|

सुर्खेत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणबाट कर्णालीले अधिक अपेक्षा गरेको छ।

चीनको सिमानासँग जोडिएको कर्णाली प्रदेशका हिमाली जिल्लामा विकास निर्माणदेखि रणनीतिक महत्त्वका विभिन्न ठूला परियोजनामा चीनको लगानीका विषयमा चासो देखिएको छ।

प्रचण्ड सन् २००८ मा पहिलोपटक र सन् २०१७ मा दोस्रोपटक चीन भ्रमणमा गए। प्रधानमन्त्री बनेपछि चीनलाई आफ्नो विदेश भ्रमणको पहिलो गन्तव्य बनाएका प्रचण्डले योपटक सत्ता सम्हालेको पाँच महिनापछि नयाँ दिल्ली भ्रमण गरे।

भारत भ्रमणअघि नै चीनले बोआओ फोरममा सहभागी हुन उनलाई विदेश भ्रमणको निम्तो पठाएको थियो। नेपालमा राष्ट्रपति निर्वाचन लगायत आन्तरिक घटनाक्रमका कारण काठमाडौँस्थित चिनियाँ राजदूतले नै उक्त भ्रमण सम्भव नदेखेको भन्दै उपयुक्त मितिमा चीन भ्रमण गर्न सुझाएको उनले राष्ट्रियसभामा बताएका थिए।

प्रधानमन्त्रीको चीन भ्रमणबाट कर्णालीले धेरै अपेक्षा गरेको भन्दै प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमालेका नेता यामलाल कँडेलले प्रदेश स्थापना दिवसमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

कर्णाली प्रदेशको स्थापना दिवसमा सुर्खेत आएका प्रधानमन्त्रीले कर्णालीका धेरै मुद्दा चीन भ्रमणका वेला छलफल हुन गइरहेको सार्वजनिक रूपमै बताएका थिए।

नेता कँडेलले भेरी करिडोर र कर्णाली करिडोरलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन्। उनले भने‚ ‘भेरी र कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजना राखेर निर्माण गरिदिए पुग्छ।’

चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने कर्णालीको अपेक्षा छ। त्यस्तै भेरी करिडोर, कर्णाली करिडोर लगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा समेत चीन सरकारको लगानी होस् भन्ने कर्णालीको आशा छ।

कर्णाली, भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग लगायतका महत्त्वपूर्ण सडक निर्माणमा ध्यान जाने अपेक्षा रहेको नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीका सदस्य कालीबहादुर मल्लले बताए।

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीले पनि सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन्। त्यसैगरी हुम्ला, मुगु र डोल्पाले चीनलाई छुने गर्छन्।

चीनले नाकाबन्दी गर्दा उपल्लो डोल्पाका सर्वसाधारणले सधैँ पीडा पोखिरहेका छन्। डोल्पोबुद्धका ग्याल्पो भोटेले तीन वर्षअघि उपल्लो डोल्पा आउँदा प्रधानमन्त्रीले सीमा नाका खोल्ने विषयमा चीनसँग छलफल गर्छु भनी दिएको वचन योपटक पूरा हुन्छ होला नि भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्। त्यस वेला प्रधानमन्त्रीले उपल्लो डोल्पाका सर्वसाधारणलाई सीमा क्षेत्रका बिनाबर्दीका सिपाहीको संज्ञा दिएका थिए।

कर्णालीको मुख्य कुरा भनेको धार्मिक पर्यटन पनि रहँदै आएको छ। डोल्पाका प्रदेशसभा सदस्य शेरबहादुर बुढाले भेरी करिडोरलाई महत्त्व दिनुपर्ने माग गरेका छन्। १५ दिन हाट बजार (मेला) लाग्ने मरिम तिन्जे, क्याटो नाका खोलेर सहजता ल्याउने वातावरण बनाइदिन आग्रह उनले गरे।

‘उपल्लो डोल्पामा नुन, तेल र चामलकै समस्या रहेको छ’‚ उनले भने। त्यस्तै जाजरकोट र जुम्लाको बीचमा निर्माण हुन लागेको सुरुङ मार्गको कुरालाई पनि व्यापक रूपमा उठाउनुपर्ने माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.