‘घरजस्तै भवन पायौँ’

|

तुलसीपुर : कारागार कार्यालय तुलसीपुर, दाङका महिला कैदीहरूलाई महिला बन्दीगृहको नयाँ भवनमा सारिएको छ। यसअघि पुरानो भवनमा रहेका कैदीलाई बिहीवार नयाँ भवनमा सारिएको हो। अबदेखि नयाँ भवनमा बस्न पाउने भएपछि आफूहरू धेरै खुशी भएको महिला कैदीकी मुख्य नाइके रुक्सा राईले बताइन्।

आफू विगत ५ वर्षदेखि यही कारागारमा बस्दै आएको भन्दै उनले पुरानो भवनमा बस्दै निकै समस्या पाएको समेत बताइन्। उनले भनिन्, ‘आजदेखि नयाँ भवनमा बस्न पाउँदा धेरै खुशी लागेको छ। पहिला ३ वटा कोठामा सबै दिदीबहिनी बस्थ्यौँ। आज घर जस्तै पाएका छौँ।’

उनले आफूहरूले नयाँ भवन पाएको भन्दै अब सीपको व्यवस्था भए राम्रो हुने समेत बताइन्।

उनले भनिन्, ‘हामी यहाँ बस्दा हाम्रो समय त्यत्तिकै बितिरहेको हुन्छ। केही सीप सिक्ने अवसर पाएमा भोलिका दिन हामी बाहिर गएपछि केही गर्न सक्थ्यौँ। त्यसैले अब हामीलाई कुनै पनि सीप आवश्यक छ।’

यस्तै उनले कारागार प्रशासनबाट पनि राम्रो सहयोग पाउने गरेको बताइन्। यसअघि ३ वटा कोठामा मात्रै ४९ जना महिला कैदीबन्दी र ३ जना आश्रित बालबालिकाका बस्दै आएका थिए। कैदीहरूलाई पुरानो भवन साँघुरो र बस्न अप्ठेरो हुने गरेको थियो।

भवनको उद्घाटन

महिला बन्दी गृहको नयाँ भवनको दाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले उद्घाटन गरेकी हुन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले आफूहरू अनुगमनमा आउँदा महिला कैदीलाई बस्न निकै समस्या थियो।

उनले भनिन्, ‘यहाँ विभिन्न कारणले गर्दा आउनु भएको छ। यसलाई हामीले सुधार गृहका रूपमा लिनु पर्छ। तीनवटा कोठामा त्यति धेरै बस्दा उनीहरूले निकै समस्या भोगेका थिए। अब सहज तरिकाबाट सुत्न र बस्न मिल्नेछ।’

उनले कारागारमा आउनेहरूले विगत भुलेर आफ्ना बानी व्यवहार सुधार्नुपर्ने समेत बताइन्। अहिले कारागारमा रहँदा समाजले फरक दृष्टिले हेर्ने गरेको भन्दै उनले यहाँ बस्दासम्म कुनै न कुनै सीप सिकेर समाजको त्यो दृष्टिलाई बदल्नुपर्ने सुझाव दिइन्। कारागारभित्र बसेर आफ्नो समय खेर नफाल्न समेत उनले आग्रह गरिन्।

१८ कोठे भवनमा ८५ जनासम्मको क्षमता

लुम्बिनी प्रदेश सरकारको ३ करोड ८८ लाख ७ हजार ६९० रुपैयाँमा १८ वटा कोठाको ८५ जनासम्म कैदीलाई राख्न नयाँ भवन निर्माण भएको हो। कारागारका जेलर चिन्तामणि रेग्मीका अनुसार प्रशंसा कन्स्ट्रक्सन धनगढीसँग २०७८ साउन २५ गते सम्झौता भई २०८० भदौ १ गते सक्ने गरी सम्झौता भए पनि असार मसान्तभित्रै उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो।

महिला कैदीहरूले नयाँ भवनमा सरेसँगै आधारभूत आवश्यकता पूरा भएको समेत उनले बताए। उनले भने, ‘गास, वास, कपास गरी ३ वटा आवश्यकता हुन्छ। आजबाट वासको व्यवस्थापन पनि राम्रो तरिकाले भएको छ। कार्यालयले खानपान र लत्ताकपडाको व्यवस्था गर्दै आएको छ।’

सुविधा सम्पन्न महिला मन्त्री भवन पाएको भन्दै उनले यो भवनमा सर्नु मात्र ठूलो कुरा नभएको भन्दै उनले यहाँको बसाइ सहज बनाउन समेत आग्रह गरे। पुराना भवनलाई दुई भागमा बाँडेर महिलालाई एकातिर राखेको अवस्थामा त्यहाँको बसाइँ निकै कष्टकर रहेको उनको भनाइ छ।

उनले भने, ‘म नियमित रूपमा भेटघाटका लागि जाँदा एउटै प्रश्न आउँथ्यो। हामी नयाँ भवनमा कहिले सर्ने? त्यो प्रश्नको जवाफ आज आएको छ।’ उनका अनुसार दाङमा तुलसीपुरमा मात्र महिला बन्दीगृह भएकाले थुनुवा र कैदीहरू गरी दुवै खालका महिलाहरू हुने गर्छन्।

थुनुवा र कैदीलाई राख्ने कोठाहरू अलग राख्नुपर्ने कानुनी व्यवस्था रहेको समेत उनको भनाइ छ।

तुलसीपुर कारागारमा महिला र पुरुषका लागि छुट्टाछुट्टै भवन निर्माण गरिएको छ। कारागारमा हाल ४७७ पुरुष, ४९ जना महिला, ३ जना आश्रित बालबालिका, १४ जना विदेशी कैदी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.