|

घोराही : बंगलाचुली गाउँपालिका-८ की नीमा गाहालाई २०७४ सालमा स्थानीय तहका जनप्रतिनिधि आएपछि गाउँमा पानीको समस्या अन्त्य होला जस्तो लागेको थियो।​

चिनेजानेका सबैले संघीयतामा गएपछि स्थानीय निकायका जनप्रतिनिधिले जनताका समस्या समाधान गर्छन् भनेका थिए। उनले पनि त्यस्तै आशा गरेकी थिइन्।

अहिले आफ्नो आशामाथि तुषारापात भएको उनको अनुभव छ। जनप्रतिनिधिले त मतदाताको समस्या समाधान गर्नुभन्दा गाउँको अग्लो डाँडामा झन् अग्लो भ्युटावर बनाउनतिर लागे।

एक गाग्री पानी ल्याउन आउँदा-जाँदा करिब एक घण्टा समय लाग्ने उनको भनाइ छ। उनले भनिन्, ‘चुनावमा नेताहरूले जितेपछि पानीको सुविधा होला जस्तो लागेको थियो तर उनीहरू त भ्युटावर बनाउनतिर लागे। खानेपानीको समस्या छ। यतातिर ध्यान नदिएर नेताहरूले कता कता ध्यान दिए।’

उनका अनुसार अहिले पार्क गाईगोरु चराउने ठाउँ भएको छ भने भ्युटावर गोठाला आउँदा बस्ने ठाउँ भएको छ। ‘हामीलाई मुख्य समस्या भनेको पानीको हो। डाँडामा भ्युटावर बनाएर के काम? जनताको समस्या एकातिर छ‚ काम अर्कैतिर छ। यसले केही फाइदा हुँदैन’, उनले भनिन्।

पर्यटन प्रवर्धन गर्ने भन्दै भ्युटावर निर्माण गरिएका हुन्। स्थानीय बासिन्दाको माग र आवश्यकता एकातिर हुँदा टावर अलपत्र परेका छन्। पहाडी क्षेत्रमा पर्ने बंगलाचुली गाउँपालिकाका ३ ठाउँमा बनाइएका अलपत्र भ्युटावरले गाउँपालिकाको विकास मोडेललाई गिज्याइरहेका छन्।

पहाडी क्षेत्र रहेको बंगलाचुली आफैंमा चुली नै चुली भएको गाउँपालिका हो। प्राकृतिक रूपमा आफैं सुन्दर लेकहरूमा सरकारले हचुवाको भरमा थुपारेको संरचनाबाट स्थानीय बासिन्दा खासै सन्तुष्ट छैनन्।

स्थानीय बलदेव मल्लले यहाँ भ्युटावर अनावश्यक चिज बनेको बताए। उनले भने, ‘जुन चिज आवश्यक छ‚ त्यो बनेन। भ्युटावर आवश्यकै थिएन।’

आफैंमा डाँडैडाँडा भएको ठाउँमा भ्युटावरको नाममा बजेट सिध्याएको उनको भनाइ छ। उनले भने, ‘३ वटा भ्युटावर बनेका छन्। जनप्रतिनिधिहरूको भिजन नहुँदा करोडौँको बजेट सकिएको छ।’

गाउँपालिकाको-८ नम्बर वडाको हाँसीपुर, वडानम्बर २ को धिमधिमे लेक र वडा नम्बर ५ को बंगलाचुलीमा गरी ३ वटा टावर ठड्याइएका छन्। यी टावर ठड्याउन गाउँपालिकाले २ करोडभन्दा बढी रकम खर्चिएको छ। यी प्रयोगविहीन बन्दै गएका छन्।

लहडका भरमा बनाइएका संरचनाप्रति स्थानीयले चासो नै दिएका छैनन्। पानीको हाहाकार भएका ठाउँमा भ्युटावरको निर्माणले स्थानीय विरक्त बनेका हुन्।

टावरसँगसँगै बनेका अन्य संरचना पनि दिनप्रतिदिन तोडफोड हुँदै गएका छन्। शौचालयका ढोका चोरी भए। गुरुयोजनाबिना बनाइएका भ्युटावर र भौतिक संरचना अहिले आएर स्थानीय सरकारलाई निल्नु न ओकल्नु भएको छ। गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले गाउँपालिकाले निर्माण गरेका संरचनाहरूको यस्तो अवस्था हुनु दुःखद भएको बताए।

उनले यसलाई संरक्षण गर्नुपर्छ भन्ने बारेमा सचेतना बढाउन जरुरी रहेको समेत बताए। नागरिक सचेतना बढाउन नसक्दासम्म बनेका संरचनाहरू यस्तो स्थितिमा आउने समेत बताए। उनले भने, ‘यहाँका स्थानीय बासिन्दालाई भ्युटावर हाम्रा लागि बनेका हुन् भन्ने बुझाउन जरुरी छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.