|

नेपाल ६८ प्रतिशत पहाड र १७ प्रतिशत हिमखण्ड भएको  देशमा यातायतको सहजता र पानी आपूर्तिका लागि डाँडा पहाड र खोला ढिस्काको तल सुरुङ खनेर छिटो र छोटो पूर्वाधार बनाउनु अति उत्तम विकासको मोडल हुनसक्छ।

सुरुङ निर्माण  अति महत्वपूर्ण तर आर्थिक, प्राविधिक, वातावरणीय र सर्वेको दृष्टिबाट जटिल र महँगो परियोजना हो। निःशन्देह यो पूर्वाधारको विशिष्ट नमुना पनि हो। विश्वमा पहिलो सुरुङमार्ग सन् १८४३ मा बनेको थियो जसको नाम थ्याम्स टनेल हो। आज नेपालमा पनि विभिन्न ठाउँमा सुरुङमार्गको काम सुरु गरिएको छ र अनेक प्रस्तावित सुरुङमार्गको परिकल्पना गरिएको छ।

विकासको काम र यातायातलाई छिटो छरितो बनाउने क्रममा सुरुङमार्ग अति महत्वपूर्ण पूर्वाधारको रूपमा लिइन्छ तर सडक मार्गभन्दा यो बढी महँगो भएकोले सबै ठाउँमा सुरुङमार्ग बनाउन महँगो पर्छ भने जमिनको तल खन्नुपर्ने भएकोले यो वातावरणीय दृष्टिले दीर्घकालमा भूक्षयको कारक बन्न सक्ने भएकोले खतरापूर्ण पनि नहोला भन्न सकिँदैन।

तापनि नेपालले केही २ भूगोललाई छिटो जोड्नका लागि यो पूर्वाधार अति आवश्यक छ। नेपालको भूबनोटलाई हेर्दा धेरै ठाउँमा सुरुङमार्ग बनाउन आवश्यक छ तर केही यस्ता ठाउँ छन् जहाँ यो अति आवश्यक छ।

जस्तै बुटवल सिद्धबाबाबाट पाल्पाको झुम्सामा पहिरोबाट बच्नका लागि। काठमाडौं निजगढ द्रुतमार्गमा यातायात दूरी घटाउन र टोखाबाट नुवाकोट त्यो क्षेत्रमा विकासको नयाँ स्वरूप बनाउनका लागि अति आवश्यक देखिएका क्षेत्र हुन्।

विकासको सन्दर्भमा  भूअर्थतन्त्रको पनि गहन अध्ययन हुनुपर्छ। भू–अर्थतन्त्रमा मलिलो जमिन, रणनीतिक खेती, सहज र छोटो दूरीको बजार पँहुच, उद्यमीको शाहस, नयाँ प्रविधि र सरकारको साथसमेत आवश्यक पर्छ। यसको एउटा सहयोगीपक्ष  सुरुङमार्ग पनि हो। किनकि यसले २ अलग भूगोललाई सबैभन्दा छिटो जोड्छ।

व्यक्तिको विकासभन्दा विकासका लागि व्यक्तिको साहस र सोचको पुँजीकरण आजको आवश्यकता हो। विकासका लागि व्यक्ति भन्नाले किसान, उद्योगी, अनुसन्धानकर्ता, उत्पादक, प्रविधिको खोजगर्ने व्यक्ति, सफ्टवेयर बनाउने, उत्प्रेरक, कामदार, व्यवस्थापक आदि पर्दछन्। आँप टिप्नेभन्दा फलाउने, माछा मार्नेभन्दा पाल्ने, उद्यमी, व्यवस्थापक आदिलाई विकासको व्यक्ति भनिन्छ।

केही सानातिना क्षेत्रमा व्यवसायिकता देखिए तापनि समग्रमा हाम्रो सोच जागिरमुखी छ। जागिरमुखी सोँचलाई उद्यमशिलता  र व्यवसायमुखी सोचमा रुपान्तरण नगरेसम्म देश सम्पन्न बन्न सक्दैन। गाउँदेखि महानगरसम्म आर्थिक चहलपहल ल्याउनका लागि स्थानीय निकाय,  प्रदेश र संघीय सरकारले एउटा साझा दृष्टिकोणको आधारमा पूर्वाधार बनाउने र उद्यमीहरुलाई व्यवसायिक काम गर्नका लागि हरेक तरिकाले सहयोग गर्ने रणनीति बनाउँदै लैजानुपर्ने देखिन्छ।

सरकारले आयोजना छनोट गर्दा त्यस्तो आयोजनालाई पहिला सुरु गर्नुपर्ने हुन्छ जसले छिटोभन्दा छिटो मानिसको मुहार फेरिन सकोस्।

पानीको मुहान टाढा भएको गाउँमा खानेपानीको आयोजनाले जति खुसियाली ल्याउँछ, मुहान नजिक भएको ठाउँमा त्यति खुसियाली आउँदैन। सडक, पानी, सिँचाइ, अस्पताल आदि बनाउँदा नेताको पँहुचको आधारमा काम सुरु गर्नुभन्दा त्यसबाट हुने जनलाभको गणनाको आधारमा आयोजनाहरु छनोट गर्न सक्नुपर्छ।

आयोजनाहरु बनाउँदा एकल उपयोगका योजनाभन्दा बहुउपयोगी आयोनालाई बढी प्राथमिकता दिनु लाभदायक हुन्छ। यद्यपि अति आवश्यकताको मापदण्ड अलग हुन्छ। 

भावनात्मक आख्यानको रूपमा नभएर प्राविधिक सम्भाव्यताको आधारमा यो लेख तयार पारिएको हो। वर्षौंदेखि शिवपुरीको डाँडा काठमाडौं र थानसिंह ढिकुरेका लागि दुर्लङघ्य अवरोध बनेकोमा टोखाको सुरुङ पक्कै पनि निकास बन्नेछ। त्यतिमा मात्र विकासको लहरलाई रोक्न नदिएर अनुकरणीय कृषि र आत्मनिर्भरतातर्फ देशलाई अग्रसरता ल्याउन यो आयोजना बढी उपयोगी देखिन्छ।

काठमाडौं उपत्यकाको चारैतिर पहाडले घेरिएको छ। त्यसमध्ये उत्तर तिरको जंगललाई सुरक्षित गर्नका लागि शिवपुरी राष्ट्रिय निकुञ्ज स्थापना भएको छ। त्यो पहाडको उत्तर तिरको ठूलो क्षेत्र नुवाकोट जिल्ला हो जसको क्षेत्रफल ११२१ किलोमिटर छ।

नुवाकोट अधिकांश काठमाडौंसँग जोडिएको  भूभाग समथर छ। जहाँ राम्रो धान गँहु, मकै र तरकारी खेति हुन्छ। लिखु, ताँदी र त्रिशूली नदीको किनारमा हजारौ रोपनी समथर भूभाग उर्वर छ, रमाइलो छ। यो हुँदा हुँदै पनि डाँडावारीको काठमाडौं जुन गतिमा विकसित भएको छ त्यो गति र अनुपातमा विदुर र छहरेको विकास भएको छैन।

काठमाडौंको कुना कुनामा फैलिएको तीव्र विकास एउटै डाडापारिको नुवाकोटको छहरे, थानसिंह, ढिकुरे, गंगोटी, बट्टार, देवीघाट पुगेको छैन। यस्तो हुनुमा हाम्रो जागिरमुखी सोँच पहिलो समस्या हो भने नेतृत्वमा चुनावमुखी सोचले पनि आयोजना छनोटमा समस्या ल्याएको छ।

नेपाल सरकारले चीन सरकारको सहयोगमा  टोखा– झोरबाट छहरेसम्म सुरुङमार्ग खोल्दै छ, चालु आवमा पनि १ अर्ब बजेट यस मार्गका लागि छुट्याइएको छ। यसको लम्बाइ यसअघि ७ किलोमिटर हुने भनिएता पनि अहिले मात्र ४ किमि हुने गरी डिपिआर बन्दै छ।

यो आयोजना जतिसक्दो छिटो पूरा गरेर छिटोभन्दा छिटो नुवाकोटको फाँटमा अन्न उत्पादन तीव्रताका साथै बिउ उत्पादन, लिखु र ताँदी खोलाको पानीबाट माछा पालनको नयाँ प्रविधि विकास गरी ताजा माछाको व्यापारमा देशलाई सक्षम बनाउन सकिन्छ।

त्यस्तै, देशका अन्य प्रस्तावित सुरुङहरु जस्तैः धरान–लेउती, खुर्कोट–चीयाबारी, सिद्धबाबा– झुम्सा( काम शुरु भैसकेको ), नागढुङ्घा – खानीखोला ( ब्रेक थु्र ) भै सकेको, परवास–जोर्ते, लगायत अहिले २७ वटा सुरुङ मार्गका लागि सरकारले १० लाखदेखि १ अर्बसम्म बजेट छुट्याएको छ। यी सबैभन्दा छोटो तर अति अवश्यक सुरुङमार्गमा टोखा–छहरे सुरुङमार्ग हो।

 यो सुरुङमार्गको डिपिआरमा थोरै परिवर्तन गरेर यसबाट केवल सवारीसाधन गाडी मात्र वारपार नगराई नुवाकोटका खोलाबाट त्यहाँको सिँचाइमा असर नपर्ने गरी अलिकति पानी पनि उपत्यकामा ल्याउन सकिन्छ।

सुरुङमार्ग एकमुखी नभई बहुमुखी  उपयोगितायुक्त बनाउने बारेमा सोच्नैपर्छ। यो लेखको आशय खुर्कोट– चीयावारी सुरुङ अनावश्यक र झोर– छहरे मात्र ठिक भन्नु होइन। विकासका लागि जुन बढी उपयोगी छ त्यसलाई प्राथमिकतामा राखौँ भन्ने मात्र हो।

एक किलोमिटर सुरुङमार्ग बनाउने खर्चले १५० किमि बाटो बनाउन सकिन्छ। त्यसैले लाभ–लागत विश्लेषण गरेर मात्र आयोजना छनोट गरिनुपर्छ।

विकासको आधार बजार हो र बजारको आधार उत्पादन हो यो विषयमा गहन चिन्तन गरेर नुवाकोटलाई उपत्यकाको खाद्यान्न भण्डारको रूपमा विकसित गर्न सकेमा यसले दीर्घकालमा काठमाडौं पूरै देशको कृषि उत्पादनमा क्रान्ति ल्याउन सक्छ।

बजार काठमाडौंमा छ हजारौँ रोपनी समथर जमिन शिखरबेंसीदेखि गल्छीसम्म फैलिएको नुवाकोटमा  छ। यसलाई काठमाडौंसम्म जोड्न टोखा छहरेको सुरुङमार्ग छिटोभन्दा छिटो पूरा गरेर रणनीतिक रूपमा

नुवाकोटका फाँटमा अन्नबाली, तरकारी, फलफूल, माछापालन लगायतको उदाहरणीय कृषिको सुरुवात गरौँ जसले गर्दा २ दिन भारतले चामलको निर्यात रोकिदिँदा जुन हाहाकार देखापरेको छ त्यसलाई निराकरण गर्न सकियोस्।

भावनात्मक आख्यानको रूपमा नभएर प्राविधिक सम्भाव्यताको आधारमा यो लेख तयार पारिएको हो। वर्षौंदेखि शिवपुरीको डाँडा काठमाडौं र थानसिंह ढिकुरेका लागि दुर्लङघ्य अवरोध बनेकोमा टोखाको सुरुङ पक्कै पनि निकास बन्नेछ। त्यतिमा मात्र विकासको लहरलाई रोक्न नदिएर अनुकरणीय कृषि र आत्मनिर्भरतातर्फ देशलाई अग्रसरता ल्याउन यो आयोजना बढी उपयोगी देखिन्छ।

चीन, भारत, अमेरिका, बंगलादेश, इण्डोनेशिया जस्ता बढी जनसंख्या भएका देशमा विकास जहाँबाट सुरु गर्दा पनि हुन्छ तर नेपाल, श्रीलंका जस्ता थोरै जनसंख्या भएका देशमा विकास गर्दा ठूलो शहरको नजिकको क्षेत्रमा बढी विकास गरेर उत्पादनलाई बजार नजिक बनाउन र बिक्री बढाउन सहज हुन्छ।

त्यसैले काठमाडौं उपत्यकाका ३ जिल्लामा रहेको जनसंख्यालाई ध्यानमा राखेर तरकारी, मासु, दूध, अन्नपात लगायत केही औद्योगिक वस्तुहरु बेच्न सहज हुनेगरी नुवाकोटको जमिन प्रयोग गर्नका लागि झोर सुरुङ मार्ग ज्यादै महत्वपूर्ण आधार बन्न सक्ने भएकाले, सरकारले प्राथमिकता मै राखेर यो सुरुङ मार्गको बाटो खोल्न त आवश्यक छ।

जसले नुवाकोटबाट धेरैभन्दा धेरै वस्तु आपूर्ति गर्न सकियोस्। स्मरण रहोस लेखकको नुवाकोटसँग राष्ट्रिय चिन्तनबाहेक अन्य कुनै तरिकाको नाता छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.