|

काठमाडौं : कोशी र गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। कोशी सरकारविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयाँल र गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ।

प्रदेश प्रमुखले आफूलाई बर्खास्त गरी एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिजो रिट दायर गरेका हुन्। उनले हिक्मत कार्कीको नियुक्ती बदर गरी आफैंलाई मुख्यमन्त्रीका रुपमा काम गर्न दिन परमादेश माग गरेका छन्।

संविधानबमोजिम पदमुक्त हुने कुनै पनि व्यवस्था आफ्नो हकमा लागू नहुने दाबी कार्कीले रिटमा गरेका छन्। गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत मंगलबार गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।

६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ। तर गत आइतबार मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा ३० मत मात्र परे पनि सभामुख कृष्ण धितालले आफ्नो एक मत सुरक्षित रहेको भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए।

पाण्डेले सभामुखको घोषणा उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्। साथै संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताका हैसियतले आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि पाण्डेले परमादेश पनि माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.