|

इलाम : नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको ७० वर्षको उमेरमा निधन भएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए। उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याउँदा राति १:५० बजेको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गर्दै मृत घोषणा गरे।

सालिन छवि बनाएका नेम्वाङ २०५६ सालमा इलाम क्षेत्र नं २ बाट निर्वाचन जित्दै आएका थिए। इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए। २०३३ सालमा राजद्रोहीको मुद्दामा केही समय जेल परेका थिए, उनी।२०४८ र २०५२ सालमा राष्ट्रिय सभा सदस्य भएका उनी २०५६ को निर्वाचन जितेर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए।

२०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर ऐतिहासिक संविधानसभाको अध्यक्ष भए। २०७४ र २०७९ मा समेत उनले इलाम–२ बाट निर्वाचन जितेका हुन्। जनतालाई पुर्‍याएको सेवा र जनतासँगको निकट सम्बन्धले आफूलाई विजयी बनाएको ठान्ने  नेम्वाङ आफू संघीयता एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने बताउँदै आएका थिए। उनको निधन पश्चात् राजनीतिक सारथी पूर्व प्रधानमन्त्री झलनाथ खनाल देखि लिएर इलामका अन्य राजनीतिज्ञहरूले यसरी सम्झिए।

झलनाथ खनाल : पूर्व प्रधानमन्त्री एवं सम्मानित नेता नेकपा एकिकृत समाजवादी

अचानक ढंगले हृदयघातलेनेम्वाङको निधन भएको खबरले स्तब्ध र चिन्तित भएको छु। उहाँको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु।  सुवास नेम्वाङ सहपाठी साथी पनि हो। हामी २०१९ साल देखि हामीसँगै पढेको हौ। इलामको आदर्श माविमा ७ देखि १० सँगै पढेका हौ। बढो मिलनसार हुनुहुन्थ्यो हामी भन्दा कम उमेर भए पनि। त्रिचन्द्र कलेजमा हामीले सँगै आइएस्सी सकेको थियौँ। पछि उहाँ कानुन पढ्न लाग्नुभयो। विएस्सी पढेर म राजनीतिमा आए। फेरी पनि राजनीतिक मैदानमा हाम्रो भेट भयो। एउटै धारमा अगाडि बढ्दै आउने शिलशिलामा त्रिवि अन्तर्गत विएको परिक्षा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब क्याम्पस)मा सँगै पास गरेको हौँ।

राजनीति धारमा ४० सालको परिर्वतन हामीले नै ल्याएको हो। त्यसपछि म इलामबाट सांसद भए उहाँलाई राष्ट्रियसभा ल्यायौँ। इलामबाट मणी सुब्बा र मैले प्रतिनिधित्व गरेका थियौँ। पछि उहाँलाई नै इलाममा लगियो। इलामको विकासको निम्ति विभिन्न ढंगले सरसल्लाह गर्दै अघि बढेको थियौँ। इलामको मुहार परिर्वतन गर्ने कुरामा हामीले भूमिका खेलेका हौँ।

नेम्वाङले सांसदको हैसियतले संसदमा भूमिका खेल्नु भएको हो। पटक पटक उहाँ सभामुख समेत हुनुभयो। सभामुखको हिसाबले महत्वपूर्ण भूमिका खेल्नुभयो। पछिल्लो अवधिमा संविधानसभाको अध्यक्ष हुनुभयो। इलामबाट प्रतिनिधित्व गर्ने क्रममा म देशको ३४ औ प्रधानमन्त्री निर्वाचित भएँ र नेम्वाङ संविधानसभाको अध्यक्षको रुपमा निर्वाचित हुनुभयो।

 संयोग २ जनाको जीवनमा सुखद संयोगको लामो इतिहास छ। एउटै पार्टीबाट प्रतिनिधित्वको क्रममा तत्कालीन नेकपा एमाले विभाजित हुँदा विद्रोह गरेर नयाँ पार्टी बनायौँ। फरक फरक पार्टीमा रहँदा पनि हामी २ बीचको सम्बन्धमा असर परेन। राम्रो सम्पर्क रहन्थ्यो। विभाजित पार्टीलाई कसरी मिलाएर लग्न सकिन्छ भन्ने बारेमा लगातार कुरा भइरहन्थ्यो। नेकपा एमाले भित्रमा रहेर पनि उहाँले कम्युनिष्ट आन्दोलनलाई निकट ल्याउने कुराहरूको सोच महत्वपूर्ण लाग्थ्यो। गर्नुपर्ने कामहरू अधुरो छाडेर नेम्वाङको निधनले देशलाई अपुरर्णीय क्षति पुगेको छ। नेपाली राजनीतिका कुशल वामपन्थी नेतालाई आज देशले गुमाएको छ। अन्तमा नेम्वाङप्रति हार्दिक श्रद्धासुमन!

धिरेन्द्र शर्मा : नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सांसद

उहाँ एउटा सरल र विचार निष्ठा प्रति इमानदार नेताको रुपमा हुनुहुन्थ्यो। वाम आन्दोलनमा उहाँको आफ्नो विशेष पहल थियो। वाम ध्रुवीकरण गरेर जानुपर्छ भन्नेमा नेकपा विभाजनको बेला पनि उहाँ नफुटोस् भन्ने अन्तिम सम्म प्रयत्न गर्नुभएको थियो।

चुनावको सिलसिलामा धेरैसँगै र ५ वर्ष एउटै निर्वाचन क्षेत्रमा उहाँ प्रतिनिधिसभा र म प्रदेश सभामा रहँदा असल अभिभावकको रुपमा बुझेको छु। समग्र इलामको बाम आन्दोलन र सामाजिक न्यायको क्षेत्र लगायत उहाँको सदैव सम्झन योग्य काम भएको छ। इलाम भनेपछि उहाँले राजनीतिक पूर्वाग्रह नराखी काम गर्नुहुन्थ्यो। इलामको निम्ति मात्र नभएर देशको लागि अपुरर्णीय क्षतिको रुपमा ठानेको छु।

रवीन्द्र सुवेदी : उपसचिव नेकपा एमाले इलाम

 नेम्वाङ नेपाली राजनीतिको आदर्श पात्र हुनुहुन्थ्यो। नेपाली राजनीतिमा भ्रष्टाचारको बारेमा आइरहेका छन्। व्यक्तिगत रुपमा खास गरेर २÷३ वटा चुनाव यता उहाँसँगको संगत, सम्वाद र उहाँको परिवारलाई नजिकबाट चिन्दा एकदमै पारदर्शी मान्छे। आफूलाई लागेको कुरा चलाखी ढंगले व्यक्त गर्ने नेता हो। अहिलेको परिस्थितिमा स्वच्छ छविको हुनुपर्छ भन्ने कुरालाई उहाँले नेपाली राजनीतिमा स्थापित गराउन प्रयत्न गर्नुभयो।

उहाँ राजनीतिमा लागेदेखि आजको मितिसम्म व्यक्तिगत, सामाजिक, आर्थिक र राजनीतिक रुपमा टिप्पणी गर्ने खालका केही पनि भएनन्। १० तिर मुख फर्काएका दलहरूलाई एकै ठाउँमा राखेर संविधान जारी गराउने लगायतका ऐतिहासिक काम गर्नुभएको थियो। सार्वजनिक लेखा समितिमा रहँदा, कानुनमन्त्री रहँदा संविधान जारी गर्दाका कामहरूले नेपालले सधैँभरि सम्झिरहनेछ। नेपाली नागरिकहरूमा सदैव अमर रहनुहुनेछ।

मनिकुमार स्याङबो : अध्यक्ष रोङ गाउँपालिका इलाम

नेम्वाङको निधनपछि इलामले अझ केही वर्षमा उहाँको जस्तो फिगर अहिलेको नेताहरूबाट प्राप्त गर्न सक्ने आश छैन। राष्ट्रिय राजनीतिमा दबाब प्रभाव राख्न सक्ने इलाम र प्रदेशले नै गुमाएको छ। विकासको हेर्ने हो भने पूर्वमा भन्दा पश्चिममा ठूला परियोजना छ।

 पूर्वमा साना साना योजना छन्। राष्ट्रिय नीति निर्माण एवं राजनीतिमा ठूला नेता मन्त्री पश्चिम तिरको हुने गरेकाले हाम्रो प्रदेश अपेक्षाकृत रुपमा विकास हुन सकेन। राष्ट्रिय राजनीतिमा बेग्लै प्रभाव राख्ने एकपछि अर्को नेतृत्व गुमाउँदै गएका छौ। नेम्वाङ कुनै दलको नेता भए पनि उहाँको सालिनता बोल्ने भन्ने क्रममा प्रयोग गर्ने विशेष शब्द कसैको आलोचना गर्दा पनि मीठो सुनिने गरि संस्कारसहितको राजनीतिलाई अभ्यस्त गराउन आगामी पुस्ताले धेरै कुरा सिक्नु थियो। यो श्रोत बन्द भएको छ। इलामको अभिभावक गुमेको छ। राजनीतिमा बोल्ने क्रममा कस्तो संस्कार हुनुपर्छ भन्ने ठूलो विश्वविद्यालयको ढोका बन्द भएको छ।

हिमालय कमचार्य : पूर्वसभापति नेपाली कांग्रेस इलाम

नेम्वाङसँग व्यक्तिगत नाता पनि छ। उहाँ मेरो दाई हुनुहुन्छ। उहाँलाई भाई सुरेश नेम्वाङ र म एउटै कक्षामा पढेका कारण धेरै जसो उहाँको घरमा आउने जाने क्रम रहन्थ्यो।

उहाँको परिवारको शोकलाई पारिवारिक शोकका रुपमा लिएका थियौँ। नेम्वाङ राष्ट्रिय व्यक्तित्व भएकाले उहाँले संविधानसभा सदस्य, संविधानसभा अध्यक्ष, नेकपा एमालेको उपाध्यक्ष लगायत जति पनि काम गर्नुभयो शालिनता र विवादरहित ढंगले काम गर्नुभएको छ।

उदार कम्युनिष्ट नेता गुमाउनु देशका लागि राम्रो संकेत देखिएन। उहाँ इलामको अभिभावक हो। इलामका हरेक व्यक्तिसँग राम्रो सम्बन्ध र सद्‌भाव थियो। पार्टी, वर्ग, लिङ्ग कसैमा भेदभाव नगर्ने व्यक्तित्व हुनुहुन्थ्यो। मान्छेको मृत्यु भएपछि गुणगान गाउने प्रचलन छ।

तर उहाँसँग लामो समय देखि पारिवारिक सम्बन्ध भएको कारण वास्तविकता यही हो। हाम्रो परिवारका सदस्यहरू उहाँकोमा दशैँको टिका थाप्न जाने गरेका छन्। उहाँको निधनले निष्ठाको राजनीतिको आदर्श पात्र गुमाएका छौ। उहाँको भौतिक शरीर नभए पनि सिद्धान्त नेपाली राजनीतिमा सदैव अमर रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.