भदौ २७ देखि पुन: डेमोन्स्ट्रेस

|

काठमाडौं : नेपालले चीनबाट दुई महिना अघि ल्याइएको २० हजार भाइल पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप (एचपीभी)को ‘डेमोन्स्ट्रेस’ गर्ने भएको छ।

​सातै प्रदेशका संघीय अस्पतालमा  १४ वर्ष पुगेर १५ ननाघेका किशोरीलाई यही भदौ २७ देखि खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

खोप शाखा प्रमुख डा अभियान गौतमले २० हजार भाइल खोप करिब साढे ९ हजार किशोरीलाई लगाउन लागिएको बताए। उनका अनुसार यही भदौ २७ गते परोपकार तथा स्त्रीरोग अस्पतालबाट यो खोपको शुभारम्भ हुनेछ।

यो खोप चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो। सिकोलिन ब्राण्डमा उत्पादित यो एचपीभी डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो।

एचपीभीको २०० भन्दा बढी प्रजाति हुन्छन् र यसमध्ये कम्तिमा १२ प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ।

यसले पाठेघरको मुखको क्यान्सरका साथै यौनाङ्गमाआउने मुसा तथा यौनाङ्गको क्यान्सरसमेत गराउन सक्छ।

हाल नेपालमा लगाइन लागिएको ‘सिकोलिन’ ब्रान्डको एचपीभी खोप एचपीभीको प्रजाति १६ र १८ विरूद्ध ९७ प्रतिशतसम्म प्रभावकारी भएको अध्ययनले देखाएको डा गौतमले जनाए। 

‘नेपालमा हाल हुने क्यान्सरमध्ये महिलामा हुने पाठेघरको मुखको क्यान्सर १९ प्रतिशत रहेको छ। जसको मुख्य कारण एचपीभी भाइरसको प्रजाति १६ र १८ नै मुख्य हो। त्यसैले सिकोलिन ब्राण्डमा आएको यो खोप पाठेघरको मुखको क्यान्सरविरूद्ध निकै प्रभावकारी रहेको विभिन्न अध्ययनहरूले देखाएको छ। अझ किशोरीहरू सक्रिय यौन जीवनमा प्रवेश नगर्दै लगाउन सकियो भने थप प्रभावकारी हुन्छ। त्यही अनुसार हामीले सुरू गर्न लागेका हाैँ’, डा गौतमले भने।

यसपटक सरकारले १९ हजार ९९८ खोप वितरण गर्न लागेको छ। खोप शाखाका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा दोस्रो चरणको खोप सञ्चालन हुने छ।

एचपीभी खोप  (सेकोलिन) ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्छ। दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाटै लगाउनुपर्ने खोप शाखाले जनाएको छ

स्मरण रहोस् यसअघि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१५-०१६ मा पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोपको कास्की र चितवनमा पाइलटिङ गरेको थियो।

तत्कालिन समयमा खोप कार्यक्रमलाई थप विस्तार गरेर लगिने सरकारले जनाए पनि कार्यक्रमले निरन्तरता पाएको थिएन। तर अहिले (सन् २०२३) मा आएर  पुन: डेमोन्स्ट्रेसनका रूपमा कुनै एक जिल्लामा भन्दा पनि संघीय अस्पतालहरूबाट यो खोप लगाउन लागिको छ। 

सरकारले लक्षित वर्षका सबै किशोरीलाई खोप लगाउन सकिरहेको छैन, किन? भन्ने प्रश्नमा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले भने, ‘सिकोलिन’सहित विश्वमा तीनवटा खोप मात्रै हाल विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सरविरूद्ध प्रभावकारी भएको पुष्टि गरेको छ, जसले संसारभर नै यो खोपको माग उत्पादनको तुलनामा उच्च रहेको छ, त्यसैले हामीले चाहेर पनि ल्याउन कठिनाइ भइरहेको छ।‘

यस्तै हालै मात्र १० देखि १४ वर्ष उमेर समूहका १७ लाख किशोरीले लगाउन पुग्ने गरी खोप कार्यक्रम अव द भ्याक्सिन एलायन्स (गाभी) बाट ल्याउने प्रक्रिया अघि बढाइएको र यो खोप अर्को वर्षसम्ममा आउन सक्ने सम्भावना रहेको डा कर्णले बताए। गाभीबाट सरकारले करिब १ अर्ब ७७ करोडको खोप ल्याउन लागेको हो।

सन् २०२४ सम्ममा देशभरका सबै किशोरीलाई वितरण गरिसक्ने लक्ष्य लिएको छ। गाभीले समयमा खोप दिन नसके हाल भारतको सेरम कम्पनीले एचपीभी खोप बनाइरहेको र सन् २०२४ सम्ममा डब्लुएचओले उक्त खोपलाई मान्यता दिने हुँदा सरकारले उक्त खोप लगाउन योग्य भएपछि ल्याएर लगाउन सकिने गरी तयारी थालेको छ।

हाल एचपीभी खोप नेपालमा नीजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि वितरण गर्दै आएकाे छ। सरकारले सहजरूपमा खोप उपलब्ध गराउन नसक्दा नीजी संस्थाहरूले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गरिरहेका छन्।  जसकारण महिलाहरू उक्त खोपका लागि महँगो शु:ल्क तिर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.