|

काठमाडौं : मुसलधारे आएको पानीले एकदिन बलरामको घर बगायो। खेत बगायो। बारी बगायो। बाबु बगायो। आमाको सिन्दुर र पोते बगायो। खुशी बगायो। तर, दुख ? दुख भने छोडिदियो। सात वर्षको उमेरमा उनले आफ्नो उमेरले थेग्न सक्ने भन्दा ठूलो विपत्तिको सामना गर्नुपर्‍यो।

यो घटना तेतीबेला घटेको हो जतिबेला बलरामका बाबु परदेशबाट फर्किएको केही दिन मात्र हुन्छ। घरमा छाएको खुशी पनि नसकिँदै उनको जीवनमा दुःखको पहाडले थिचेको हो।

अब घरमा आमा र बहिनीलाई लालनपालन गर्ने जिम्मा उनकै हुन्छ। विद्यालय जाने उमेरमा उनी कुल्ली काम गर्छन्। घरको आर्थिक अवस्था मजबुत बनाउने कोशिश गर्छन्।

उमेरको ग्राफ बढ्दै जान्छ। घरमा जिम्मेवारी थपिँदै जान्छ। परदेश गए प्रशस्त सम्पत्ति कमाउन सकिन्छ भन्ने कुरा कसैले उनलाई सुनाइदिन्छ। र एकदिन उनी भारतको आसाम भासिन्छ।

उनको एउटै लक्ष्य छ: आमालाई सुखले राख्ने अनी बहिनीको बिहे गरिदिने। अनि उनको आफ्नै सपना चाहिँ के छ नी? उनका कुनै सपना छैनन्। किनभने उनको सपना उसै दिन बगेका हुन् जुन दिन बाढीले सबथोक बगाएको थियो।

उनी आसाममा गोठालो काम गर्छन्। दुनियाँ चिर निद्रामा हुँदा उनी बिहानै तीन बजेर उठेर गोठ धन्दा गर्छन्। केही पैसा कमाउँछन्। त्यो पैसामा उनले आमाको गलामा तिलहरी किन्ने सपना देख्छन्। बहिनी बिहे देख्छन्। तर, दुःखका पहाडले थिचिन बाँकी नै छ। उनले कमाएको पैसा कुनै एक साँझ आसाममै रहेको उनको आफन्तको नजरमा पर्छ।

यसरी पसिना बगाएर कमाएको पैसा पनि आफ्नो नभएपछि उनमा विरक्तपन सुरु हुन्छ। देश फर्कन्छन्। ठूली भइसकेकी बहिनी आफ्नो घर र बारी बन्धकी राखेर बिहे गरिदिन्छन्।

घरमा बुढी आमालाई पनि एक्लोपनले सताउन सुरु हुन्छ। बलरामको पनि बिहे गर्नुपर्ने बाध्यता छ। तर गरिबको झुपडीमा कसले गर्छ बिहे? एकदिन उनलाई पनि आफ्नो ठान्ने कोही हुन्छ। र उनले आमाका लागि बुहारी र आफ्नो लागि जीवनसाथी भित्र्याउँछ।

समयक्रममा बलराम  दुई छोरा र एक छोरीको बाउ बन्छन्। जेठो  छोरो देशको सेवा गर्न नेपाली सेना हुन्छ। कान्छो छोरी देशमा भइरहेको राजतन्त्र अन्त्य र मुक्तिका लागि माओवादीले सुरु गरेको शसस्त्र युद्धमा लाग्छ। बलरामलाई डर छ, कुनै न कुनै दिन यी भाइहरू एकआपसमा लड्नेछन् र पुन आफ्नो जीवन खण्डहर हुनेछ।

नभन्दै कालिकोट आक्रमण हुन्छ। रेडियो नेपालले भिडन्तको समाचार भन्छ। जसमा उनका दुवै छोराहरू गोली लागेर ज्यान गुमाउँछन्।

श्रीमती समयमा उपचार नपाएर ज्यान गुमाउँछिन्। हरेक पटक समयले उनको जीवनको परिक्षा लिइरन्छ। उनले हार मान्दैनन् सहनु उनले जिन्दगीको परिभाषाका रुपमा अर्थ्याउँछन्।

तर, उनी विगत भुल्दै जान चाहन्छन्, नियतिले उसलाई विगत सम्झाउन खोजिरहन्छ। छोरीको पनि बिहे गरिदिन्छन् उनले। यसरी उनी एक्ला बन्छन्। बुढ्यौली ज्यानले आराम खोज्छ। र एकदिन उनी सधैँको लागि चिर निद्रामा पुग्छन्।

प्रस्तुत अंश नाटक आतुरकालको हो।  इन्द्रेणी थियटर पोखराको नाटक आतुरकाल रसियन हाउसमा मञ्चन बिहिबार साँझ मञ्चन भएको हो। रसियन हाउस र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भदौ बिहिबार र शुक्रबार बेलुका ५ बजे मञ्चन भइरहेको छ। 

नाटकका लेखक केदारनाथका पौडेलका अनुसार विशेषत: गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक हो। नाटकका निर्देशक हुन् कपिल शर्मा। शर्माले नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ-आफ्नै सभ्यताहरू छन्। एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्छ भन्ने कुरा देखाएको बताउँछन्।

 'आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्छ। एउटा सन्तान/एउटा बाबु/एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्छ। समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र हो', उनले नाटक बारे भने।

उक्त नाटकमा लक्षमण डुम्रे,सितला अधिकारी, अर्जुन गुरुङ,प्रियङ्का खड्का ,रामहरि अधिकारी,पवन वि.क.ले अभिनय गरेका छन् भने संगीत तथा गायन शिवहरि अर्याल र विनोद पौडेलको रहेको छ। प्रकाश संयोजन  दिपेन्द्र पौडेलले गरेका छन्। सेट र कन्सेप्ट डिजाइन  लेखक पौडेलको रहेको छ। 

यो नाटक यसअघि २०७९ फाल्गुन  ५ देखी ११ गते सम्म पोखरा स्थित गन्धर्व नाटकघरमा  मञ्चन गरेको थियो

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.