|

पर्वत : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन ८ गते आएको बाढीबाट पीडित भएकालाई मुस्ताङकै ठिनी गाउँ समाजले आर्थिक सहयोग गरेको छ।

बाढीबाट ४२ वटा घरमा पूर्ण तथा आंशिक क्षति सहित पशुगोठ लगायतका भौतिक संरचना भत्किँदा बाढीपीडित समस्यामा परेका छन्।

काग खोलामा आएको बाढी कालीगण्डकी नदीमा मिसिँदा उर्लिएर आएको नदीको बारेमा थाहा पाएर समयमै सुरक्षित स्थानमा सर्न पाएकाले मानवीय क्षति नभए भए पनि कागबेनीमा करोडौँ रुपैयाँको भौतिक क्षति भएको छ।

बाढीपीडितहरूको दुःखमा मल्हम लगाउन कतिपय मुस्ताङवासी कागबेनी पुगेर जनश्रमदान गर्दै बाढी पसेका घरहरूको मर्मत गरेर बस्न योग्य बनाउने प्रयास गरिरहेका छन् भने कतिपयले आर्थिक सहयोगको अभियान चलाइरहेका छन्।

सोही क्रममा घरपझोङ गाउँपालिका–५ मा पर्ने ठिनी गाउँका बासिन्दाले पाँच लाख १२ हजार ११५ रुपैयाँ सहयोग गरेका छन्। कागबेनी बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने भए पनि घरपझोङको ठिनी गाउँका बासिन्दाले कागबेनीको पीडा सबै मुस्ताङवासीको भएको भन्दै ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान चलाएर उक्त रकम संकलन गरेका हुन्।

उक्त कोषमा ठिनी गाउँ समाज कोषबाट एक लाख रुपैयाँ, ठिनी आमा समूहबाट ५० हजार रुपैयाँ, जनमुक्ति युवा क्लब ठिनीबाट ५० हजार, कुछपतेरङ्गा गुम्बा ठिनीबाट ५० हजार रुपैयाँ, ठिनीवासीको व्यक्तिगत सहयोगमा दुई लाख ५७ हजार ११५ रुपैयाँ तथा स्थानीय सञ्जय थकालीले वडा नं. ४ का अध्यक्ष कर्म घ्याचोको खातामा जम्मा गरेको पाँच हजार रुपैयाँ गरी उक्त रकम बुझाएको ठिनी गाउँका मुखियाले जानकारी दिएका छन्।

कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने काग खोलामा पहिरो झरेर थुनिएपछि एकाएक आएको बाढीले आसपासमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले स्थानीयको घर, पसल, होटेल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगाएको थियो।

सायदै वर्षा हुने मुस्ताङमा हिम पहिरोका घटना हुने भए पनि खोलामा बाढी आउने कुरा स्थानीयले परिकल्पना गरेका थिएनन्। साँझ करिब सात बजे आएको बाढीले विध्वंस मचाएको हो। समयमै सूचना पाएका कारण मानवीय क्षति नभए पनि जोगिएका मान्छेहरूलाई गासवासको समस्या भएको छ। घरसहित बन्दोबस्तीका सामान खोलाले बगाएपछि कागबेनीवासी समस्यामा छन्।

पीडित कागबेनीवासीले जनश्रमदान र आर्थिक सहयोगको अनुरोध गर्दै कम्तीमा पनि बसाइलाई सजिलो बनाउने गरी पुनर्निर्माणका लागि लागेका छन्। पुनःस्थापनाका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, स्थानीय तह, जिल्ला समन्वय समिति लगायतले पनि सघाइरहेका छन्।

बाढीपीडितहरूको पुनःस्थापना, उनीहरूलाई दिनुपर्ने राहत, बन्दोबस्तीको व्यवस्थापन लगायतका लागि गाउँपालिकाले आर्थिक सहयोगका लागि सबैमा अनुरोध गरेको छ। राहत तथा उद्धार कार्यमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार, मातहतका निकाय लगायत सबै सरकारी तथा गैरसरकारी सङ्घ संस्था, देश विदेशमा रहेका नेपालीमा अनुरोध गरिएको छ।

कागबेनी गाउँको बीचबाट बग्ने काग खोलामा एक्कासि आएको अकल्पनीय बाढीले कागबेनीका २९ वटा घर पूरै क्षतिग्रस्त भएका छन् भने १३ वटा घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ। दुई पाङ्ग्रे १६ वटा र चार पाङ्ग्रे दुईवटा गरी १८ वटा सवारीसाधन, एउटा एस्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेवल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुङ्गे पुल, तीनवटा काठे पुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका छन्।

यसैगरी गाउँपालिकाको वडा नं. ४ को कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्र समेत बगाएको छ। बाढीले कागबेनीका स्थानीय बासिन्दाको भौतिक संरचनामा भएको विध्वंसले करोडौँ रुपैयाँको क्षति भएको गाउँपालिकाले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.