यस्तो छ नेपालको तयारी

|

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण–पूर्वी एशिया (सेरो) क्षेत्रीय कार्यालयको निर्देशकको चुनाव आगामी अक्टोबर ३० मा भारतमा हुँदैछ।

डब्लूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रको आगामी अक्टोबर ३० देखि नोभेम्बर २ सम्म भारतको दिल्लीमा चल्ने बन्दसत्रमा दक्षिण–पूर्वी एशिया क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुने भएको हो।

अहिले दक्षिण पूर्वी एशिया निर्देशकमा भारतकी डा‍.पुनम क्षेत्रपाल रहेकी छन्। उनको कार्यकाल अक्टोबर ३० मा सकिन लागेपछि आगामी क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुन लागेको हो।

दक्षिण पूर्वी एशिया क्षेत्रका देशमा नेपालसहित बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मा, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लेस्टे गरी ११ राष्ट्र रहेका छन्।

यी देशले नै क्षेत्रीय निर्देशक चयनको लागि यी देशका स्वास्थ्यमन्त्रीले मतदान गर्ने व्यवस्था रहेको छ। दक्षिण पूर्वी एशियाको स्वास्थ्य क्षेत्रको विकासको लागि विशेष भूमिका खेल्ने हुँदा डब्ल्युएचओ क्षेत्रीय निर्देशकलाई महत्त्वपूर्ण मानिन्छ।

डब्ल्युएचओको एशिया क्षेत्रको निर्देशकमा यो पटक नेपालका तर्फबाट पनि उम्मेदवारी परेको छ। डब्लूएचओको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत नेपाली डा. शम्भु आचार्यलाई उम्मेदवार बनाउने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो।

जसअनुसार नेपालका तर्फबाट डा शम्भु आचार्यले उम्मेदवारी दिएका हुन्। परराष्ट्र मन्त्रालयले राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशकमा आचार्यको उम्मेदवारीबारे जानकारी गराइसकेको छ।

उक्त पदमा नेपालबाट डा आचार्यसँगै बङ्गलादेशको पनि उम्मेदवारी परेको छ। बंगलादेशले त्यहाँकी प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी साइमालाई उम्मेदवार बनाएको छ।

त्यसैले यसपटक नेपाल र बंगलादेश डब्लूएचओको आगामी क्षेत्रीय निर्देशकको लागि भिड्दैछन्। यसले गर्दा पनि डब्ल्युएचओको दक्षिण पूर्वी एशिया क्षेत्रको आगामी निर्देशकको लागि निर्वाचन हुने लगभग निश्चितजस्तै बनेको छ।

डब्ल्युएचओको दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालको यो चौथो पटकको दाबी हो। यसअघि वरिष्ठ जनस्वाथ्यविद् डा. रिता थापा र डा. सुनिति आचार्यले तथा नारायणकेशरी शाहले पनि उम्मेदवारी दिएका थिए।

तत्कालीन समयमा नारायणकेशरी शाह निर्वाचनमा मात्र एक मतले पराजित भएका थिए। सर्वसम्मत रूपमा नचुनिए क्षेत्रीय  निर्देशकको लागि सबै ११ वटै देशकै मतदानबाट निर्देशक चुनिने व्यवस्था रहेको छ।

अहिले दक्षिण पूर्वी एशिया निर्देशकमा रहेकी भारतीय डा. क्षेत्रपाल दोस्रो कार्यकालमा क्षेत्रीय निर्देशकको रूपमा काम गरिरहेकी छन्। सन् २०१४ मा पहिलो पटक निर्विरोध भएकी उनी सन् २०१८ मा पनि निर्विरोध भएकी हुन्।

को हुन् डा शम्भु आचार्य ?

नेपालले उम्मेदवार बनाएका डा. आचार्य सन् १९९२ देखि  डब्लूएचओमा आबद्ध भएर काम गरिरहेका छन्। सन् २०१६ देखि उनी डब्लूएचओको मुख्यालयमा निर्देशकको रूपमा कार्यरत रहेका छन्।

जनस्वास्थ्यविद समेत रहेका डा. आचार्य पाल्पाको भुटुका गाउँमा जन्मेका हुन्। स्वास्थ्य सेवामा तल्लो तहदेखि नै काम गरेका उनले सुरुमा बाँसबारी छाला जुत्ता कारखानामा काम गरेका थिए।

त्यसपछि परिवार नियोजन संघमा संलग्न भए। अमेरिकाबाट स्वास्थ्य नीति तथा व्यवस्थापन विषयमा उनले विद्यावारिधि गरेका छन्। अमेरिकामा अध्ययन सकेपछि उनले वासिङ्टनस्थित विश्व बैंकमा इन्टर्नको रूपमा समेत काम गरेका थिए। उनीसँग बंगलादेशको ढाकामा परामर्शदाता भएर काम गरेको अनुभव पनि छ।

आचार्य ३३ वर्षको हुँदा प्रोग्राम म्यानेजरका रूपमा डब्लूएचओमा प्रवेश गरेका थिए । उनीसँग डब्लूएचओको भारतमा काम गरेको अनुभव पनि छ। आचार्य विगत ३० वर्षदेखि विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्त्वपूर्ण जम्मेवारीमा रही काम गर्दै आएका छन्।

आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव पनि छ।

डा.आचार्य हाल डब्लूएचओको मुख्यालयमा प्रमुख डा टेड्रोस अधानोम घेब्रेसियस अन्तर्गत रहेको कन्ट्री स्ट्राटेजी एण्ड सपोर्टको निर्देशक हुन् र उनी जेनेभा हेडक्वार्टरमा कार्यरत रहेका छन्। नेपालबाट हालसम्म डब्लूएचओको उच्च पदमा पुगेर काम गर्ने पहिलो नेपाली समेत हुन् उनी। 

केही समयअघि नेपालमा आएका उनले एशियाअन्तर्गतका देशको प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै सम्पूर्ण जनसङ्ख्यामा देखिएको स्वास्थ्य समस्याको मुख्य कारण पत्ता लगाउँदै त्यसको निवारणमा सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने इच्छा रहेको हुँदा डब्लूएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिएको बताएका थिए।

‘दक्षिण पूर्वी एशियाअन्तर्गतका देशको प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै सम्पूर्ण जनसङ्ख्यामा देखिएको स्वास्थ्य समस्याको मुख्य कारण पत्ता लगाउँदै त्यसको निवारणमा सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छु,’ डा आचार्यले भने, ‘त्यसबाहेक विश्वव्यापी प्राथमिक स्वास्थ्य सेवामा बलियो र समावेशी पहुँच स्थापित गर्दै दिगो विकासका लक्ष्य हासिल गर्नुलाई पनि प्राथमिकतामा राखेको छु।’

दीगो विकासले लिएका स्वास्थ्यसम्बन्धी लक्ष्य पूरा गर्न दक्षिण पूर्वी एशियाका सदस्य राष्ट्रका लागि बजेटसँगै जनशक्तिको पनि अभाव रहेको भन्दै त्यसतर्फ पनि काम गर्नुपर्ने उनले बताएका थिए।

दिगो विकासले स्वास्थ्य क्षेत्रको विकासका लागि लिएका लक्ष्य पूरा गर्नका लागि सन् २०३० सम्ममा विश्वव्यापीरूपमा सबै प्रकारका स्वास्थ्य जनशक्ति गरेर १ करोड ८० लाख जनशक्ति आवश्यक छ।

को हुन् साइमा वाजेद?

डब्लूएचओको आगामी दक्षिण पूर्वी एशियाको क्षेत्रीय निर्देशकको लागि बंगलादेशको तर्फबाट दाबी गर्ने साइमा बाजेद बंगलादेशकी हालकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। उनी पेशाले मनोवैज्ञानिक हुन्।

हाल उनी बंगलादेशको सरकारको सल्लाहकार पनि हुन् जसले गर्दा उनी उच्चस्तरीय कूटनीतिक अभियानको हिस्सा रहँदै आएकी छन्। बंगलादेशको प्रधानमन्त्रीस्तरीय हुने उच्चस्तीय भ्रमणमा उनको सहभागी हुने गरेको बताइएको छ।

साइमा वाजेद केही समयअघि आसियान समिटमा हिस्सा लिन बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग इन्डिोनेसिया पुगेकी थिइन। जकार्तामा उनले इन्डोनेसियाका विदेशमन्त्री रेटनो मर्सुर्दीसँग भेटघाट गरेकी छन् ।

वाजेदले म्यान्मा र थाइल्याण्डको समर्थन पाउने प्रयास गरिरहेकी समेत भारतीय अंग्रेजी पत्रिका ‘द हिन्दु’ ले उल्लेख गरेको छ। सेरोको आगामी निर्देशको लागि दाबी गरिरहेको साइमा बाजेद हालै भारतमा सम्पन्न भएको जी–२० सम्मेलनमा आफ्नी आमा शेख हसिनासँगै पुगेकी थिइन्।

गर्ला भारतले डा आचार्यलाई समर्थन ?

​​डब्ल्युएचओको दक्षिण पूर्वी एशिया क्षेत्रमा रहेका ११ वटा देशहरु मध्ये भारत शक्तिशाली देश मानिन्छ। जसले गर्दा डब्ल्युएचओको आगामी क्षेत्रीय निर्देशकमा भारतले (नेपाल र बंगलादेश) मध्ये जसलाई समर्थन गर्छ सोही देशका प्रतिनिधि क्षेत्रीय निर्देशकमा नियुक्त हुने हुँदा भारतको समर्थन निणार्यक मानिन्छ। तर यो पटक भारत भने नेपाल वा बंगलादेश मध्ये कसलाई समर्थन गर्ने भन्ने दोधारमा रहेको बताइएको छ।

भारतीय अंग्रेजी पत्रिका ‘द हिन्दु’ ले यसबारे एक रिपोर्ट प्रकाशित एक रिपोर्टले पनि भारत सरकारका अधिकारीहरुसँग यस विषयमा जिज्ञासा राख्दा अधिकारीहरूले निर्णय लिनका लागि अझै समय बाँकी रहेको प्रतिक्रिया दिएको उल्लेख गरेको छ।

सोही रिपोर्टमा हाल भारत र बंगलादेशबीचको सम्बन्धलाई ध्यानमा राख्दै बंगलादेशी उम्मेदवार साइमा वाजेदको पल्ला भारी हुनसक्ने संकेत भारतीय अधिकारीहरुले गरेको समेत उल्लेख गरेको छ।

यस्तोमा चुनावमा पारस्परिक सम्बन्धको आधारमा नै भोटिङ गरिन्छ। अर्थात् यदि कुनै देशले अरु देशको समर्थन गर्दा उसले संयुक्त राष्ट्रसंघका अन्य मुद्दामा पारस्परिकताको आधारमा उक्त मुलुकको समर्थन गर्ने गरेको पाइन्छ।

डब्लूएचओका प्रमुख डा टेड्रोस कसरलाई समर्थन गर्लान?

अबको केही हप्तामानै भारतमानै डब्लूएचओको क्षेत्रिय निर्देशकको लागि हुने निर्वाचनमा डब्लूएचओका प्रमुख डा.टेड्रोस अधानोम घेब्रेसियसको समर्थनले पनि अर्थपूर्ण भूमिका निर्वाह गर्ने हुदाँ उनको समर्थन डा आर्चाय र साइमा वाजेदमध्ये कसलाई हुन्छ भन्ने विषय उठिरहेको छ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियस हालै भारतमा सम्पन्न जी–२० सम्मेलनको लागि भाग लिन भन्दै भारतको नयाँ दिल्ली पुगेका थिए। जी–२० सम्मेलनमा भाग लिन दिल्ली पुगेको समयमा डा. टेड्रोसले आफ्ना सहकर्मी डा आचार्यको पक्षमा महोल बनाउन साइटलाइन वार्ता गर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनले आफ्नो सहकर्मी आचार्यको साथ दिने अनुमान गरिएको भारतीय अंग्रेजी पत्रिका ‘द हिन्दु’ ले यसबारे प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ। द हिन्दु’मा प्रकाशित उक्त रिपोटमा आफ्ना सहकर्मी समेत रहेका र काम गर्ने दक्षताको हिसाबले डब्लूएचओको शीर्ष पदका लागि उपयुक्त हुने भन्दै उनले आफ्नो सहकर्मी आचार्यको साथ दिने अनुमान गरिएको जनाएको छ।

यस्तोमा दुवै पक्षले आ–आफ्ना पक्षका उम्मेदवारहरूका लागि एसईएआरओ देशहरूलाई मनाउने प्रयास गर्नेछन्। साथै नेपाल र बंगलादेश दुवै पक्षको अहं भूमिका निभाउने देशहरूलाई प्रभावित गर्ने प्रयास रहनेछ।

कस्तो छ नेपालको तयारी

स्वास्थ्य क्षेत्रमा काम र अनुभवको आधारमा नेपालको तर्फबाट सेरोको निर्देशका डा.आचार्यलाई एकदमै उपयुक्त पात्र भएको उनको चयनको लागि सबैले पहल गर्नुपर्ने विज्ञले बताएका छन\।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाका अनुसार नेपालको मात्रै होइन दक्षिण एशियाली देशहरुकै स्वास्थ्य अवस्था र समस्यालाई राम्रो संग बुझेका आचार्य सेरोको निर्देशकको लागि उयुक्त पात्र हुन।

‘ काम र अनुभवको आधारमा डा. आचार्य उम्मेदवार बनाउनु पाउनु हाम्रो गौरवको कुरा हो, नेपालको मात्रै नभएर उहाँमा सेरो अन्तर्गकै देशकोहरुको स्वास्थ्य प्रणाली,समस्याका बारेमा उहाँमा राम्रो ज्ञान छ त्यसैले नेपालको मात्रै नभएर दक्षिण एशियाकै स्वास्थ्य सेवाको गुणस्तरको लागि उहाँलाई निर्वाचित गराउनु पर्ने अवस्था छ यसमा सबै सरोकारवालाले उल्लेख्य भूमिका खेल्नेछन्’, डा. देवकोटाले भने।

डब्लूएचओको क्षेत्रीय निर्देशकमा निर्वाचित गराउन सकेमा डब्लूएचओबाट नेपाले सहयोग लिन झन् सजिलो हुने समेत डा. देवकोटाको भनाइ छ।

डा. शम्भु आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै नेपालले पनि आफ्नो तयारी अगाडी बढाएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराइ सकेको छ।

यसका लागि परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्बन्धित नेपाली नियोगहरू र स्वयं डा. आचार्य खटिरहेका छन्। उक्त पदको लागि उम्मेदवारी दिए पछि नेपाल आएका उनी हाल आफूलाई मतदान गर्ने देशहरुको भ्रमणमा निस्केका छन्। 

पछिल्लो समय नेपालबाट हुने स्वास्थ्यमन्त्री स्तरीय हरेको वैदेशिक भ्रमणमा डा. आचार्यका पक्षमा नेपाल सरकारको प्रतिनिधिका रुपमा र स्वास्थ्य मन्त्रीका हैसियलले सरोकारवाला देशका लबिङ गरिरहेको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बताउने गरेका छन्।

आइतबार मात्रै इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिए फर्किएका मन्त्री बस्नेतले आगामी महिना हुने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका दक्षिण पूर्वी एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका नेपालका जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्यका पक्षमा नेपाल सरकारको प्रतिनिधिका रूपमा र स्वास्थ्य मन्त्रीका हैसियलले सरोकारवाला देशका स्वास्थ्यमन्त्रीसँग ‘लबिङ’ गरेको समेत बताएका थिए।

यस्तै यसअघि स्विट्जरल्याण्डको जेनेभामा ७ देखि १८ जेठसम्म डब्लूएचओको ७६ औं महासभामा भाग लिन पुगेको समयमा पनि स्वास्थ्य मन्त्री बस्नेतले भ्रमणको मुख्य एजेण्डा महासभामा भाग लिन पुगेका डब्लूएचओको दक्षिण पूर्वी एशियाका देशका प्रतिनिधिसँग डा. शम्भु आचार्यको समर्थनको लागि लबिङ गर्ने रहेको बताएका थिए।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत १७ जेठदेखि ४ देखिएको भारत भ्रमणमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको तर्फबाट पठाएको एजेण्डामा डब्लूएचओको क्षेत्रीय निर्देशकमा डा. शम्भु आचार्यलाई निर्वाचित गराउन भारतीय पक्षको सहयोग जुटाउने औपचारिक प्रस्ताव गर्ने विषयलाई दोस्रो एजेण्डामा राखेको थियो।

दक्षिण पूर्वी एशिया निर्देशकमा भारतकी  डा. पुनम क्षेत्रपाल छन्। उनी दोस्रो कार्यकाल क्षेत्रीय निर्देशकको रूपमा काम गरिरहेकी छन्। सन् २०१४ मा पहिलो पटक निर्विरोध भएकी उनी २०१८ मा पनि निर्विरोध भएकी हुन्।

उनको दुबै कार्यकालको लागि नेपालले समर्थन गरेको थियो। अनुसार सेरोको निर्देशकमा भारतले जसलाई समर्थन गर्छ उही देशका प्रतिनिधीले निर्वाचन हुने हुने लगभग निश्चितजस्तै भएको हुँदा यो पटक सरकारी उच्चस्तरमा नै भारतलाई नेपाललाई समर्थन गर्न लबिङ गर्नु पर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयका अर्का एक उच्च अधिकारीको भनाइ छ।

‘यो पटक सेरोको निर्देशकका लागि नेपालबाट परेको उम्मेदवार काम अनुभवको आधारमा एकदमै राम्रो पात्र हुनुहुन्छ। यदि भारतले समर्थन गरे हाम्रो उम्मेदवारले जित्ने सम्भावना धेरै छ’, उनले भने, ‘यस्तो अवस्थामा उच्च सरकारी तहबाटै सरकारले लबिङ गर्नु पर्ने अवस्था छ। नेपालले सेरोको निर्देशक पाउन सके नेपालको स्वास्थ्य क्षेत्रको विकासको लागि धेरै फाइदा पुग्छ’।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.