|

भोजपुर  : वातावरणको संरक्षणको लागि नेपाली सेनाले दुई हजार छ सय विरुवा रोपेको छ। नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका १२ टक्सारमा रहेको इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो।

सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो।

यहाँ तेजपत्ता मसलालगायत गरी एक हजार सय विरुवा रोपिएको सेनाले जनाएको छ। यो अभियानअन्तर्गत जिल्लाभर विरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले जानकारी दिए।

‘वातावरणको संरक्षणको लागि दुई हजार छ सय विरुवा रोपेका छौँ’ गणपति थापाले भने, ‘हाम्रो यो अभियान जारी छ। यो अभियानअन्तर्गत जिल्लाका अन्य स्थानमा पनि विरुवा रोप्ने लक्ष्य छ। यसको संरक्षणको लागि स्थानीयसँगै हामीले पनि आवश्यक काम गर्छौँ।’

सेनाले विपद् लगायत विभिन्न सामाजिक क्षेत्रमासमेत आफ्नो गतिवधिहरुलाई बढाएको गणपति थापाले बताए।

सेनाले थालेको विरुवा रोप्ने अभियान सरहानीय रहेको बताउँदै, यसको संरक्षण तथा विकासमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।

'सेनाले थालेको यो अभियान स्वागतयोग्य छ’ प्रजिअ घिमिरेले भने,‘नाङ्गा पाखाहरुलाई हरियाली बनाउन यस्तो अभियान सञ्चालन आवश्यक छ। रोपिएका विरुवाको संरक्षणमा ध्यान दिन जरुरी छ। त्यसको लागि स्थानीय नागरिकलाई भूमिका खेल्न मेरो अनुरोध छ।’

वृक्षरोपणको लागि सेनालाई विरुवा उपलब्ध गराएको डिभिजन वन कार्यालयले जनाएको छ। वन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा बृक्षारोपन कार्यक्रम गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.