|

काठमाडौँ : आज काठमाडौँमा नेताहरुको फरक दृष्य देखियो। सधैँ राजनीतिक खिचातानीमा अल्झिरहने नेताहरु आज देउडामा रमाए। उनीहरुले देउडा नाचेर गौरा पर्व मनाएका छन्। 

सो अवसरमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा, एमाले नेता डा रावललगायतले देउडा खेलेका थिए। त्यहाँ परराष्ट्रमन्त्री एनपी साउद, नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतको उपस्थिति थियो।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाले आजैका दिन गौरा पर्व मनाउने र देउडा खेल्ने प्रचलन छ। 

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिने विश्वास दिलाएका छन्।

गौरा पर्व २०८० का सन्दर्भमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने विषयमा मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिए। उनले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने विषयमासमेत आफू सकारात्मक रहेको बताए।

सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। उनले गौरा पर्वको अवसरमा राष्ट्रिय बिदा दिनका लागि तिथि तय गरी आउन सुदूरपश्चिम प्रदेशका नागरिकलाई आग्रहसमेत गरे।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन प्रधानमन्त्रीसमक्ष माग गरे। यस पर्व नेपालको सुदूरपश्चिम र कर्णालीका साथै भारतको उत्तराखण्डका केही भागमा समेत मनाउने प्रचलन रहेको उल्लेख गर्दै उनले यसको महत्वलाई स्थापित गर्न आवश्यक रहेकोमा जोड दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.