|

काठमाडौं : समाजवादी मोर्चामा दुई महिनामा नै खटपट सुरु भएको छ। 

बुधबारदेखि औपचारिक रूपमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा आएसँगै समाजवादी मोर्चामा खटपट सुरु भएको हो। 

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर गत असार ४ मा समाजवादी मोर्चा बनेको थियो। ४ कम्युनिष्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका थिए। 

तर बनेको दुई महिनामै एमसिसीको कारण मोर्चामा रहेका दलहरूबीच खटपट देखिन थालेको छ। जसको कारण बुधबार धनगढीमा हुने भनिएको मोर्चाको आमसभासमेत अन्तिम समयमा स्थगित भएको थियो। 

मोर्चाको एक घटक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले यथास्थितिमा एमसिसी कार्यान्वयनमा आए सहकार्य बिथालिने चेतावनीसमेत दिएपछि बुधबारका लागि तय भएको मोर्चाको आमसभा अन्तिम समयमा स्थगित हुन पुग्यो। 

धनगढीमा पूर्वनिर्धारित मोर्चाको आमसभा छोडेर नेकपाले एमसिसीको विरोधमा काठमाडौंमा कार्यक्रम गर्‍यो। नेकपाका महासचिव ‘विप्लव’ सहितका उक्त पार्टीका शीर्ष नेताहरूले एमसिसीको चर्को विरोध गरे। कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसिसीको विरोधमा नेकपाले संघर्षको थप कार्यक्रम गर्ने बताए। 

मोर्चाको घोषणापत्रममा राष्ट्रिय स्वाधीनता र समाजवादको निम्ति सहकार्य गर्ने कुरा उल्लेख गरिएको छ र नेकपाको अनुसार एमसिसी नेपालको राष्ट्रिय हित विपरीत छ। त्यसैले नेकपा एमसिसीको विपक्षमा रहेको छ भने सरकारमा रहेका मोर्चाका अन्य दलहरू एमसिसीको पक्षमा छन्। 

मोर्चामा रहेका दलहरूबीच एमसिसीको पक्ष र विपक्षमा धारणा बन्दा मोर्चाको आगामी भविष्य कता जाला? भन्ने प्रश्न उठ्न थालेको छ। 

१२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयनमा जोड

२०७८ फागुन १५ गते संसद्‌बाट पारित भएको एमसिसीको सुरुवाती कालदेखि नै नेकपाले विरोध गर्दै आएको छ। एमसिसीमार्फत अमेरिका नेपाली भूमिमा कब्जा जमाउन आएको बताउने गरेका नेकपा महासचिव विप्लवले परियोजना कुनै पनि हालतमा खारेज हुनुपर्ने अडान राख्दै आएका छन्।

सुरुमा माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एमसीसीको विपक्षमा थिए तर अन्तिममा १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गर्नेमा उनीहरूको सहमति रह्यो।

१२ बुँदे व्याख्यात्मक घोषणामा नेपालले चाहे जुनसुकै अवस्था र मितिमा पनि परियोजना खारेज हुने, एमसिसी कार्यविधि र नेपालको संविधान/कानून बाझिए नेपालको संविधान/कानून नै माथि हुनेलगायत प्रावधान राखिएका छन्।

विप्लवले भने उक्त घोषणा अमेरिकालाई नपठाइएको जिकिर गर्दै आएका छन्। यसअघि एक भिडिओ सन्देशमा उनले १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिका पठाइएकै छैन र अमेरिकाले त्यसमा कुनै चासो वा सरोकार नै नराखेको दावी गरेका छन्। 

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ पनि १२ बुँदे व्याख्या अमेरिका नपठाइएको भन्दै पठाउनुपर्ने बताइरहेका छन्। बुधबारबाट एमसिसी लागू भएको भन्दै तत्कालै एमसिसी पारित हुँदा गरिएको व्याख्यात्मक घोषणा अमेरिका पठाउनुपर्ने उनको भनाइ छ। त्यहाँबाट अस्वीकृत भएको खण्डमा एमसिसी पनि खारेज हुनुपर्ने कुरा उनले सञ्चारमाध्यममा बताउँदै आएका छन्। 

सरकार र मोर्चाको अर्को घटक दल नेकपा (एकीकृत समाजवादी) पनि १२ बुँदे व्याख्यालाई एमसिसी सम्झौताको अंग बनाउनुपर्ने पक्षमा छ। समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाको अनुसार भदौको पहिलो साता बसेको समाजवादीको केन्द्रीय कमिटी बैठकले १२ बुँदे व्याख्यालाई एमसिसीको अंग बनाउन सरकारलाई दबाव दिने निर्णय गरेको छ। 

‘१२ बुँदे व्याख्यालाई सरकारले पहिला नै एमसिसीको अंग बनाउनुपर्ने तर बनाएन। त्यसैले त्यसलाई सम्झौताको अंग बनाउन पहल गर्ने, पार्टीभित्र र संसद्‌मा पनि एमसिसी अनुगमन समिति बनाउनुपर्ने निर्णय बैठकले गरेको छ’, खतिवडाले भने। 

राष्ट्रियतामा ‘विप्लव’ नेतृत्वको नेकपाको दोहोरो नीति

जनता र राष्ट्रको पक्षमा डटेर लाग्ने बताउने गरेको विप्लव नेतृत्वको नेकपाले राष्ट्रियताको सवालमा दोहोरो नीति लिएको छ। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार समाजवादी मोर्चाको घोषणापत्रमा राष्ट्रिय स्वाधीनता र समाजवादका निम्ति सहकार्य मोर्चा राष्ट्र र राष्ट्रिय स्वाधीनताका साथै नेपाली जनताको समग्र अधिकारका लागि सहकार्य गर्न बनेको बताउँछन्। 

अर्कोतर्फ एमसिसी राष्ट्रियताका लागि अहिलेसम्मकै घातक सम्झौता भएको पनि नेकपाको भनाइ छ। राष्ट्र र राष्ट्रिय स्वाधीनताका लागि बनेको मोर्चाका घटक दलहरू नै सरकारमा छन्, जसले एमसिसी पारित गरी कार्यान्वयन गरेका छन्। एमसिसीलाई घातक बताउने नेकपा तिनै दलहरूको सहकार्यमा बनेको मोर्चामा बसिरहेको छ। 

नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ एमसिसी खारेज हुनुपर्ने तर समाजवादी मोर्चा नरोकिने बताउँछन्।

‘समाजवादी मोर्चा अहिलेको आवश्यकता हो। त्यसैले यो रोकिदैन तर प्रधानमन्त्रीले एमसिसीलाई अगाडि नबढाउन हामीले गरेको आग्रह मान्नु भएन। एमसिसीको विरोधमा हाम्रो संघर्ष रोकिदैन, हामी थप संघर्ष गर्छौं’, उनले थपे। 

एमसिसीको कुरा राष्ट्रियतासँग जोडिएपछि आफूहरू सडकमा आएको भन्दै उनले सडक र सरकारमा रहेको दलसँगको सहकार्यले अन्तरविरोध जस्तो देखिएको बताए। 

‘एमसिसीले समाजवादी मोर्चा रोकिदैन’

एमसिसीको अन्तरविरोधमा ओर्लिए पनि समाजवादी मोर्चा नरोकिने दलहरू बताउँछन्। 

समाजवादीका प्रवक्ता खतिवडा एमसिसीले मोर्चालाई कुनै असर नपारेको बताउँछन्। मोर्चामा रहेका दलहरूलाई आफ्नो पार्टीको गतिविधि गर्ने स्वतन्त्रता रहेकाले कुनै पार्टीले गरेको कार्यक्रमले मोर्चा प्रभावित नहुने बताए। 

मोर्चाको बैठक नबसेकाले आधिकारिक कुरा नआएको भन्दै उनले बैठकमा मोर्चामा रहेका दलहरूको धारणाको विषयमा कुरा हुने बताए। खतिवडाले बुधबार पनि एमसिसीको कारण नभई आन्तरिक तयारी नपुगेकाले कार्यक्रम स्थगित भएको दावी गरे। 

मोर्चाको अर्को घटक दल जनता समाजवादी पार्टी (जसपा) पनि एमसिसीले मोर्चामा कुनै असर नपारेको बताउँछन्। जसपा प्रवक्ता मनीष सुमन मोर्चा जुन उद्देश्यका लागि बनेको हो‚ त्यसैअनुसार अगाडि बढ्ने बताउँछन्। 

नेकपा प्रवक्ता प्रकाण्डको भनाइ पनि मोर्चा नरोकिने भन्ने छ तर आन्तरिक रूपमा भने नेकपाले सरकारको विषयमा धारणा बनाउन शुक्रबार बैठक नै बोलाएको छ। 

नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा सरकारले तुरुन्त एमसिसीको व्याख्यात्मक घोषणा कार्यान्वयनलाई अगाडि बढाउनुपर्ने बताउँछन्। एमसिसीले गर्दा मोर्चामा कुनै समस्या नभएको भन्दै सापकोटाले १२ बुँदे व्याख्यात्मक घोषणा नै अहिलेको समस्याको समाधान रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.