|

विराटनगर : ह्या! बुवा के चुँडिएको चप्पल गाँसेर लगाउनुभएको हौ? त्यो बाल्यकालमा यो प्रश्नको वाणले मेरो बालाई प्रहार गरेकी  थिएँ। बाले मेरो प्रश्नलाई सहज तरिकाले  मुस्कानसहित जवाफमा भन्नुभएको थियो,‘चुँडिएको चप्पलले पनि गन्तव्यमा पुर्‍याउँछ।’ त्यो समय मेरो बुवाले दिनुभएको उत्तर मैले बुझ्न सकेकी थिइनँ।

जब, उमेरका खुड्किलासँगै जिम्मेवारीको भारीले काँध गहकिलो बनाउँदै गयो तब बा को त्यो उत्तरको भाव सरल तरिकाले बुझ्न थालेँ।   मेरो बुवा अक्सर त्यो समय फित्ते चप्पल लगाएर कार्यालय धाउनुहुन्थ्यो।

त्यही फित्ते चप्पलले कार्यालयको काममा संखुवासभा जिल्लाको सदरमुकाम छिचोल्दै कुनाकन्दरा पुग्नुहुन्थ्यो। उहाँ जनकपुर चुरोट कारखानामा कार्यरत रहँदा बा कार्यरत कारखानामा बनेको चुरोट खाँदबारी बजारदेखि जिल्ला छेउछाउको बस्तीसम्म पुर्‍याउनुपर्ने भएकाले यसै हिँडिरहनुहुन्थ्यो।

पहाडका उकालो, ओरालो धाउने बाको खुट्टा कहिल्यै ब्राण्डेड जुत्ताभित्र ओत लागेको देखिनँ। शरीर  कहिल्यै महँगो कपडाले ढाकेको देखिनँ।

जहिल्यै सस्तोमा खरिद गरिएको सेता कमिज र २० रुपैयाँको चप्पलले दुई सन्तानको जिम्मेवारी काँधमा बोक्दै गर्दा मेरा बाका ती सस्तो पहिरनलाई लोभको संज्ञा दिन भ्याउँथेँ म। किनकि बाले सस्तो लगाएर हामीलाई महँगो कपडा खरिद गर्ने पैसा आमाको हातमा सुम्पिदिनु हुन्थयो नि त।

त्यसैले पनि होला बाको त्यागलाई नजिकबाट नियाल्न नसकेको, त्यसैले होला बा अभावको खाल्डोमा पुरिएर घरपरिवारमा पूर्णता दिलाउन संघर्षको यात्रामा दौडिएको त्यो दौडलाई कहिल्यै बुझ्न नचाहेको।

सबै आवश्यकता आमाले पूरा गरिदिनु भएकाले पनि होला  उनको गहकिलो काँधको तौल कति छ? भनेर बुझ्न नचाहेको।  जीवनको हरेक यात्रामा भोगेका अनेकन भोगाइहरूले बल्ल  प्रश्नका ज्वालाहरू एकपछि अर्को दन्किन थाल्यो। 

बा किन गुमनाम परिवारको अंगरक्षक बनिरहे? उनको विषयमा किन कविता कोरिएनन्? किन कथा लेखिएनन्? बा तपाईँको फित्ते चप्पलमा हामी अर्थात् तपाईंको दुई सन्तानको सुनौलो भविष्य र सपना गाँस्नुभएको थियो, त्यो सपना पूरा गर्न सकेँ या सकिनँ तर, तपाईँले  अभाव  र चुनौती पूर्ण यात्रामा पनि हाँसेर सफलता पाउन सकिन्छ भन्दै देखाउनुभएको बाटो भने कहिल्यै भुलेकी छैन।

साँच्चै बुवा तपाईं कार्यालयको काम सकेर घरमा नास्ता खान आउनुहुन्थ्यो त्यो बेला के सारो लोभी  कहिलेकाहीँ त साथीभाइसँगै खाँदा हुन्छ त? यस्तै प्रश्नका साथ परिवारका सदस्य बरबराउँदै गर्दा तपाईँले भन्ने गर्नुहुन्थ्यो,‘ मैले बाहिर खाएँ भने, तिमीहरू के खान्छौँ ?’

त्यो समय बाको यो जवाफ झट्ट सुन्दा  सरल लाग्थ्यो। तर,  परिवार र सन्तानप्रतिको जिम्मेवारी र प्रेम गहकिलो हुने रहेछ। टाढाबाट घर फर्किएर आँउदा खिएको चप्पलको सोल, गाँसेको चप्पललको लोती उफ! एउटा चप्पल किन्ने पैसा छैन? आमाको चिरचिराहट प्रश्नमा पनि मधुर आवाजमा ‘आइमाई’ यसले पनि त हिँडडुल गर्न सजिलै भएको छ  त!

तपाईँको सरलता र शालीनतालाई बुझ्न धेरै समय र उमेर उम्काउनुपर्यो।  टुकीको धिपधिपे आगोमा चुँडिएको चप्पल गाँस्दै गर्दा अवश्यकता र रहरहरू त्याग्न सक्ने मेरा बाका सबै स्वभाव प्रशंसनीय नहुँदो हो।

तर, सस्तो कपडामा महँगो लक्ष्य र चुँडिएको चप्पलसँगै सफल गन्तव्यको यात्रा तय गर्नु मान्छेको जीवनको महत्वपूर्ण पाटो हो भन्ने भनाइ मेरो मानसपटलमा अझै कैद भएर बसेको छ।  त्यसैले त बा तपाईको उर्जाशिल उमेर जागिरे दौडधुपमा नै बित्यो त्यतिन्जेल हाम्रा लागि के कमाउनुभयो? यो प्रश्न गर्न चाहिनँ। के उपलब्धि हाँसिल गर्नुभयो?  त्यो पनि सोध्न चाहिनँ। 

तर, संघर्षका बीचमा पनि जीवन बाँच्ने सूत्र सिकाउनुभयो जीवनको कुनै कालखण्डमा सफलता हाँसिल गरिहाले भने नि बा तपाईंको नाम स्वर्ण अक्षरले समावेश गर्नेछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.