|

काठमाडौं : नेकपा एमालेमा स्थायी कमिटी सदस्य मणि थापाको खोजी सुरु भएको छ। तत्कालीन नेकपा विघटन भएर एमाले र माओवादी ब्यूँतिएपछि थापा एमालेमै बसेका थिए।

चितवनमा भएको एमालेको १० ‍औं महाधिवेशनपछि उनलाई स्थायी सदस्यको जिम्मेवारी दिइएको थियो। तर, पार्टीको जिम्मेवारीमा सक्रिय नभएको विषयमा केही दिनअघि बसेको एमाले सचिवालय बैठकमा समेत उनको चर्चा भएको थियो।

खासमा थापा किन निष्क्रिय छन्? अर्को पार्टीमा प्रवेश गर्दै हुन्? एमालेको पछिल्लो गतिविधिबारे उनको टिप्पणी के छ भन्ने विषयमा थाहाखबरले कुराकानी गरेको छ। प्रस्तुत छ उनीसँग कुराकानीको सम्पादित अंश : 

तपाईं पार्टीमा किन निष्क्रिय हुनुभएको ?

पार्टीहरूमा बिदा लिएर बस्ने चलन रहेको छ। व्यक्तिगत काम गर्ने चलन पनि छ। आफ्नो अध्ययन चिन्तनमा म सक्रिय नै छु। पार्टीगत रुपमा भने सक्रिय नभएकै हो। किनभने बिदामा बसेकाले आधिकारिक रुपमा पार्टीगत निष्क्रियता भन्न अलिक मिलेन।

तपाईं बिदा भन्नुहुन्छ, पार्टीले तपाईँलाई खोज्ने भन्दैछ त? 

खोज्ने भन्ने शब्द त मिडियाले बनाएको समाचार हो। मेरो बिदाको स्थिति के भइरहेको छ भन्ने कुरा पार्टीले चासो राख्नु स्वाभाविक नै हो। सामान्यतया सबै नेतासँग मेरो छलफल भइरहेको छ नै। म अहिले पनि पार्टीको सम्पर्कमा नै छु। 

विप्लवको पार्टी नेकपामा प्रवेश गर्ने हल्ला चलिरहेको छ नि? 

विप्लवजीसँग मेरो पुरानो सम्बन्ध हो। विप्वलजीको वा अन्य पार्टीमा प्रवेश गर्ने कुरा अहिले तत्काल केही त्यस्तो बनेको छैन। अर्को मिटिङसम्म मैले पार्टीको कुन पोजीशनमा छु भन्ने कुरा जानकारी गराउँछु भनेकै छु। अस्तिको बैठकपछि मैले महासचिवसँग कुराकानी गरेको छु। बिदा सकिएपछि पार्टीमा मेरो पोजिशन के हुने भन्ने कुरा स्पष्ट पार्छु भनेकै छ। सम्बन्ध त सबै पार्टीसँग राम्रै छ मेरो। 

पूर्वमाओवादी भएकाले एमाले पार्टीमा अलि असहज भएको हो? 

पूर्व माओवादी भएकाले मणि थापालाई मात्र असहज भएको छ भन्ने कुरा होइन। स्कुलिङको समस्याहरू छ। एमाले र माओवादीको स्कुलिङ नै फरक छ। नेपालको कम्युनिष्ट आन्दोलनमा बाम संकिर्णता छ। आफ्नो स्कुलिङलाई नै पैरवी गर्ने खालको छ। आफ्नै स्कुलिङ सही छ भन्ने परम्परा छ। 

स्कुलिङको कारण हामीलाई कामको स्पीड नमिल्ने, तर्कहरू नमिल्ने, मूल्यांकनहरू नमिल्ने। विश्लेषण नमिल्ने कुरा स्वाभाविक भइहाल्यो। त्यसो त पुरानै एमालेमा पनि धेरै गुटहरू छन्। अरू वामपन्थी आन्दोलनका पनि आफ्नै समूहहरू छन्। त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा चाहिँ पार्टीमा उदासिनता छ। 

स्कुलिङ फरक छ भन्ने कुरा मणि थापालाई पहिले थाहा थिएन र? 

नेकपा बन्यो,फेरि फुट्यो। नेकपाको निरन्तरता एमाले भनेर परिभाषित गरियो। त्यो नेकपाको परिभाषा अन्तर्गत वामपन्थीको नयाँ ध्रुवीकरण गर्नका लागि हामी एमालेमा गयौं। हामीले अलिक नयाँ एमाले खोज्यौं। तर एमाले पुरानै लयमा गयो। उसको स्कुलिङमा परिवर्तन आएन। त्यहाँ हाम्रा विमतीहरू रहे। 

पूर्वमाओवादी रामबहादुर थापा, लेखराज भट्ट त एमालेमा सक्रिय नै हुनुहन्छ त?​

मणि थापा अलिकति सैद्धान्तिक विषय उठाउने मान्छे हो। विचारलाई प्राथमिकता दिएर रूपान्तरणलाई प्राथमिकता दिएर पार्टी विसंगतीहरू अलि जोडले नै उठाउनुपर्छ र पार्टी जनताको समस्याबाट भाग्नु हुँदैन भन्ने वैचारिक रुपमा जनप्रिय भुइँका मान्छेका कुरा उठाउने कुरा भएकाले विचारबाट हल हुनुपर्छ भन्ने लाग्छ।

कतिपय साथीहरूलाई पदबाट हल हुनुपर्छ भन्ने लाग्छ। कसैको व्यवस्थापनबाट हल हुनुपर्छ भन्ने लाग्छ। सबैलाई मिलाएर लगेन भने एमालेमा समस्या आइरहन्छ। 

केपी ओलीले मन्त्री बनाइदिएको भएर मात्र तपाईं एमालेमा बस्नुभएको हो ?

मैले भनिहाले नि! नयाँ एमाले भएन। त्यो माओवादीमा पनि लागू भएको छ। माओवादी एक्काइसौं शताब्दीको जनवादमा फर्क्यो। एमाले बहुदलीय जनवादमा नै फर्क्यो। तर हामीले चाहिँ जनताको जनवाद हुँदै समाजवादमा जाने कार्यनीति बनाएका थियौं। त्यसमा कोही पनि अडिएनन्। हामी त्यहाँ अडिन खोजेका थियौं। 

एकवर्ष अगाडि तपाईंले एमाले ‘दक्षिणपन्थी भयो’ भनेर दिएको अभिव्यक्तिका कारण तपाईंलाई भूमिकाविहीन बनाइयो भन्ने पनि छ नि? 

त्यो त सैद्धान्तिक रुपमा बोलिएको कुरा थियो। हामीले वामपन्थीको खोजी गर्ने हो भने नयाँ तरिकाले गर्ने हो। क्लासिकल मार्क्‍सवादबाट हेर्ने हो भने नेपालका सबै वामपन्थी पार्टीहरू दक्षिणपन्थी हुन्।

नेपालकै आँखाबाट हेर्ने हो भने यी सबै वामपन्थी हुन्। देश अहिले पनि अस्थिरतातर्फ गइरहेको छ। अझै पनि जनताको हकअधिकारको कुरा गरिरहेका छौं। त्यो भाषणमा सैद्धान्तिक अवधारणाबारे बोलिएको थियो। अहिले यो सानो कुरालाई ठूलो बनाउने समय सन्दर्भ छ।

त्यही भाषणको कारण म भूमिकाविहीन बने भन्ने कुरा होइन। अध्यक्ष ओलीसँग मेरो सम्बन्ध बिग्रियो भन्ने पनि होइन।  एमाले नयाँ बन्यो कि बनेन भन्ने कुरा छलफलमा भइ नै रहेको थियो। तर, यही कुराले नै भूमिकाविहीन भएको भन्ने कुरा गलत हो। 

एउटा राजनीतिज्ञ चुनाव र पार्टीले संगठन निर्माणका लागि संचालन गर्न बनाएको ग्रासरुट अभियानका दौरान बिदा बस्नु सान्दर्भिक हुन्छ?

चुनावपछि ग्रासरुटको के अर्थ हुन्छ र? कार्यक्रमका  लागि कार्यक्रम गरे जस्तो छ। 

तपाईं भूमिका नपाएर बिदामा बसेको कि बिदामा बसेकाले भूमिका नपाएको? 

एमालेले भूमिका नै दिएन भन्ने कुरा होइन। असन्तुष्ट पनि होइन। केही मूल्य र मान्यतामा र वैचारिक कुराको सम्बोधन नभएको कुरा चाहिँ हो। 

एमाले अहिले गरिरहेको संसद् अवरोधबारे तपाईँको प्रतिक्रिया के हो? 

अहिले संसद्मा जसरी एमालेले ह्याण्डलिङ गर्नुपर्थ्यो, जसरी सम्बोधन गर्नुपर्थ्यो त्यो देखिएन। संसद् जनताको आवाज सुनाउने थलो नभएर पार्टी झगडा र इगो साँध्ने थलो भइरहेको छ। 

एमालेले रचनात्मक, सिर्जनात्मक रुपमा संसदमा आफ्नो उपस्थिति देखाउनुपर्थ्यो। एमाले र कांग्रेस संसदीय व्यवस्थामा अभ्यस्त पार्टी हुन्। संसदमा पार्टीको इमान्दारिता देखाउन जरुरी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.