सागर र सुष्मा बने उत्कृष्ट खेलाडी

|

ललितपुर : शसस्त्र प्रहरी बलको एपिएफ क्लबले वीर गणेशमान सिंह स्मृति पाचौँ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन भएको छ । 

जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा सम्पन्न प्रतियोगितामा एपिएफले ४ स्वर्ण ४ रजत र ४ काँस्य पदक जितेको छ । टिम च्याम्पियन भएसँगै एपिएफले १ लाख नगदसमेत पाएको छ।

कुल १३ इभेन्ट्समा भएको प्रतिस्पर्धामा ३ स्वर्ण १ रजत र ४ कास्यसहित नेपाली सेनाको टिम दोस्रो भएको छ। उसले ५० हजार नगद प्राप्त गरेको छ।​ यसैगरी फाइट क्लबले २ स्वर्ण र १ रजत पाउँदै तेस्रो भएर नगद २५ हजार पाएको छ।

प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका सागर दर्जीले पाए भने महिलातर्फ उत्कृष्ट खेलाडीको पुरस्कार ५० केजी तौल समूहकी विजेता सुष्मा चौधरीले जितिन्। उत्कृष्ट पुरुष र महिला खेलाडीलाई समान २५–२५ हजार नगद पुरस्कार गरिएको छ।

प्रतियोगितामा पुरुषको ५० केजी तौल समूहमा एपिएफका अनिश परियारलाई हराउँदै सेनाका धर्मेन्द्र रामले स्वर्ण पदक जितेका छन्। एपिएफका अनिलले पराजित हुँदै रजत पदकमा चित्त बुझाए। यही समूहमा सेमिफाइनलमा हारेका काल भैरव उसुक्वानका सुनिल तामाङ र सेनाका यमराज थापा मगरले काँस्य पदक पाएका छन्।

पुरुषको ५५ केजी तौल समूहमा फाइट क्लबका तीर्थराज थापाले स्वर्ण पदक पाउँदा ने क्योक्योसिनका एलिस बम्जनले रजत पदक प्राप्त गरेका छन्। यस्तै  गोर्कणेश्वर मुवाइथुँवाइका लाक्पा तामाङ र चितवन राइनोका गुमान घतीमगरले काँस्य पदक पाएका छन्। 

यस्तै पुरुष ६० केजी तौल समूहमा स्यो क्योक्योसिनका सागर दर्जीले स्वर्ण पदक जितेका छन्। उनले फाइनलमा एपिएफका पेम्बाछिरी तामाङलाई सजिलै हराए। फाइनलमा पराजित पेम्बाल रजत पदक पाएका छन्। यही समूहमा बिकेटी केबिसीका शिरिस भुजु र काभ्रे मुवाइँथुवाइ काभ्रेका लक्ष्मण श्रेष्ठले काँस्य पदक जितेका छन्।

यस्तै पुरुषको ६५ केजी तौलमा रेड फिटनेसका अर्जुन केसीले स्वर्ण पदक जित्दा एपिएफका डायमण्ड राईले रजत पदक पाए । एपिएफका अमर सुनार र सुदूरपश्चिमका महेन्द्र बहादुर चन्दले काँस्य पदक पाए।​

यसैगरी ७० केजी पुरुषमा नेपाली सेनाका सनि सिंहले स्वर्ण पदक जितेका छन् भने बुसिडो एमएमएका सबिन डिमडुङले फाइनलमा पराजित हुँदै रजत पदक पाए। यस्तै हरिसिद्धी उसु क्वानका राजेश रायमाझी र रेज  फिटनेसका आसुतोष मुल्मीले काँस्य पदक पाए। 

पुरुषको ७५ केजी तौलमा एपिएफका अनिश साहीले स्वर्ण पदक, स्ट्रोङगेष्ट मुवाइँथुवाइँका आशिष तामाङले रजत पदक तथा सुदूरपश्चिमका जेनिस सिंह र आर्मीका मिलन तामाङले काँस्य पदक जित्न सफल भए।​

यसैगरी पुरुष खुल्ला तौलमा फाइट क्लबका सन्जन तामाङले स्वर्ण पदक जित्न सफल भएका छन्। यस्तै बुद्ध उसु क्वानका गणेश श्रेष्ठले रजत पदक जित्दा काभ्रे मुवाइँथुवाइँका श्रृजन थापा र एपिएफका सन्जीव मर्हजनले काँस्य पदक जितेका छन् । 

गणेशमान किक बक्सिङको महिलाको खुला तौल समूहमा नेपाली सेनाकी मन्जु बिकेले स्वर्ण पदक हात पार्दा एपिएफकी मनिता राईले रजत पदक ल्याइन्। आयोजककी दुर्गा महतरा र बिकेटी केबिसीकी रजिना भुजेलले कास्य पदक प्राप्त गरे।

महिलाको ६५ केजी तौल समूहमा एपिएफकी सुनिता विकलाई हराउँदै शिवानी श्रेष्ठले स्वर्ण पदक जितिन्। फाइनलमा पराजित सुनिताले रजत पदक पाउँदा सेमिफाइनलमा हारेका नेपाली सेनाकी शोभा अधिकारी र आयोजककी विभा गुरुङले काँस्य पदक पाए। 

महिलाको ६० केजी तौल समूहमा एपिएफकी निसा विकले स्वर्ण पदक जित्दा बिकेटीकेबिसीकी अनिसा तामाङले रजत पदक पाइन् । नेपाली सेनाकी अप्सरा कुमाल र आइकेकेएफएफसीकी चन्दा कुमारी भुजेलले काँस्य पदकमा चित्त बुझाए। 

महिलाको ५५ केजी तौल समूहमा एपिएफकी विद्या गुरुङले स्वर्ण पदक जित्दा नेपाली सेनाकी अनुपा नेपालीले रजत पदक जितिन्। यस्तै आर्मीकी सपना आले र मकवानपुर बाकोकी उर्मीला थिङले काँस्य पदक जितेका छन्। 

महिलाको ५० केजी तौल समूहमा स्ट्रोङगेष्ट मुवाईथाइँकी सुष्मा चौधरीले स्वर्ण पदक जितेकी छन्। फाइनलमा सुष्मासँग पराजित भएकी एपिएफकी दीपा शाहीले रजत पदक जितेकी छिन् । यो समूहमा एपिएफकी कमला बोहरा र मकवानपुर बाकोकी डोल्मा बम्जनले काँस्य पदक पाएका छन्। 

महिलाको ४५ केजी तौल समूहमा ठेचो डोजोकी सलिना खालिङ राईलाई हराउँदै सोही डोजोकी रिना माझीले स्वर्ण पदक जितिन्। फाइनलमा पराजित सलिनाले रजत पदक जित्दा सेमिफाइनलमा पराजित आयोजककी सीमा सुनुवार र एपिएफकी लिला कुमारी सापकोटाले काँस्य पदक पाए।

प्रतियोगितामा प्रत्येक तौल समूहका विजेतालाई ३० हजार , उपविजेतालाई १५ हजार र तेस्रो हुने दुबै जनालाई नगद ८–८ हजार प्रदान गरिएको छ। विजेता खेलाडी तथा टिमलाई कांग्रेस महामन्त्री गगन थापा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसीङ लगायतले पुरस्कृत गरे। 

समापन समारोहमा बोल्दै महामन्त्री थापाले खेलकुदको विकासका निम्ति पूर्वाधारको विकास महत्वपूर्ण हुने बताए। उनले प्याङगाउँका दर्शकले खेललाई बुझेको बताउँदै अरु स्थानमा पनि यस्तै दर्शक आर्कषित हुने प्रतियोगिता गर्न सके खेलकुद प्रतिको आकर्षण बढ्ने दाबी गरे। ललितपुर महानगरका मेयर चिरीबाबु मर्हजनले आफूले सक्दो सहयोग यो प्रतियोगितालाई गरिरहने वचन दिए । 

अतिथिहरुबाट प्रतियोगिता संचालन गरेवापत प्रशंशा पाएका प्रतियोगिताका संयोजक एवं परिकल्पनाकार प्रदेश सभा सदस्य मिनकृष्ण मर्हजनले खेलकुदको विकास लागि आफूले सक्दो प्रयास गरिरहने बताए।

बिहीबारदेखि ३ दिनसम्म चलेको प्रतियोगितामा पुरुषका ७ र महिलाका ६ वटा गरी कुल १३ इभेण्ट्समा प्रतिस्पर्धा भएको हो।   

पुरुषमा ५० केजी , ५५ केजी , ६० केजी , ६५ केजी ,७० केजी, ७५ केजी र खुल्ला तौल गरी ७ तौल समूहमा  र महिलमा ४५ केजी , ५० केजी , ५५ केजी , ६० केजी , ६५ केजी र खुल्ला गरी ६ तौल समूहमै प्रतिस्पर्धा भएको थियो। 

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको छ।

२ सय ८१ जना खेलाडीले भाग लिएको प्रतियोगिता आयोजनामा मुख्य सहयोग गोदावरी नगरपालिका रहेको छ भने बागमती प्रदेश खेलकुद विकास समितिले पनि प्रतियोगितालाई सहयोग गरेको छ।

५० लाख बजेट रहेको प्रतियोगितामा ३ विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, एपीएफको साथमा उसु, कराते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट, मुवाँथाई लगायतका टोलीको सहभागिता रहेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.