|

दाङ : तुलसीपुरको ४ सय बढी मुक्त कम्लहरीहरूले जग्गा भाडामा लिएर सामूहिक रुपमा जिल्लामा लोपोन्मुख हुन लागेको स्थानीय जातको तिल्की धान खेती गरेका छन्।

सरकारले मुक्त कमैया घोषणा गरेपछि उनीहरूले जीविकोपार्जनका लागि शुरुमा साविक तुलसीपुर ९ का २५ जना मुक्त कम्लहरीहरूले गन्यारी कृषि सहकारी संस्था २०६६ सालमा स्थापना गरे।

 पछि तुलसीपुर उपमहानगरपालिका भएपछि वडा नं। १, ३ र ५ वडा बाहेक अन्य १७ वटा वडाहरू मुक्त कम्लहरीहरू सहकारीमा आबद्ध रहेको संस्थाकी लक्ष्मी चौधरीले बताइन्।

मुक्त कम्लहरीले सञ्चालन गरेको सहकारी हुँदा उनीहरूसँग आर्थिक पनि सोच जस्तो थिएन।

जसले गर्दा गत वर्ष उनीहरूले सामूहिक रुपमा अर्गानिक तरकारी खेती गरेर राम्रो आम्दानी गरेपछि यस पटक बिजौरीमा रहेको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको सहयोगमा तुलसीपुर १८ बिजौरीमा ३५ कठ्ठा खेत भाडामा लिएर लोप भएको तिल्की धानको खेती गरेको उनले बताइन्।

आफूहरूले गरेको धान खेती पूर्ण रुपमा अर्गानिक भएको भन्दै उनले पछिल्लो समय विभिन्न किसिमका धानहरू आउँदा जिल्लाकै राम्रो र प्रख्यात तिल्की धान लोप भएपछि त्यसलाई संरक्षण गर्नको लागि आफूहरूले तिल्की धान रोपको समेत बताइन्।

धान उत्पादन भएपछि सबै बिक्री गर्ने र त्यसबाट आएको पैसा सहकारीमा नै लगाउने योजना रहेको पनि उनले बताइन्।

 उनले भनिन्,‘अहिले जति पनि धानहरू आएका छन्। ती सबैलाई रासायनिक मल प्रयोग गरेपछि मात्र धेरै फल्छ। तर, त्यो हाम्रो स्वास्थ्यको लागि राम्रो हुँदैन। त्यसैले हामीहरूले लोप हुन लागेको स्थानीय जातको धानको संरक्षण गर्न र स्वास्थ्यको लागि पनि राम्रो हुने भएकाले अर्गानिक खेती गरेका हौँ।'

धान खेतीको हेरचाह गर्न एकजना सहकारीको सदस्यलाई मासिक रुपमा ज्याला दिएर राखेको समेत उनले बताइन्।

 उनका अनुसार उक्त जग्गा प्रतिकठ्ठा ३ हजारका दरले वार्षिक रुपमा भाडा तिरेर ल्याइएको हो। अब धानपछि त्यसमा आलु, ब्याज लगायतका अर्गानिक तरकारीहरू गर्ने आफूहरूले योजना रहेको समेत उनको भनाइ छ।

यस्तै, आफूहरूले अरु धेरै जग्गाहरू भाडा लिएर खेती गर्ने योजना भएयता पनि आर्थिक अभावका कारण  समस्या हुने भएकाले राज्यले जग्गाको व्‍यवस्था गरिदिए पूरै अर्गानिक खेती गर्नेसमेत उनले बताइन्।  

‘मुक्त कम्लहरीहरूलाई परिचयपत्र, भूमि व्‍यवस्था लगायत १० बुँदे सहमति भएको थियो, ‘उनले भनिन्,‘ तर, हामी आफैँ आयआर्जनका जोडिएका छौँ। तर, अहिलेसम्म हाम्रो सहकारीको भवन छैन। हामीलाई संघ, प्रदेश र स्थानीय सरकारलाई जग्गा उपलब्ध गराएर भवनको लागि सहयोग गरे धेरै राम्रो हुने थियो।’

जिल्लामा अहिले १२ हजार मुक्त कम्लहरी रहेको रहेको भए तापनि अहिलेसम्म करिब ३ हजार जनाले मात्र परिचय पत्र पाएको समेत उनले बताइन्।

तिल्की धानको संरक्षण र आर्थिक स्तर बढ्ने आस यस्तै, पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतका अनुसार जिल्लाकै लोपउन्मुख तिल्की धान संरक्षण गर्नु पर्छ, भन्ने उद्देश्यका साथ र मुक्त कम्लहरीहरूलाई आर्थिक आयआर्जनमा सहयोग पुगोस्, भन्ने उद्देश्यले उनीहरूलाई सहयोग गरिएको हो।

यस्तै प्रदेश सरकारले पनि अर्गानिक खेती लोप उन्मुख खेतीलाई संरक्षण गर्न महत्व दिन लागेको भन्दै गन्यारी कृषि सहकारी संस्थालाई पनि तिल्की धान त्यो पनि अर्गानिक खेती गर्न लगाएको उनले बताए।

उनले भने,‘ राज्यले कम्लहरी मुक्त गराएको भएयता पनि उनीहरूलाई आर्थिक रुपमा माथि उठाउनु पर्छ, भन्ने गरेको भएयता पनि खासै कार्यक्रमहरू दिएको छैन्। उनीहरूको आर्थिक स्थिति बलियो बनाउन र जिल्लाको लोप उन्मुख धानको संरक्षण तथा अब रासायनिक मल भन्दा पनि अर्गानिक खेती गरेर जीवन स्वस्थ बनाऔँ, भन्ने हाम्रो उद्देश्यले पनि यो खेतीमा सहयोग गरिएको हो।’

 कम फल्ने भएर लोप भयो तिल्की धान

तुलसीपुर १८ बिजौरीका किसान मञ्च चौधरीका अनुसार स्थानीय रैथाने जातका धानहरू कम फल्ने र त्यसले खाना नपुग्ने भएपछि पछिल्लो समय विभिन्न किसिमका हाइब्रिड धानको खेती हुँदै आएको हो। आफू करिब ३ बिगाहा जमिनमा विभिन्न किसिमका हाइब्रिड धानको खेती गरेको समेत बताए।

 उनले भने,‘तिल्की धान ढिलो पाक्ने र अहिलेको हाइब्रिड धान छिटो पाक्ने गर्दछ। जसले गर्दा स्थानीय धान सबैले लगाउन छाडेका हुन्।’

तिल्की धान अन्य धानभन्दा खानलाई राम्रो भएयता पनि कम उत्पादन हुने हुँदा लगाउन छाडेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.