|

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा कोरम नपुगेपछि स्थगित भएको छ। सहिद स्मारक लिगका ४२ क्लबमध्ये अधिकांश विरोधका बाबजुद आइतबारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा बहुमत नपुगेपछि सोमबारको लागि सारिएको छ।

कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र भर्चुअल रूपमा उपस्थित भएका थिए। एन्फाको विधान २०७७ संस्करणको धारा (२८) को (१) बमोजिम गणपूरक संख्या अपुग भएकाले पुनः उक्त एन्फा विशेष साधारणसभा विधानको धारा २८ को २–३ अनुरूप अनलाइनमार्फत २०८० भाद्र २५ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ।

भौतिक उपस्थितिमा साधारणसभा गराउन माग  
सहिद स्मारक लिगका क्लबहरूले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरीत हुने भन्दै भौतिक उपस्थितिको माग गरेका थिए। वर्तमान नेतृत्वले स्वेच्छाचारी काम गरेको आरोप खेप्दै आएको छ। यसअघि गत भदौ ६ गते ३२ वटा क्लबले भौतिक उपस्थितिमा विशेष साधारणसभा माग गरेका थिए।

क्लबहरूले विशेष साधारणसभा एन्फा विधानको धारा ३६ बमोजिम सम्पूर्ण सदस्यहरूको भौतिक उपस्थितिमा गराउन जोडदार माग गरेका थिए। ज्ञापनपत्रमा लेखिएको छ, ‘विधानमा स्पष्ट रूपमा विशेष परिस्थिति, महामारी र असहज अवस्थामा मात्र भर्चुअल बैठक गर्न मिल्ने व्यवस्था भएकोले सदस्यहरूको भौतिक उपस्थितिमा विभिन्न विषयमा समेत सहज छलफल गर्न पाउने विधानको धारा ३७ (६) सम्बद्ध व्यवस्थालाई कुण्ठित नगरियोस् भन्ने हाम्रो ठम्याइ छ।’

एन्फा प्रवक्ता शाहले विशेष साधारणसभाको पुरानै अडिटरको कार्यकाल नवीकरण गर्ने भएकाले भर्चुअल गरिएको बताए। ‘छलफलमा एक मात्र एजेन्डा अघिल्लो समितिले नियुक्त गरेको अडिटरको कार्यकाल थप गर्ने मात्र भएकाले आर्थिक भारलाई मद्देनजर गरेर भर्चुअल गरिएको हो’, उनले भने, ‘एउटा साधारणसभा गर्न ४०, ५० लाख खर्च हुन्छ। अडिटरको नवीकरणका लागि मात्र भएकाले आर्थिक भार कम गराउने हाम्रो प्रयास हो।’

क्लबहरूले भोलि गर्ने भनिएको साधारणसभा पनि बहिष्कार गर्ने बताएका छन्। अल्पमतमा पर्ने सम्भावना देखेपछि नेम्वाङ समूहले भर्चुअल मार्फत एजेन्डा पास गराउने प्रयास गरेको क्लबहरूको आरोप छ।

नेम्वाङ एन्फा नेतृत्वमा आएपछि १४ महिनादेखि विवादका बीचबाट अघि बढिरहेको छ। कार्य समितिको पहिलो निर्णयबाट विवादित बनेको नेम्वाङ समूहले त्यसपछि समेत पटक पटक विधान मिचेर काम गर्दै आएको छ।

कार्यसमिति बैठकबाट मैत्रीपूर्ण खेलदेखि उपचारका निर्णय
आजै बसेको कार्य समितिको बैठकले राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेल सहित विविध निर्णय गरेको छ। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इङल्यान्डको तेस्रो श्रेणीको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने  भएको हो। अप्रिल र मे महिनाभित्र दुई मैत्रीपूर्ण खेल खेल्ने निर्णय भएको एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ। 

यसैगरी बैठकले खेल र प्रशिक्षणका दौरान घाइते भएका तथा दीर्घरोगी विभिन्न उमेर समूह खेलाडी तथा रेफ्रीहरूलाई आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ। 

यु–१५ राष्ट्रिय महिला खेलाडी यशोदा बोहरालाई ५ लाख, यु–१९ खेलाडी संजोग मोक्तानलाई १ लाख ५० हजार, स्वर्गीय फिफा सहायक रेफ्री विक्रम चौधरीको परिवारलाई ३ लाख, भूपू फिफा सहायक रेफ्री तथा रेफ्री एसेसर गजेन्द्रमान सिंहलाई १ लाख र क्यान्सर पीडित पूर्व खेलाडी सीता कुमारी पौडेललाई १ लाख सहयोग गर्ने निर्णय भएको छ।

बैठकले महिला तथा अन्य फुटबल विकासको कार्यक्रम सञ्चालन गर्न विभिन्न देशका फुटबल संघ र दातृ निकायसँग आवश्यक पर्ने आर्थिक तथा अन्य सम्झौता गर्न अध्यक्ष नेम्वाङलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.