|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको वारी बेनीसम्मको दूरी १३ किलोमिटर छ। तर यो सडकमा यात्रा गर्न मन कसैलाई पनि लाग्दैन। मालढुङ्गाबाट जलजला गाउँपालिका हुँदै वारी पुग्दा १३ किलोमिटर दूरी भए पनि जलजलावासी वा काम विशेषले पुग्नेहरू बागलुङ हुँदै म्याग्दी पुगेर फर्किएर जलजला गाउँपालिकामा आउने गरेका छन्। यसो गर्दा करिब २० किलोमिटर आसपासको दूरी लाग्छ।

बेनी–मालढुङ्गा सडक खण्डमा यो बेलामा मोटरसाइकल र स्कुटर त यो सडकमा हाल्ने आँट त गर्नै हुँदैन। कहीँ ती सवारी नै डुबाउने गरी सडकमै बनेका पोखरी त कतै दबदबे हिलोमा फसेपछि निस्कनै नसकिने अवस्था। सडकको यो अवस्था हुनुको कारण हो कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको उत्खननका विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा।

उत्तर दक्षिण सडक खण्ड अन्तर्गत पर्वत जिल्लाको मालढुङ्गादेखि बेनी बजारसम्मको सडक जीर्ण बन्दा यहाँका स्थानीयले सास्ती बेहोर्नु परेको छ। स्तरोन्नतिको लागि काम सुरु गरिएको सडक विगत दुई वर्षदेखि जीर्ण अवस्थामा रहेको छ। यात्रा गर्नै नसकिने सडकको विषयमा जिल्लावासी नागरिक सहित जिल्ला प्रशासन कार्यालय, सडक पर्ने जलजला गाउँपालिका, ठेकेदार कम्पनी लगायतले कुरा उठाउँदै आइरहेका छन्।

सडकको त्यही दुरावस्थाबारे जानकारी लिँदै नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले निर्माण कार्य सुरु भएको तीन वर्षसम्म पनि पूरा नभएको सडकको अवलोकन गरेका छन्। तीन वर्षको अवधिमा ४० प्रतिशत मात्रै  निर्माण कार्य पुरा भएको कालीगण्डकी कोरिडोर अन्तर्गत मालढुङ्गा–बेनी सडक खण्डको अवलोकनमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य, कालीगण्डकी कोरिडोर आयोजना प्रमुख जगत प्रजापति लगायतको पनि सहभागिता थियो।

सडकको अवलोकनपछि प्रमुख सचेतक गिरीले सडक निकै दुरावस्थामा रहेको र जुनसुकै बेलामा जस्तो खालको  पनि दुर्घटना हुन सक्ने जोखिम रहेको बताए। सडकको समस्या समाधानको लागि आफूले कुरा उठाउँदै आएको भए पनि जुन गतिमा काम हुनुपर्ने थियो त्यो गतिमा नभएको उनको भनाइ छ। ‘यस विषयमा मैले पहिले पनि सरकारको ध्यानाकर्षण गराएको थिएँ। तर पनि जुन गतिका साथ काम अगाडि बढ्नुपर्ने थियो त्यो हुन सकेको छैन। यही विषयमा हामीले निर्माण व्यवसायी, यहाँको डी.जी सर, सी.डी.ओ. साप, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायतलाई जुटाएर यो बाटोको संयुक्त अवलोकन गरेका छौँ’, उनले भने, ‘यसमा हाम्रो उद्देश्य के छ भने यहाँ देखिएका खाल्डा र भत्केका भागलाई तत्काल पुरिहाल्ने र सडकलाई सम्म्याउने। सुरुमा त्यति काम गर्दा बित्तिकै पनि आवागमनमा सजिलो हुन्छ। कामलाई छिटो सक्नको लागि तत्कालै अगाडि बढाउनुपर्‍यो। त्यसका लागि जनप्रतिनिधिले के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौँ।’

तर कुनै पनि हालतमा निर्माण व्यवसायीलाई असहयोग हुने काम गर्न नहुने गिरीको भनाइ छ। सडकको दुरावस्थाकै कारण छोटो बाटो छाडेर बागलुङ हुँदै म्याग्दी पुगेर पुनः पर्वत आउनुपर्ने गरी घुमाउरो यात्रा गर्नुपरेको अवस्था दुःखदायी भएको उनले बताए। सडकको अवस्थाकै कारण सडक आसपासमा व्यापार व्यवसाय गरेर जीविका चलाउँदै आएकाहरू समेत उठ्नुपर्ने अवस्था आएको तथा बिरामी भएको बेलामा सहजै अस्पताल लैजान सक्ने अवस्था समेत नरहेकोमा उनले चिन्ता व्यक्त गरे।

‘सडक छेउछाउमा रहेका पसलहरू पनि उठेको देखियो। सडक चलेको छैन। यो बाटो मान्छे हिँड्नै नै चाहेको छैन। बिरामी हुँदा कसरी अस्पताल लैजाने हो?’ प्रमुख सचेतक गिरीले भने, ‘तीज नजिकै आएको छ, अन्य चाडबाड पनि नजिकिएका छन्। यो बेलामा कसरी यात्रा गर्न सकिन्छ यो बाटोमा? अब मुस्ताङ जाने क्रम पनि सुरु हुने बेला हुन लागेको छ। यही सडकबाट पर्यटकहरु कसरी मुस्ताङ जालान्? यो बेलामा बाटोको अवस्था निकै चिन्ताजनक रहेको छ। म फेरि पनि सदनमा र संसदीय समितिहरूमा पनि यो बारेमा कुरा राखेर समस्या समाधानको लागि पहल गर्ने छु।’

दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेकेदार कम्पनी एपेक्स खडका कृष्ण जेभीले ५२ करोड ८६ लाखको लागतमा निर्माणको जिम्मा लिएको थियो। २०७७ साल चैत महिनामा ठेक्का सम्झौता गरे तीन वर्षको अवधिमा  ४० प्रतिशत मात्रै काम सकिएको छ। सडक निर्माणको क्रममा नदीजन्य वस्तुहरू उत्खननमा रोक लगाइए पछि निर्माण व्यवसायीले निर्माणको काम छाडेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.