|

दाङ : तुलसीपुर उपमहानगरपालिका-१९ विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा आयुर्वैदिक औषधि उत्पादन गर्न निर्माणाधीन भवन समयमै नबन्दा औषधि उत्पादन केन्द्रको लागि आएको बजेट फ्रिज भएको छ।

औषधि उत्पादन केन्द्रको लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा ३ करोड बजेट छुट्ट्याएको भए पनि भवन निर्माणको काम समयमा नसकिँदा बजेट फ्रिज भएको उनको भनाइ छ।

आयुर्वेद औषधि उत्पादन केन्द्र संचालन गर्ने प्रदेश सरकारको सोच अनुसार भवन निर्माण गरेको थियो। २०७७ भदौ ११ देखि भवन निर्माण शुरु भएर गत आर्थिक वर्ष अस्पताललाई भवन हस्तान्तरण हुनुपर्ने भए पनि अहिलेसम्म नभएको अस्पतालका निमित्त प्रमुख डा सन्तोषकुमार ठाकुरले बताए।

शहरी विकास तथा भवन कार्यालय दाङको मातहतमा यो भवन निर्माण गर्नको जिम्मा भएको हुँदा कार्यालयले नै सबै हेर्ने गरेको समेत उनले बताए।

उनले भने, ‘यस अस्पतालमा आएको करिब डेढ वर्ष पुग्न लाग्यो। करिब १५/२० दिन जति काम भएको होला। त्यसपछि अहिले काम भएको छैन। भवन निर्माण अहिलेसम्म सकिएको छैन‚ जस्ताको तस्तै रहेको छ। यो औषधि उत्पादन केन्द्र धेरै प्रयत्न गरेपछि मात्र निर्माण हुन लागेको हो।’

उनले भने, ‘हामीलाई यो भवन गत आर्थिक वर्ष नै हस्तान्तरण हुनु पर्नेमा अहिलेसम्म भएको छैन। यसको सबै जिम्मा भवन कार्यालयलाई भएको हुँदा के कारणले ढिलाई भएको हो? त्यो हामीलाई जानकारी छैन। अहिले भवन निर्माणको लागि कुनै पनि क्रियाकलापहरु भएको देखिँदैन।’ 

प्रदेश सरकारले यसलाई  प्राथमिकतामा राखेर आयुर्वेद औषधि उत्पादन केन्द्र बनाउने लागेको रहेको भन्दै उनले यहाँबाट गुणस्तरीय औषधि उत्पादन गर्ने लक्ष्य रहेको बताए।

उनले भने, ‘गुणस्तरीय औषधि प्रदेशवासीले सहजै पाउन् भनेर नै प्रदेश सरकारले यो भवन निर्माण गरेको हो तर निर्माणमा भएको ढिलाइले गर्दा समस्या भइरहेको छ।’ यहाँ औषधि उत्पादन केन्द्र संचालनमा आएपछि बिरामीहरु मात्र नभइ सबैलाई फाइदा हुने समेत उनको भनाइ छ ।

उनका अनुसार एउटा त गुणस्तरीय औषधिको सहज आपूर्ति हुनेछ। प्रदेशमा रहेका जडीबुटीको सदुपयोग पनि हुनेछ। यसैगरी केन्द्र संचालनमा आए यहाँका बासिन्दाका लागि रोजगारी सृजना हुने र कृषकको आकर्षण जडिबुटी खेतीतर्फ बढ्ने हुँदा यो भवन अविलम्ब निर्माण हुनुपर्ने समेत उनले बताए।

अहिले अस्पतालले सार्वजनिक खरिद ऐनअनुसार ठेक्कापट्टाको माध्यमबाट औषधि आपूर्ति गर्ने गरेको समेत उनले बताए। उनका अनुसार अस्पतालले केही मात्रामा आवश्यकताअनुसार औषधि बनाउँछ।

करिब ३ करोड लगानीमा भवन निर्माण

शहरी विकास तथा भवन कार्यालय दाङका अनुसार पानी परिरहेकाले केही दिनदेखि काम बन्द भएको र अबको केही दिनपछि भवन निर्माणको काम हुनेछ। 

भवनको धेरैजसो काम सम्पन्न भएको र अब केही मात्रामा बाँकी रहेको हुँदा २/ ४ महिनामा काम सकिने कार्यालयका निमित्त प्रमुख अनन्तकुमार देवले बताए।

उनका अनुसार २०७७ भदौ ५ गते निर्माण शुरु भएको र यसको लागत भ्याटबाहेक २ करोड ७२ लाख ६३ हजार ६७४ रुपैयाँ रहेको छ। 

भवन निर्माणको जिम्मा एमएस जलजला आशु जय माँ स्वर्गद्वारी जेभी मनिकापुर दाङले पाएको हो। निर्माण सम्पन्न २०७९ अन्तिमसम्म हुनुपर्ने भए पनि विविध कारणले गर्दा अहिले ९ महिना थप समय दिएकाले तोकिएको समयमा निर्माण हुने कार्यालयले जनाएको छ।

कार्यालयले जिल्लामा सरकारी भवन तथा अस्पताल तथा सामुदायिक भवनहरु बनाउने गर्छ। जिल्लामा कार्यालयले निर्माण गर्न जिम्मा पाएका भवनहरुमध्ये करिब ९५ प्रतिशत भवन निर्माण भइसकेको कार्यालयका निमित्त प्रमुख देवले बताए।

उनले भने,‘धेरैजसो भवनको निर्माण कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको र केही मात्रा क्रमागत रुपमा रहेको हुँदा निर्माणका क्रममा रहेका छन्। ती पनि केही महिनामा सम्पन्न हुने गरी तयारी रहेको छ।’ 

उनका अनुसार कहिलेकाहिँ यताको बजेट उता र उताको बजेट यता सार्दा समस्या हुने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.