एकै स्थानमा किन दोहोरियो डेंगु महामारी

|

काठमाडौँ : यो वर्ष हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार जुलाईयता संक्रमितको संख्या बढेको हो।

हाल संक्रमित १७ हजार ८६७ जना छन्। संक्रमितको संख्या बढेसँगै यसबाट मृत्यु हुनेको संख्या समेत बढेको छ। जुलाईयता डेंगुका कारण १३ जनाको मृत्यु भएको छ।

ईडीसीडीका अनुसार हालसम्म डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ। ईडीसीडीको तथ्यांकअनुसार पछिल्लो समय सुनसरीमा डेंगुले प्रकोपको रूप लिएको छ। हालसम्म सबैभन्दा धेरै सुनसरी जिल्लामा ९ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी मोरङमा १ हजार ९४९, धादिङमा १ हजार ९४१, झापामा ९५४, काठमाडौँमा ४०४, धनकुटामा ३००, कास्कीमा २५८, संखुवासभामा २२१, दार्चुलामा १९४ र ललितपुरमा १५८ जनामा डेंगु पुष्टि भएको महाशाखाले जनाएको छ।

धरानमा ३ वर्षपछि दोहोरियो डेंगु महामारी

सन् २०१९ मा पनि धरानमा डेंगुले महामारीको रूप लिएको थियो। बीचका ३ वर्ष धरानमा डेंगुका संक्रमित खासै भेटिएनन्। सन् २०२२ मा काठमाडौं उपत्यकामा डेंगुले महामारीकै रूप लिएका वेला धरानमा डेंगुका संक्रमित निकै कम भेटिए।

३ वर्षपछि पुनः धरानमा किन डेंगु संक्रमण फैलियो त भन्ने प्रश्नमा ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले भने‚ ‘संसारभर डेंगु संक्रमणको प्रवृत्ति हेर्दा एक वर्ष तीव्ररूपमा संक्रमण फैलिएको ठाउँमा एक दुई वर्षसम्म खासै संक्रमण देखिँदैन। त्यसपछि पुनः संक्रमण फैलिएको देखिन्छ। धरानमा पनि अहिले त्यही अवस्थामा रहेको छ। अर्कोतर्फ धरानमा सन् २०१९ को तुलनामा डेंगु बनाउने लामखुट्टे धेरै फैलिएको देखिन्छ।’

सन् २०१९ मा ‘सेरोटाइप्स’ २ देखिएकोमा योपटक ‘सेरोटाइप्स’ १ र ३ फैलियो

यो वर्ष महामारीकै रूपमा धरानमा फेलिएको डेंगु संक्रमणको ‘सेरोटाइप्स’मा भने सन् २०१९ को भन्दा फरक छ। डा. दाहालका अनुसार सन् २०१० मा ‘सेरोटाइप्स’ २ देखिएकोमा योपटक ‘सेरोटाइप्स’ १ र ३ का धेरै विरामी छन्।

‘हामीले अध्ययन गर्दा यो वर्ष धरानमा डेंगुका ‘सेरोटाइप्स’ १ र ३ का धेरै संक्रमित देखिएका छन्। सन् २०१९ मा अहिले जसरी नै धरानमा संक्रमण फैलिदा ‘सेरोटाइप्स’ २ देखिएको थियो’‚ डा. दाहालले भने‚ ‘तर हाल धरानमा सेरोटाइप्स’ १ र ३ का धेरै संक्रमित भए पनि कडा खालको लक्षण देखिएको छैन।’

नेपालमा हाल डेंगुका ४ वटा ‘सेरोटाइप्स’ पुष्टि भएका छन्। तीमध्ये हालसम्म १ र २ बाट धेरै जना विरामी भएको महाशाखाले जनाएको छ। चिकित्सकका अनुसार एउटै व्यक्तिलाई डेंगुको फरकफरक सेरोटाइप्सको संक्रमण भए निकै गम्भीर असर हुनसक्छ। यो वर्ष डेंगु संक्रमित पुष्टि भएकामध्ये धरानका मात्रै ५३ प्रतिशत विरामी छन्। 

अबको एक महिना बढ्छ डेंगु संक्रमण

नेपालमा गत वर्षहरूमा डेंगु संक्रमणको बढ्दो प्रवृत्ति हेर्दा अझै एक महिना डेंगु संक्रमण तीव्र बढ्ने देखिन्छ। ईडीसीडीकै विवरण हेर्ने हो पनि गत वर्ष सेप्टेम्बर महिनामा डेंगुका सबैभन्दा धेरै विरामी भेटिएका थिए। गत वर्षको अगस्टमा नेपालमा ३ हजार ७०८ जना संक्रमित भेटिएकोमा यो वर्षको अगस्टको २५ तारिखसम्म १० हजार २४ जना संक्रमित भएका छन्। यसैगरी गत वर्ष जुलाईमा ७२० जना संक्रमित भएकोमा यो वर्ष जुलाईमा ६ हजार ६९ जना संक्रमित भए।

तथ्यांक हेर्दा गत वर्षभन्दा यो वर्ष संक्रमण बढेको देखिन्छ। ‘डेंगु संक्रमण बढ्ने भनेको अगस्ट र सेप्टेम्बरमा हो‚ जसले गर्दा अबको एक महिना संक्रमण तीव्र  बढ्ने हुँदा उच्च सतर्कता बढाउनुपर्ने देखिन्छ’‚ डा. दाहालले भने। काठमाडौं उपत्यकामा पनि गत डेढ हप्तायता डेंगुको संक्रमण तीव्र बढेको देखिन्छ। गत वर्ष  काठमाडौँ जिल्लामा सबैभन्दा धेरै १४ हजार ३७६ जना डेंगुका विरामी पुष्टि भएका थिए। अघिल्लो वर्ष काठमाडौंमा जस्तै हाल धरानमा संक्रमण फैलिएको छ।

ईडीसीले पनि असारदेखि बढ्दै गई भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौँ उपत्यकासहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो। गत वर्ष काठमाडौं उपत्यकामा महामारीकै रूपमा डेंगु संक्रमण फैलिएको थियो। त्यो वेला ५४ हजार ७८४ जना डेंगुबाट विरामी भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो। पछिल्ला वर्षहरूमा वर्षाको समयमा डेंगु संक्रमण जनस्वास्थ्यको गम्भीर समस्याको रूपमा देखिने गरेको छ।

पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि संक्रमण दैनिक बढ्दो छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ‚ ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिन्छ।

अबको एक महिना संक्रमण बढ्ने हुँदा घर बाहिर निस्कँदा पूरा बाहुला भएको कपडा लगाउन, झुल टाँगेर सुत्न र खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र झ्यालढोकामा जाली हाल्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.