|

म्याग्दी : जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। 

पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्री सडक कालोपत्र गरेको हो । 

उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताउनुभयो । ‘बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो’, उनले भने, ‘सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ ।’ 

तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो । यहाँ  एक सय घर छन् । उपल्लो दरवाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा रु ६५ लाख बजेट विनियोजन भएको थियो । 

गत पुसमा ५८ लाखमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले दुई सय ५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र १०० मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर रविन चोखालले बताए। 

मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब ४०० मिटर पक्की नाली निर्माण गरेको थियो। यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरवाङ जोड्ने सडक ढलान गरिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.