|

दाङ : नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ लगायतले विभिन्न मागसहित गरेको तालाबन्दी गत साउन २६ गते करिब २ महिनापछि खुलेको थियो।

त्यस्तै, गत साउन ३१ गते सेवा आयोगमा लागेका ताला खुलेको थियो। तर, दुवै ठाउँका विभिन्न माग राखेर अखिल (क्रान्तिकारी) दाङ ले भदौ ४ गतेदेखि  अनिश्चितकालीन तालाबन्दी गरेको छ।

अखिल (क्रान्तिकारी)  केन्द्रीय आयुर्वेद विद्यापीठ मूल इकाई कमिटीका अध्यक्ष गणेश पौडेलका अनुसार विश्वविद्यालयमा परीक्षा भइरहेको समयमा नेविसंघले प्रश्नपत्र बाहिरिएपछि तालाबन्दी गरेको थियो।

उच्चस्तरीय छानविन गर्न माग गर्दै लगाएको ताला माइन्युटमा लेखेर कार्यान्वयन नभएपछि अखिल ( क्रान्तिकारी) दाङले त्यही मुद्दालाई टेकेर अनिश्चितकालीन तालाबन्दी गरेको समेत उनको भनाइ छ।

उनले भने,‘हामीहरूले उच्चस्तरीय छानविनको माग गर्दै प्रश्नपत्र चुहावट भएको भए दोषीलाई कारबाही गर्न माग राख्दै परीक्षा गराउनुपर्ने विषयमा तालाबन्दी गरेका हौँ।’

यस्तै, उनले परीक्षामा जति पनि आवेदन दिन लागेका छन्। उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल ( क्रान्तिकारी ) ले तालाबन्दी गरेको समेत बताए।

उनले भने, ‘अहिलेसम्म  कुनै पनि उच्चस्तरीय छानविन पनि भएको छैन्। कुनै वार्ता वा छलफल पनि भएको छैन। उच्चस्तरीय छानविन कुलपतिबाट हुनुपर्ने र विश्वविद्यालयमा भएको फोहरलाई सरसफाइ गर्न आवश्यक ठानेको  हुँदा तालाबन्दी गरिएको हो।’

विश्वविद्यालयको सेवा आयोग हुँदा हुँदै पनि अहिले लोक सेवाबाट परीक्षा हुन लाग्दा त्यो विश्वविद्यालयको कमजोरी भएको समेत उल्लेख गरे।

उनले भने, ‘यहाँ कुनै न कुनै कमजोरी भएका कारणले नै लोक सेवालाई परीक्षा गर्न जिम्मा दिएको छ। विश्वविद्यालयको सेवा आयोग हुँदा हुँदै निक काठमाडौँ परीक्षा हुँदै छ? हामीहरूको माग यही परीक्षा हुनुपर्छ, भन्ने पनि हो।’

ताला लाग्ने अवस्था हामीले निम्त्याएका होइनौँ

यस्तै, अखिल (क्रान्तिकारी) नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटी प्रमुख सचिव अभयप्रताप चौबेले हिजोको दिनदेखि नै विश्वविद्यालयमा ताला लाग्ने सृजना आफूहरूले नगरेको बताए।

उनले हिजो नेविसंघले तालाबन्दी गर्दा विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको विषयमा छानविन गर्ने भने माइन्युट गरेको हुँदा त्यहाँ कुनै न कुनै गल्ती भएको हुन सक्ने र तर, छानविन नगरेर त्यही प्रश्न पत्रबाट परीक्षा गराउन खोजेपछि बाध्य भएर तालाबन्दी गरिएको बताए।

उनले भने, ‘त्यो विषयमा छानविन नगर्ने र उहीबाट परीक्षा गराउन खोज्ने? बाहिर लोकसेवामा लैजान्छौँ, भनेर सबैलाई भ्रम सृजना गर्ने र यदि भित्र रुपमा भागबन्डा गर्न खोजेको पनि पनि हामीलाई प्रस्ट पार्नु पर्छ। हामीले पनि गलत वा सही उच्चस्तरीय छानविनबाट गरेर प्रस्ट पार्न माग गरेका  हौँ।’ 

विश्वविद्यालयमा भिसी, रजिष्टार, रेक्टर, सेवा आयोगको अध्यक्ष र सदस्य कुलपतिबाट हुने भएकाले यो विषयको छानविन पनि कुलपतिबाट नै   उच्चस्तरीय छानविन समिति गठन हुनु पर्ने आफूहरूको माग रहेको पनि उनको भनाइ छ।

पछिल्लो ४ वर्षमा आफूहरूले प्रथम पटक बाध्य भएर तालाबन्दी गर्नु परेको समेत उनको भनाइ छ। कुलसचिवले कुलपति वा सभापतिबाट गर्नुपर्ने निर्णय आफ्नो एकलौटी ढंगले निर्णय गरिरहँदा आफूहरूले बाध्य भएर तालाबन्दी गरेको समेत उनले बताए।

परीक्षा दिने परीक्षार्थी समस्यामा

पटक-पटक खुल्ने र बन्द सेवा आयोगको परीक्षाले गर्दा परीक्षार्थी समस्यामा परेको गुनासो गरेका छन्। तुलसीपुर उपमहानगरपालिका १९ का गोकर्ण पौडेलले विश्वविद्यालयमा हुने पटक पटक तालाबन्दीका कारण परीक्षा  खर्च हुँदा खर्च मात्र हुने गरेको उनको भनाइ छ।

उनले भने, ‘सेवा आयोगले पटक पटक सूचना निकाल्छ। त्यसैको तयारीका लागि हामीहरू काठमाडौँ जान्छौँ। अब परीक्षा  होला, भन्ने लागेको हुन्छ। तर, फेरि परीक्षा स्थगित  हुन्छ। यसरी हामीहरूको धेरै खर्च भएको छ। समय  मै परीक्षा नहुँदा म जस्ता धेरै परीक्षार्थीहरूले समस्या पारेको छ।’

उनका अनुसार कतिपय परीक्षार्थीहरू सेवा आयोगको परीक्षाका कारण अन्य ठाउँमा काम गर्नको लागि समस्या  पाइरहेका छन्। परीक्षाको लागि तयारी गर्नु पर्ने भएकाले यस्तो  समस्या भोगिरहेका छन्। यस्तो समस्याको लागि विश्वविद्यालयले तत्काल नै ध्यान दिनु पर्ने उनको भनाइ छ।

यस्तै, विश्वविद्यालयको सेवा आयोग हुँदा हुँदै अहिले परीक्षा गराउन लोक सेवा आयोगलाई जिम्मा दिएको प्रति उनले यो राम्रो नभएको समेत बताए। आउँदो असोज महिनामा काठमाडौँमा परीक्षा हुने भने सूचना निकालेको भएयता पनि परीक्षा हुनेमा आफूहरू ढुक्क  नभएको समेत उनले बताए।

हड्तालमुक्त बनाउन सबैले सहयोग गर्नुपर्छ

नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव माधव अधिकारीका अनुसार विश्वविद्यालयमा हुने रोजगारीका अवसरका निम्ति खुलेका विज्ञापनको निम्ति सधैँ सोर्स फोर्समा मात्र जागिर हुन्छ, भन्ने मान्यता पटकपटक आन्दोलन हुने गर्दछ।

२०७८ साल चैत १६ गतेदेखि विश्वविद्यालयले विभिन्न पदको लागि विज्ञापन खोलेको थियो। त्यसपछिबाट विश्वविद्यालय बन्द गर्ने शृङ्खला शुरु भएको उनको भनाइ छ।

उनले भने, ‘विश्वविद्यालयमा आन्दोलन भइरहनुमा  विद्यार्थीहरूले उठाएका कतिपय जायज मागहरूलाई विश्वविद्यालयको स्रोत र साधनबाट  समयमा सम्बोधन नभएको कारणले पनि हुनसक्छ। अर्को कारण विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूमा राजनीतिक चेतनाको आधारमा हुन्छन्, वर्गीय र विचार धाराका हिसाबले हेर्ने दृष्टिकोण पनि हुन्छ। जसले गर्दा पनि भिन्न भिन्न विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेको देखिन्छ।’

यस्तै, उनले विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा भएको हुँदा सेवा  आयोगका गतिविधिहरू विगतदेखि नै भइरहेको अवस्थामा दिनप्रतिदिन विश्वविद्यालय भित्र यो वा त्यो भएन भनेर बाहिर विभिन्न अफवाह फैलाउँदै गएपछि लोक सेवा आयोगले काठमाडौँमा परीक्षा गराउन लागेको समेत बताए।

सुरुमा तालाबन्दी गरेको नेविसङ्घसँग वार्ता गरी एउटा सम्झौता गरी ताला खोलेको भएयता पनि फेरि अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको उनले बताए।

अहिले भएको तालाबन्दीका लागि विश्वविद्यालयले वार्ता समिति निर्माण गरेको अवस्था रहेको भन्दै उनले निकट भविष्यमा वार्ता हुने र वार्ताबाट नै निष्कर्षमा पुगिने अपेक्षा गरिएको पनि  बताए।

विश्वविद्यालयले जिल्लाका क्रियाशील राजनीतिक दल, नागरिक समाज लगायतसँग  वृहत छलफल गर्न चाहेको समेत उनको भनाइ छ। आगामी दिनमा विश्वविद्यालयमा  कुनै पनि संघसंगठन वा भ्रातृ सङ्गठनका नाममा तालाबन्दी गर्ने प्रतिबद्धता गर्न जरुरी रहेको समेत उनले उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.