|

सुर्खेत : प्रकृतिकको अनुपन प्रदानको रुपमा रहेको डोल्पामा पछिल्लो समय घुम्न आउने विदेशी पर्यटकहरुको संख्या विगतको तुलनामा दोब्बरले बढेको छ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड डोल्पाका अनुसार गत आर्थिक वर्षको तुलनामा राष्ट्रिय निकुञ्ज वन क्षेत्रलगायत प्राकृतिक सम्पदाहरुको दृश्य अवलोकन गर्न आउने संख्यामा दोब्बरले वृद्धि भएको  हो।

आर्थिक वर्ष ०७९-०८० मा डोल्पा घुम्न आउने नेपाली पर्यटकमा १ सय १५ महिला ८७ पुरुष गरि २ सय २ जना थिए। सार्क मुलकबाट ३ जना महिला १३ जना पुरुष गरी १६ जना घुम्न आएका थिए।

यसैगरी, अन्य विदेशी पाहुनाहरुमा १ सय ६९ जना महिला र २ सय ४९ गरेर ४ सय १८ जना गरी ३ हजार ७ सय ८२ जना पर्यटक डोल्पा घुम्न आएको निकुन्जका अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार नेपाली नागरिक सार्कमुलकका नागरिक र विदेशी नागरिकवाट प्रवेश शुल्कबापत १६ लाख १२ हजार आठसय रुपैयाँ राजस्व संकलन भएको छ।

आर्थिक वर्ष ०७८–०७९ मा नेपाली १ सय ७३, सार्क मुलकका ३९ जना र अन्य विदेशी १ सय १७ गरेर ४ हजार ३ सय ७९ जना पर्यटकबाट रु ७ लाख पचासी हजार ६ सय राजस्व उठेको थियो। यो पर्यटक संख्या र राजस्व गत आवको भन्दा दोब्बरले बढी हो। निकुञ्जले डोल्पा घुम्न आउने नेपाली नागरिकलाई प्रवेश शुल्कबापत प्रतिब्यक्ति १ सय रुपैयाँ सार्क मुलुकका नागरिकवाट प्रति ब्यक्ति १ हजार पाँचसय रुपैयाँ र अन्य विदेशी नागरिकबाट प्रति ब्यक्ति ३ हजारका दरले प्रवेश शुल्क उठाउने गर्छ।

विगतका वर्षहरुमा जिल्ला प्रवेश गर्ने पर्यटकहरुको अभिलेख राख्ने कार्य ब्यवस्थित नभएकाले कुन देशका के–कति नागरिक डोल्पा भित्रिएका छन भन्ने एकिन तथ्यांक  थिएन।

भर्खरै निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको सुलिगाडस्थित ब्यारेक नजिक भिमपुलमा सेना र निकुन्जको संयुक्त चेकजाँच काउन्टर (पोष्ट) स्थापना गरी एकिकृत अभिलेख राख्ने कार्य शुरु गरिएको निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रामवाण गुल्मका गुल्मपति ध्रव कार्कीले बताए।

५ क्विन्टल ८५ किलो यार्सा निकासी

आर्थिक वर्ष २०७९÷०८० मा डोल्पाबाट ६ क्विन्टलको परिमाणमा जडीबुटी यार्सागुम्बा निकासी भएको छ। ६ क्विन्टलको परिमाणमा यार्सागुम्बा जिल्लाबाहिर निकासी भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष ०७९÷०८० मा दण्डजरिमाना लगायत बिबिधबाट रु ३ लाख ६० हजार ३७३ , जडीबुटी र पर्यटनबाट रु २ करोड २४ हजार २६९ गरी जम्मा २ करोड ३ लाख ८४ हजार ६४२ रुपैयाँ निकुन्जले राजस्वस्वरुप उठाएको छ। अघिल्लो वर्ष भन्दा यो आर्थिक वर्षमा ३५ प्रतिशत राजस्व उठेको भण्डारीले बताए। निकुन्जले मात्र २४२ केजी यार्सागुम्बा निर्यातको अनुमति दिएको छ।

त्यस्तै, गरी डिभिजन वन कार्यालयबाट तीन सय ४३ केजी २५५ ग्राम यार्सागुम्बाको छोडपुर्जीबापत एक करोड ६४ लाख ८९५ रुपैयाँ उठेको छ। यसैगरी, सेतकचिनि कुटिक पदमचाल गुच्चिच्याउ लगायतका अन्य जडीबुटीको छोडपुर्जीबाट ६ लाख ३९ हजार ५५५ गरी कुल एक करोड १२ लाख ८० हजार ४४७ रुपैयाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईंले जानकारी दिए। नेपाल सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपैयाँ तोकिएको छ।

 डोल्पा पुगेर कहाँ कहाँ घुम्ने?

डोल्पा कठिन भूबनोट भएको पर्यटकीय थलो हो। फोक्सुण्डो ताल यहाँको विशेष आकर्षण हो। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने ६५० मिटर गहिरो ताल समुद्री सतहबाट ३ हजार ६६० मिटर उचाइमा अवस्थित छ। गाढा नीलो यो तालबाट निकास भएको पानीबाट निर्मित फोक्सुण्डो झरना यहाँको अर्को आकर्षण हो।

पदयात्राप्रेमी पर्यटकमाझ प्रिय छ, डोल्पा ! फोक्सुण्डो ताल पदयात्रा , अपर डोल्पा सर्किट, शे गुम्बा, विश्वकै उच्च स्थानमा रहेको मानव बस्ती ‘धो’ र डोल्पा–मुस्ताङ पदयात्रा गरी तीन वटा पदमार्ग छन्।

डोल्पाबाट काञ्जीरोवा, पुथा, धौलागिरी दोस्रो लगायतका हिमाल अवलोकन गर्न सकिन्छ। प्राकृतिक सौन्दर्यसँगै कला र संस्कृतिका हिसाबले पनि डोल्पा धनी छ। माथिल्लो डोल्पामा सयौं वर्ष पुराना गुम्बाहरू छन। रोकाय, बुढा, ठकुरी, गुरुङ, लामा, क्षत्री, ब्राहमणलगायत जातिको विविध संस्कृति र रहनसहन नियाल्न पाउनु डोल्पा यात्राको थप विशेषता हो। फ्रान्सका फिल्ममेकर एरिक भ्यालीले डोल्पाको विकट भूगोल र जीवनशैलीलाई विषय बनाएर ‘क्याराभान’ (१९९९) फिल्म बनाएपछि यो क्षेत्रले विश्वमा ख्याति कमायो।

फ्रेन्च फिल्ममेकरकै साइनोका कारण होला, डोल्पा पुग्ने विदेशी पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च हुने गर्दछन्। पछिल्लो समय आन्तरिक पर्यटक पनि आउन थालेको डोल्पाका पर्यटन व्यवसायी जितेन्द्र झाँक्री बताउनुहुन्छ। नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलसम्म हवाई यात्रापछि पदयात्रा शुरु हुन्छ। त्यस्तै भेरी करिडोर मार्फत स्थल मार्ग मार्फत पनि डोल्पा जान सकिन्छ। भेरी करिडोरको पुरै लम्वाई ३१० किलोमिटर रहेको छ। आर्थिक समृद्धिको आधार पर्यटन उद्योग हो।

 प्राकृतिक र भौगोलिक बनावटले डोल्पा पर्यटनको अथाह सम्भावना भएको जिल्ला हो। सांस्कृतिक रुपमा पनि डोल्पा धनी छ। तर, सडक सञ्जालको गतिलो पहुँच नहुँदा डोल्पाको पर्यटन क्षेत्रमा चाहे जसरी काम हुन सकेको छैन। डोल्पा मात्र नभएर मुलुकभरकै प्राकृतिक स्रोत र साधनबाट राज्यले लाभ लिन सकेको छैन।

डोल्पा विश्वकै अग्लो स्थानमा रहेको मानव वस्ती धो–छार्का जाने पदमार्ग पनि हो। यसलाई प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सकियो भने आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ। डोल्पाको प्रवेश गर्नबित्तिकै बाला त्रिपुरासुन्दरीको मन्दिर यहाँको सबैभन्दा ठूलो आकर्षण हो।

त्यस्तै शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। डोल्पा र मुगु जिल्लामा फैलिएको छ। नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ। यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन्।

त्यस्तै फोक्सुन्डो ताल,छार्का–धो ताराप ,सालदाङ्ग– विजेर क्षेत्रका हिउँ चितुवा अवलोकन गर्ने पदयात्रा मार्ग,छार्का क्षेत्रका नाउर र झारल अवलोकन गर्ने यात्रासमेत रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.