|

विराटनगर : यति वेला कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार जोगाउने कसरत सुरु भएको छ।

कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलको राज्यमन्त्रीमा नियुक्ति पनि त्यसैको अंश हो भन्दा फरक पर्दैन। मण्डल थापा नेतृत्वको सरकारका कृषि राज्यमन्त्री आजै नियुक्त भएका हुन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

थापा नेतृत्वको सरकार जोगाउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएपछि प्रदेशसभा सभामुखविहीन छ। त्यसो त सभामुख गौतमलाई राजीनामा गराएसँगै सत्ता गठबन्धनलाई उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिने भय छ। उपसभामुख दनुवार नेकपा (एमाले)की सांसद हुन्।

यदि उपसभामुखलाई एमालेले राजीनामा गराए प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य मण्डलले गर्नुपर्ने बाध्यता आइलाग्छ। मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नुपरे सरकारले विश्वासको मत लिने समय बहुमत पुग्दैन।

मण्डल सत्ता गठबन्धन नेपाली काँग्रेसका सांसद हुन्। त्यही संवैधानिक बाधा र असहज परिस्थितिलाई पाखा लगाउँदै थापा नेतृत्वको सरकारले बहुमत जुटाउन सांसद मण्डललाई सरकारमा समाहित गरिएको हो।

 उपसभामुखको राजीनामाको कुरा भएको छैन : एमाले

नेकपा एमाले संसदीय दलका नेता रेवतीरमण भण्डारी उपसभामुखले राजीनामा दिने कुरा नै नभएको बताउँछन्। पार्टीले पनि उपसभामुखलाई राजीनामा दिने कुरा नगरेको बताउँदै उनले अहिले राजीनामा दिनु समाधान नभएकाले कानुन, नियम बमोजिम पूरा गर्ने बताए।

‘उपसभामुखले राजीनामा दिने कुरा गर्नुभएको छैन। पार्टीले उहाँलाई राजीनामा गर्नुस् पनि भनेको छैन। अहिले राजीनामा दिनु समाधान होइन। उहाँले आफ्नो जिम्मेवारी कानुन, नियम बमोजिम पूरा गर्नु होला, गर्नुहुन्छ नै’, उनले भने, ‘त्यसैले राजीनामा गर्नुस् भनेर हामीले औपचारिक ढंगले भन्न त मिल्दैन। उहाँ आफ्नो कार्यकाल भरी स्वतन्त्र हुनुहुन्छ तर अनौपचारिक ढंगले पनि हामीले भनेका छैनौं।’

सभामुख र उपसभामुखको राजीनामा दिलाउने र सरकार टिकाउनको पक्षमा उपयुक्त हो भन्ने पक्षमा नेकपा एमाले नभएको बताए।

यदि अन्तिम अवस्थामा पार्टीको निर्देशनअनुसार उपसभामुख दनुवारले राजीनामा दिइन् भने ज्येष्ठ सदस्यका आधारमा राप्रपाका अमर विष्ट, कांग्रेसका इस्राइल मन्सुरी लगायतका सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आउँछ।

राप्रपा एमालेसँगको गठबन्धनमा भएको नाताले राप्रपाले सरकार टिकाउने गठबन्धन दलको प्रयासमा सहयोग दिन्छ भन्नेमा पनि सत्ता गठबन्धन ढुक्क छैन।

चाँडै विश्वासको मत लिन्छु : मुख्यमन्त्री थापा

मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरूबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन्।

उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईंको शपथपछि सञ्चारकर्मीसँग आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्। मुख्य मन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरूबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिँदै विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने समेत बताए।

एमाले संसदीय दलका नेता भण्डारीले गठबन्धन दलले विश्वासको मत माग्ने क्रममा कारण, शर्त देखाएर आए विश्वासको मत दिने कि नदिने भन्ने विषयमा सकारात्मक छलफल गर्न तयार रहेको बताए। उनले भने, ‘माग्दै नमागी त दिइहाल्छौ भन्दै हिँड्न पनि भएन। हामीले त्यसैले उहाँहरूले शर्त, कारण र आधारसहित हामीसँग विश्वासको मत माग्नुभयो भने विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्न सक्छौँ।’

यस्तो छ संसद्को अंकगणित

प्रदेशसभामा नेपाली कांग्रेसका २९ सांसद छन्। गठबन्धनका अन्य दलहरू माओवादी केन्द्रसँग १३, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जनता समाजवादी पार्टीका एक सांसद छन्। ४७ जना संख्या पुग्ने गठबन्धनलाई यसअघि सभामुखको पद बहुमत पुर्‍याउन बाधक बनेको थियो।

साउन १६ मा मुख्यमन्त्री नियुक्त थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। प्रदेशसभा बैठक भदौ १ मा बस्दै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.