँच जनासम्म बिरामी भेटिए भने हामीलाई रिपोर्ट गर्ने प्रचलन छ, केही दिनयता उपत्यकामा झाडापखालाका केस रिपोर्ट हुन थालेको छ‚' ढुङ्गानाले भने। 

झाडापखालाको जोखिम बढेको हुँदा सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन पत्राचार गरिएको उनले बताए। झाडापखालाको जोखिम क्षेत्र हेरेर परीक्षण किट समेत पठाइएको ढुङ्गानाले बताए।

'बर्षातको मौसम छ यो समयमा खानेपानीको धेरै मुहान दूषित भइ झाडापखालाको संक्रमण फैलिन सक्ने जोखिम हुन्छ‚ त्यसैले सम्भावित जोखिम क्षेत्रका १४७ वटा स्वास्थ्य संस्थामा परीक्षण किटसमेत पठाएका छौं‚ काठमाडौंको हकमा भने सम्बन्धित स्थानीय तहलाई उच्च सतर्कता अपनाउन भन्नुका साथै हामीले समेत निगरानी गरिरहेका छौँ‚' ढुङ्गानाले भने। 

टेकु अस्पतालमा पछिल्लो केही दिनयता झाडापखालाका बिरामीसमेत बढ्न थालेको अस्पतालले जनाएको छ।

फोहोरमा भएका जीवाणुले सरुवा रोग लाग्ने सम्भावना धेरै हुने र दूषित खाना या पानीबाट मानिसमा सरुवा रोग हेपाटाइटिस ए र ई भाइरस दूषित खाना र पानी तथा फोहोरहरुमा बस्ने र ती जीवाणु शरीरमा प्रवेश गरेमा पनि हेपाटाइटिस सार्ने सम्भावना रहने हुँदा सतर्क रहनुपर्ने ढुङ्गानाको भनाइ छ।

गत वर्ष काठमाडौं उपत्यकामा झाडापखालाका साथै हैजाको समेत पुष्टि भएको थियो।

झाडापखाला बच्न के गर्ने

- सधैं पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिऔं,

- व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिऔं,

- बासी‚ सडेगलेका खानेकुरा नखाऔं,

- खानेकुरा छोपेर राखौं,

- काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाईमा विशेष ध्यान दिऔं

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.