|

जुम्ला : सिंजाको नराकोटस्थित इलाका प्रशासन कार्यालयमा एक सातादेखि कर्मचारी छैनन्। सिंजा क्षेत्रका ३ वटा गाउँपालिका हिमा, सिंजा र कनकासुन्दरीका बासिन्दाले कार्यालयमा कर्मचारी नहुँदा नागरिकता बनाउने लगायत कुनै पनि काम नभएको गुनासो गरेका छन्।

सिंजा क्षेत्रका ३ वटा गाउँपालिका हिमा, सिंजा र कनकासुन्दरीका बासिन्दाको सहजताका लागि इलाका प्रशासन राखिएको हो।

कामु शाखा अधिकृत नायव सुब्बा सुरत गिरीको सरुवा भएपछि इलाका प्रशासन नराकोट कर्मचारीविहीन भएको हो। इलाका प्रशासन कर्मचारीविहीन भएपछि सेवाग्राहीले नागरिकता बनाउने लगायत सेवा पाउन सकेका छैनन्।

स्थानीय दलवीर रोकायाका अनुसार वर्षा यामको समयमा भौगोलिक विकटता र कठिनाइका साथ सेवा लिन आएकाले सेवा पाउने गरेका छैनन्। उनले भने‚ ‘कर्मचारीविहीन इलाका प्रशासनबाट नागरिकता पाएका छैनन्। एक सातादेखि इलाका प्रशासनमा आएर सेवा नपाएरै फर्किेने गरेका छन्।’

इलाका प्रशासन कार्यालयबाट स्थानीयले नागरिकता नपाउनु दुःखद् भएको राष्ट्रिय मानवअधिकार आयोग शाखा कार्यालय जुम्लाका प्रमुख धनराज शाहीले बताए। उनले  यस विषयमा आयोगको ध्यानाकर्षण भएको बताए।

उनले भने‚ ‘सिंजा क्षेत्रका तीन गाउँपालिकाका नागरिकले इलाका प्रशासन नराकोटबाट नागरिकता प्राप्त गर्दै आएका थिए। एक सातादेखि इलाका प्रशासनबाट नागरिकता वितरण नभएको र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने जानकारी प्राप्त भएको छ।’

तत्कालीन इलाका प्रशासनमा कर्मचारीको व्यवस्थापन गरी नागरिकता वितरण गर्न वातावरण सिर्जना गर्न जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालयलाई पत्राचार गर्ने उनले बताए।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार १० दिनअघि इलाका प्रशासनमा रहेका कामु शाखा अधिकृत नायव सुव्बा सुरत गिरीको सरुवा भएको हो।

उनले भने‚ ‘गिरीलाई ६ महिनाका लागि इलाकामा खटाइएको थियो। अहिले उहाँको सरुवा भएपछि इलाका प्रशासनमा कर्मचारीविहीन भएको हो। इलाका प्रशासन कर्मचारीविहीन भएपछि अहिले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता वितरण भईरहेको छ। यस विषयमा गृह मन्त्रालयमा पनि पत्राचार गरिएको छ।’

इलाका प्रशासनमा कर्मचारी सरुवा भएर नआउन्जेलसम्म समस्या हुने देखिएको प्रजिअ घिमिरेले बताए। इलाका प्रशासन कार्यालय नरोकाटबाट सेवा लिने जनसंख्या हिमा गाउँपालिकामा १२ हजार १९१ जना, कनकासुन्दरीमा १३ हजार ६२५ जना र सिंजा गाउँपालिकामा १२ हजार ५५६ जना रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.