|

काठमाडौं : वीरगञ्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ। 

महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगञ्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहोर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहोर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दिन मियाँले जानकारी दिए।

‘जथाभावी फोहोर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहोर फाल्ने क्रम रोकिएको छैन’, उनले भने, ‘जरिवाना गर्दा फोहोर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फोहोर फाल्नेलाई जरिवानामात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ ।’

सरसफाइ शाखा प्रमुख मियाँका अनुसार हालसम्म जथाभावी फोहोर फ्याँक्ने ५७५ व्यक्ति र संस्थाबाट महानगरले १७ लाख ५४ हजार जरिवानावापत राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७९/८० मा जरिवानाबाट १५ लाख ३६ हजार तथा चालु आव २०८०/८१ को साउनमा जरिवानावापत दुई लाख १८ हजार राजस्व संकलन भएको छ ।

‘घर, पसल र कार्यालयबाट निस्किने फोहोर जताततै फ्याँक्ने स्थानीयमा प्रवृत्ति छ’, उनले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहोर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान शुरु गरेका छौँ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ।
 
 सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको १ देखि ३२ वटै वडामा वीरगञ्ज स्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६  जेठ २ सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ।

बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ भइरहेको छ । नालाको सरसफाइ महानगर आफैँले गर्छ भने सडकको सरसफाइ साझेदार संस्था पृथी तारा एनके इन्टरनेसनल जेभीले गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.