|

विराटनगर : भनिन्छ तनको आकर्षणभन्दा मनको आकर्षणमा प्रेम झाँगिँदै जान्छ। तर विश्वास र भरोसाले तन र मन दुवै प्रेमीलाई सुम्पिएर माया गरेकी एक युवती (नाम नखुलाउने शर्तमा) को जीवनमा भने प्रेमको परिभाषा नै बदलिएको छ।

उनी दुई वर्षदेखि भोजपुर हतुवागढीका गोविन्द राईसँग प्रेममा परेकी थिइन्। त्यसो त  उनले आफ्नो गोविन्दलाई मन मात्रै दिइनन् भरोसाले तनसमेत सुम्पिदिइन्। त्यही प्रेमिल सम्बन्धबाट गर्भवती बनेकी उनी अहिले न्यायको ढोका ढकढक्याउँदै प्रहरीसमक्ष पुगेकी छिन्।

उनी गर्भवती भएपछि उनको प्रेमी गोविन्दले पटकपटक गर्भपतन गर्न दबाब नदिएको पनि होइन तर ती युवतीले भने गर्भपतन नगर्ने विवाह गरेर बच्चा जन्माउने अडान राखेकी थिइन्।  

सोहीअनुसार विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा प्रसूतिका लागि भर्ना भएर सन्तान जन्मिएलगत्तै अस्पतालबाटै उनको नवजात शिशु गायब भएको छ। उनले सकुशल स्वस्थ्य शिशुलाई जन्म दिएकी थिइन्।

नवजात अस्पतालबाट नै गायब भएपछि आफ्नो प्रेमी र डाक्टरको मिलेमतोमा शिशु गायब गरिएको भन्दै उनले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छन्।

उनले साउन ३२ गते जाहेरी दिएकी हुन्। ती युवतीको जाहेरीअनुसार प्रहरीले प्रेमी गोविन्द र उपचारमा संलग्न डाक्टर तपेश्वरलाल कर्णलाई पक्राउ गरेको छ।

ग्रिनक्रस अस्पतालमा ती युवती र प्रेमी गएको र प्रसूती गरिएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बताए।

‘उहाँहरु ग्रिनक्रस अस्पतालमा गएको देखिन्छ, डेलिभरी गरिएको देखिन्छ,’ उनले भने, ‘तर नवजात शिशु कहाँ छ भन्ने ट्रेस भइसेकेको छैन।’

पीडित युवतीको उपचारमा खटिएका डाक्टर कर्ण बिरामी भएर अस्पताल भर्ना भएका कारण थप विवरण आउन बाँकी रहेकोसमेत प्रहरीले जनाएको छ।

ती युवतीले नर्मल डेलिभरीबाटै छोरी जन्माएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार गोविन्दले पहिले आफ्नी प्रेमिकालाई प्रसूतिका लागि ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लगेका थिए।

उक्त क्लिनिक डा. कर्णको हो। डा. कर्णले ती युवतीलाई ग्रीन क्रस अस्पतालमा भर्ना गर्न भनेका थिए। सोहीअनुसार युवतीलाई गोविन्दले ग्रिनक्रस अस्पतालमा भर्ना गरेका थिए।

त्यसो त गोविन्दले  प्रहरीलाई आफूले शिशु नलिएको बयान दिएका छन् तर अस्पताल प्रशासनले भने अभिभावकलाई नै शिशु जिम्मा लगाएको दाबी गरेको छ।

अस्पतालले व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ। अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन्।

ती युवतीले भने आफू बसेको होटलको नामसमेत थाहा नपाएको उल्लेख गरेकी छन्। इटहरीस्थित होटलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको युवतीले प्रहरीलाई बताएकी छन्।

बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको उनको आरोप छ।

पक्राउ परेका गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ। डा कर्णविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.